विपी स्मृति भवनको शिलान्यास देउवाले गर्ने

मुख्य खबर समाज

देउखुरी, १६ चैत । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको योगदानको कदर गर्दै विपी स्मृति भवन निर्माण गरिने भएको छ । भवन नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले आगामी चैत २० गते देउखुरीमा निर्माण गर्न लागेको हो । उक्त भवनको शिलान्यास नेपाली काँग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
उक्त अवसरमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु बाल कृष्ण खाँड, किशोर सिंह राठौर, दिपक गिरी, शिला शर्मा खड्का, पार्वती डिसी चौधरीलगायत सहभागी हुने कार्यक्रम रहेकोे क्षेत्र नं. १ का उपसभापती देवानजंग चौधरीले जानकारी दिए ।
यस्तै क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले विपी स्मृति भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम तय गरेको हो ।
यस्तै बैठकले कार्यकर्ता भेलाका विषयमा समेत छलफल तथा समिति गठन गर्ने निर्णय गरेको छ । जसको संयोजकमा क्षेत्र नं. १ का सभापती भेषराज पाण्डे रहेका छन् । त्यसैगरी नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु सदस्य रहने गरी आर्थिक समितिसमेत गठन गरिएको छ ।
त्यस्तै उपसभापति चौधरी संयोजक रहेको महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, सल्लाहकारहरु, इकाई सभापतिहरु, भातृ संगठनका सभापतिहरु, शिक्षक संघ, प्राध्यापक संघ, शुभेच्छुक संस्थाहरुलगायतको प्रचारप्रसार समिति गठन गरिएको छ ।
सचिव हरिहर शर्मा संयोजक रहेको महासमिति सदस्य कर्णबहादुर बढाथोकी र बेला इकाई सभापति शरद बुढाथोकी सदस्य रहने गरी मञ्च ब्यवस्थापन समिति गठन गरिएको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय कोषाध्यक्ष गीता चौधरी संयोजक तथा क्षेत्रीय सदस्य धनपति यादव, विष्णुमाया बस्याल र माया बुढाथोकी सदस्य रहने गरी स्वागत समिति गठन गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का उपसभापती देवानजंग चौधरीले जानकारी दिए ।
यसैबीच नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले नेपाली काँग्रेसका नेता स्वर्गीय खुम बहादुर खड्काको प्रथम बार्षिक स्मृति कार्यक्रम मनाउने भएको छ । कार्यक्रम चैत्र १६ गते राप्ती माध्यमिक विद्यालय सतबरियामा मनाउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *