विपद् व्यवस्थापन पूर्व सूचना प्रणालीबारे छलफल

मुख्य खबर

तुलसीपुर, ९ साउन । तुलसीपुर उपमहानगरपालिकामा हुने विपद्को व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीका बारेमा सरोकारवालासँग छलफल गरिएको छ । विपद्को जोखिममा रहेकाहरुलाई जोखिमका बारेमा पूर्व सूचना कसरी सम्प्रेषण गर्ने ? भन्ने विषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा सहभागीहरुले जोखिमको पूर्व सूचना नहुँदा स–साना जोखिममा पनि धेरै क्षति हुने गरेको बताएका थिए । वाढी पहिरोको समयमा उद्दार र राहतको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो ।
तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले विपद् व्यवस्थापनका लागि उपमहानगरपालिकाले गरेका प्रयासहरुको जानकारी गराएका थिए । उनले विपद्पश्चात पीडितहरुलाई राहत वितरणका लागि एकद्वार प्रणालीका लागि मेयर विपद् व्यवस्थापन समिति गठन गरिएको समेत जानकारी गराए ।
‘पीडितहरुले तत्काल राहत पाउन भन्नका लागि हामीले कोषको समेत व्यवस्था गरेका छाँै’ उनको भनाई थियो । नगरप्रमुख पाण्डेले विपद् व्यवस्थापन ऐनसमेत बनाएर काम अगाडि बढाएको कुरामा जोड दिए । खोला किनारमा रहेको बस्तीहरुलाई आवश्यकताअनुसार स्थानान्तरण गर्ने योजनामा उपमहानगरपालिका रहेकोसमेत उनले जानकारी दिए ।
कार्यक्रममा विपद्का बारेमा काम गर्दै आएको एक्सन प्लानकी लक्ष्मी अवस्थीले उपमहानगरपालिका भित्र वाढीको जोखिममा ११ नम्वर वडाको सुकौरा, १२ को कचिला, १३ को बखरिया र १४ को मोतिपुरलगायतका क्षेत्र रहेको बताएकी थिइन् ।
उनले विपद् न्यूनीकरणका लागि योजनाका साथै कोष निर्माणमा ध्यान दिन आवश्यक रहेको बताइन् । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सबैखाले विपद्का लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए ।
अन्तरक्रियामा विपद्का बारेमा वडाको समस्या राख्दै वडा नम्वर ११ का अध्यक्ष चित्रवहादुर वलीले मोतिपुरबासीहरु वाढीको समयमा त्रासमा बाँच्न बाध्य भएको भन्दै उनीहरुको दीर्घकालिन रुपमा समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।
वडा नम्वर १२ की सदस्य शान्ता पुनले खोलाले जमिन कटानको समस्या रहेको भन्दै तारजालीको आवश्यकता रहेको कुरामा जोड दिइन् । उनले वाढी पहिरोको विपद्मात्रै भन्दा पनि अन्य विपद् न्यूनीकरणका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
यसैबीचपूर्व सूचना प्रणाली व्यवस्थापनका लागि नवराज लामिछानेको संयोजकत्वमा समितिसमेत बनाइएको छ । समितिका सदस्यहरुमा वडा नम्वर ११ का अध्यक्ष चित्रवहादुर वली, १२ का वडा सदस्य शान्ता पुन, १३ का वडा अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४
का अध्यक्ष पर्शुनारायण चौधरी, १ का अध्यक्ष लक्ष्मण भण्डारी, सामाजिक समिति संयोजक कुमार लामिछाने, रेडक्रसका सन्तोष ढकाल, लक्ष्मी अवस्थी र सदस्य सचिवमा उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण शाखा प्रमुख भिमप्रकाश खत्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *