Wednesday, April 17, 2024
Homeफिचरविपद् कहिलेसम्म ?

विपद् कहिलेसम्म ?

- Advertisement -spot_img

वर्षातको शुरुवात भएसँगै दाङसहित देशभर आएको बाढी तथा पहिरो र डुबानमा परि करिब ६५ जना भन्दा बढीको ज्यान गएको छ भने हजारौं मानिस प्रभावित भएका खबरहरु प्राप्त भइरहेका छन् ।
विपद् पूर्व सूचित त हुँदैन् तर यसबाट बच्न गरिने पूर्वतयारीले हुन सक्ने क्षतिलाई केहि भएपनि निकै कम गर्न सकिन्छ । विगतदेखि नै विपद्बाट बच्न गरिने पूर्वतयारीले क्षतिलाई केहि कमि त भएको छ तर अझै पनि नागरिकले विपद्का कारण ज्यान गुमाउनु परिरहेको अवस्था छ ।
देशमा तीन तहका सरकार छन् । संघीय व्यवस्थामा पनि सरकारले नागरिकलाई सुरक्षित रुपमा बाँच्न पाउने अधिकारको रक्षा गर्न सकिरहेको छैन् । जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले विपद् पूर्वतयारी थाले पनि सार्थक नभएको नागरिकले गुनासो गर्ने गरेका छन् ।
विपद्बाट बच्न र विपद्मा परेका उद्धार तथा राहतका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विपद् व्यवस्थापन पनि समिति छ भने दाङमा दशवटै स्थानीय सरकारले पनि विपद् व्यवस्थापन कोष खडा गरेको छ भने विपद्बाट बच्न सकिने विभिन्न तयारी थालेको छ ।
स्थानीय सरकारसँगै जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र, रेडक्रस लगायतका विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाले विपद्बाट बच्न सक्ने विभिन्न प्रयास थालेका छन् ।
बिगतको अभ्यासबाट पाठ सिकेर वर्तमान र भविष्यमा आउन सक्ने विपद्बाट कसरी बच्ने र भइरहरेका प्रयासका बारेमा आज हामीले विभिन्न सरोकारवाला निकायलाई नियमित स्तम्भ टुडे राउण्ड टेबलमा धारणा लिएका छौं ।


उद्धार तथा राहत तत्काल

गोविन्दप्रसाद रिजाल
प्रमुख जिल्ला अधिकारी तथा
संयोजक विपद् व्यवस्थापन समिति

दाङमा मनसुन र चट्याङ्का कारण मानवीय क्षति भएको छ । ति मध्येपनि चट्याङमा अझ बढी क्षति व्यहोरेका छौँ भने बाढीका कारण पनि मानवीय क्षति भएको छ । अब यि घटनालाई हेर्दाखेरी अति संवेदनशील छन् जुन घटना चाहेर पनि रोक्न निकै कठिन छ ।
चट्याङलाई हामीले रोक्न सक्ने सम्भावना निकै कम छ भने अब रह्यो कुरा बाढी तथा पहिरो । दाङसहित देशभरमा वर्षातका कारण पुगेको क्षतिलाई आँकलन गर्ने हो भने अन्य ठाउँको तुलनामा हामीले केही भएपनि मानवीय क्षतिलाई कम गर्न सफल भएका छौँ
तर फेरी यसैमा सन्तुष्ट हुने अवस्था भने रहन्न । निरन्तरको वर्षातका कारण दाङमा बाढीबाट करिब पाँच सयजना मानिस प्रभावित भएका छन् भने ५० बढी घर डुबानमा परेका थिए ।
हामीले मानवीय क्षतिलाई कम गरेपनि नागरिक वर्षातका कारण प्रभावित भने भएका छन् । विषेशगरी देउखुरी क्षेत्र डुबानमा पर्नुको कारण राम्रो तथा मजबुत तटबन्ध नहुनु हो । जनताको तटबन्धअन्तर्गत विभिन्न ठाउँमा तटबन्ध निर्माणको क्रममा छन् ।
आगामी दिनमा डुबानको समस्या झेल्नु पर्दैन की भन्ने लागेको छ । अब अहिले हामीले अविरल वर्षातका कारण प्रभावित परिवारलाई उद्धार तथा राहतको कामलाई तिब्रता दिएका छौँ ।
जिल्ला विपद् व्यवस्थापन कोषमा भएको रकम रेडक्रस सोसाईटीमार्फत पीडित प्रति परिवारलाई एक लाख र प्रदेश सरकारका एक लाख गरी २ लाख वितरण गरेका छौँ भने घरमा क्षति पुगेका परिवारलाई जस्तापाता खरिदका लागि ४० हजार अनुदानसमेत उपलब्ध गराएका छौँ ।
दाङमा रहेका एक सयवटा वडामध्ये ३६ वडा बढी जोखिम मानिन्छन् भने अझ त्यसमै पनि दशवटा वडा बढी जोखिम भएकाले ति क्षेत्रमा हामीले क्षति हुनै नदिनका लागि विभिन्न तयारीहरु थालेका छौँ ।
अब विपद्बाट नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनका लागि हामीसँगै स्थानीय सरकारले पनि विभिन्न प्रयासहरु थालेका छन् । विपद्बाट बच्न र भइहालेमा कसरी नागरिकको ज्यान सुरक्षित गर्न सकिन्छ भनेर हामीहरुले त्यसै अनुुसार नै काम गरिरहेका छौँ ।
क्षतिलाई शुन्यमा झार्न त सकिन्न तर क्षतिलाई कम कसरी गर्न सकिन्छ ? भनेर हामी सबै लाग्नु आवश्यक छ, मैले तपाईको पत्रिकाबाटै आग्रह गरे विपद् व्यवस्थापनमा सबैको सहयोग चाहिन्छ, सहयोग गर्नुहुनेछ ।

विपद्मा परेका अस्थायी आवास

नारायण आचार्य
सभापति
नेपाल रेडक्रस सोसाईटी दाङ

विपद् जोखिम व्यवस्थापन एक वहुआयामिक क्षेत्रहरुको समान भूमिका पश्चात विपद् तथा यसको प्रभावको न्यूनीकरण गर्ने प्रक्रिया हो । नेपाल सरकारको महत्वपूर्ण कार्यका रुपमा रहेको विपद् न्यूनीकरण एवं व्यवस्थापनका लागि विशेष ऐन, नियम, निर्देशिका एवं कार्यविधिहरु तर्जुमा भई संस्थागत व्यवस्था गरिएको छ ।
विपद पूर्व र पछिको व्यवस्थापन एवं प्रतिकार्य योजनामा वैकल्पिक व्यवस्थापनको सोंचको कमिले हामी धेरैले क्षति भोगेको विगतका ज्वलन्त दृष्टान्तहरुको हामीमाझ कहालीलाग्दो स्मरणहरु छँदैछन् ।
विपद् व्यवस्थापनको सही र प्रभावकारी अवधारणा अनुरुपको कार्ययोजना कार्यान्वयनले कतिपय अवस्थामा हामी जोखिमको रोकथाम तथा नियन्त्रण गर्न सक्षम हुन्छौं त कतिपय अवस्था यस्ता प्राकृतिक विपद् हाम्रो मानवीय नियन्त्रणका प्रयासभन्दा फरक र अनियन्त्रित बन्न सक्छ ।
तर पनि दैवी प्रकोप पूर्वतयारी र प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गरी क्षतिलाई न्यूनीकरण एवं व्यवस्थापन गर्न अहिले स्थानीय सरकार आइसकेको अवस्थामा नेपाल रेडक्रस सोसाईटीलाई केही सहज पनि भएको छ ।
हामीले पनि विगतदेखि नै विभिन्न प्रयासहरु थालेका छौँ । हामीले अहिले केहीदिन अघिको वर्षातका कारण प्रभावित क्षेत्रमा विषेशगरी देउखुरी क्षेत्रमा हामीले चारवटा उपशाखाहरुमार्फत उद्धार तथा राहतको काम गरेका छौँ
विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र प्रभावित नागरिकलाई राहत तथा उद्धारका सामाग्री वितरण गर्ने कामलाई प्रभावकारी बनाएका छौँ । हामीसँग अहिले विपद्मा परेका नागरिकलाई तत्काल उद्धार गरी उनीहरुको पुनस्र्थापना कसरी गर्न सकिन्छ ?
अर्थात् उनीहरुलाई सुरक्षित आवास निर्माण कसरी गर्न सकिन्छ ? भनेर अस्थायी आवासको निर्माणका लागि पनि हामीले टिम निर्माण तथा तयारी अवस्थामा राखेका छौँ । केही दिनको वर्षाले खासगरी दाङको राजपुर, गढवा र राप्ती गाँउपालिका बढी डुबानको समस्या रह्यो ।
यी क्षेत्रमा नागरिकलाई सुरक्षित गराउन हाम्रा भोलेन्टेयरहरु खटाएका छौँ । विपद् व्यवस्थापनमा संस्थागत भन्दा पनि मानवीय नाताले पनि लाग्नुपर्छ, दुःख अप्ठेरो भनेको नागरिकलाई सधैँ आउने होइन्, कहिलेकाहिँ आउने समस्यालाई एक अर्को मिलेर सहयोग गर्नुपर्छ । हामी पनि यही समाजका नागरिक हौँ ।
प्राकृतिक विपत्ति होस् या मानवीय विपत्ति होस् सहयोग गर्नुपर्छ भन्ने हिसावले हाम्रो संस्थाले काम गरिरहेको छ । हामीले राहत वितरण पनि एकद्वार प्रणालीमार्फत लगेका छौँ ।
विपद्मा परेका सबै नागरिकले सहजरुपमा राहत पाउन सक्नुहोस् भने एकद्वार प्रणालीको विकास गरेका छौँ । विपद्का नागरिकले सकेसम्म छिटो र सहजरुपमा राहत पाउनुपर्छ यो कुरामा हामी दृढ छौँ ।
अब यस्ता विपत्ति फेरी पनि आउन सक्छन् र ति विपद्मा नागरिकलाई सुरक्षित कसरी गर्न सकिन्छ ? भनेर कुनै एकले मात्र गरेर हुँदैन् । सबै दत्तचित्त भएर लाग्नुपर्छ र विपद्बाट मानवीय तथा भौतिक क्षतिलाई कसरी गर्न सकिन्छ भनेर हामीले थालेको प्रयासमा सरकारले साथ दिएको छ र अझै प्रभावकारी बनाउँदै लैजानुपर्छ ।

तटबन्ध निर्माणमा जोड

सहजराम यादव
अध्यक्ष
गढवा गाउँपालिका

धेरै विपद्हरुलाई प्राकृतिक विपद् वा प्रकोपको रुपमा मानेर त्यसको निवारण गर्न नसकिएता पनि विपद् जोखिम न्यूनीकरण गर्न सकिने भएकोले विपद् पूर्व नै योजनाबद्व तरिकाले विपद् व्यवस्थापन योजना बनाउन आवश्यक हुन्छ ।
विपद् पश्चात गरिने क्रियाकलापहरुको योजनावद्व तयारीको खाका नै विपद् व्यवस्थापन योजना हो । मनसुनको समयमा आउने विपद्बाट कति मानिस संकटामुख अवस्थामा छन् ? कसलाई कसरी उद्धार गर्न सकिन्छ र को कोसँग के, कति, कस्तो स्रोत साधन छ ?
सोको लेखाजोखा गरी मनसुनबाट हुने क्षतिबाट मानव जीवनको सुरक्षाको लागि यो मनसुन पूर्व आकस्मिक योजनाले सहयोग गर्ने भएकाले प्रकोपलाई व्यवस्थापन गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयारी गरिएको छ ।
गढवा गाउँपालिकामा एक सातासम्म आएको वर्षातले वडा नम्बर ५ र ७ का बस्ती डुबानमा परे पनि मानवीय क्षति हुनबाट जोगाएका छौँ ।
कस्तो संयोग भने मैले नै राप्ती नदीमा बाढी आउँदै गरेको सूचना पूर्व सूचित गरिसकेपछि नागरिकहरु सुरक्षित स्थानमा लागेका थिए जसका कारण उद्धारमा समस्या भएन र मानवीय क्षति हुनबाट जोगिएका छौँ । तर भौतिक रुपमा केही क्षति भएपनि बिगतको तुलनामा कमि नै छ ।
मैले भन्न खोजेको के भने क्रमशः विपद् पूर्वतयारी सफल हुँदै जान थालेको छ । नागरिकले स्थानीय सरकार आइसकेपछि पनि सरकारको अनुभूति गर्न पाउनुपर्छ र यिनै विपद्मा नागरिकलाई सहयोग गर्नु, क्षति हुन नदिनु नै प्रमुख कुरालाई आत्मसात् गर्दै विभिन्न काम गरेका छौँ ।
हामीले खासगरी विपद् भैहालेमा विपद् पीडितहरुलाई विपद्को स्तर कम भएको २४ घण्टाभित्र गैरखाद्य सामाग्री उपलब्ध गराउने, पहिचान गरी सामाग्री वितरण गर्ने, गैरखाद्य सामग्री वितरण आवश्यकताको आधारमा मात्र गर्ने, प्रतिकूल मौसम तथा हावापानीबाट बच्न,
ब्यक्तिगत स्वाभिमान तथा गोपनीयता बनाई राख्न महिला, बालबालिका, पुरूष तथा सुत्केरी र शिशुलाई उपयुक्त न्यूनतम आवश्यक सामग्रीहरु उपलब्ध गराउने, गैरखाद्य सामाग्री वितरण पीडितहरुको सहभागिता भएको वितरण समिति बनाई विपद् प्रभावित क्षेत्रमा गई वितरण गर्ने कुरालाई विशेष प्राथमिकता दिएका छाँै ।
गाउँपालिकामा विषेशगरी बढी डुबान पर्ने भएकाले तटीय क्षेत्रमा तटबन्ध निर्माण गर्ने काम पनि भइरहेको छ तर विभिन्न समस्याका कारण समयमा तटबन्ध निर्माण हुन सकिरहेको छैन् ।
वन महासंघ, वन कार्यालयलगायतले ढुंगा उत्खनन्मा रोक लगाएका कारण तटबन्ध निर्माणको काम अपूरो रहेको छ । जनताको तटबन्धअन्तर्गत हामीले कामलाई भने निरन्तरता दिएका छौँ ।
सकेसम्म नागरिक आगामी वर्षमा समस्या नपरोस् भनेर हामीले त्यहि अनुसार काम कुराहरु पनि अघि बढाएका छौँ । साथै हामीले राहत वितरण, उद्धार टोली लगायतका पूर्वतयारी गरेका छौँ ।
विपद्बाट नागरिकले अकालमा ज्यान गुमाउने पर्ने अवस्था आउन नदिने हामीले दीर्घकालिन योजना निर्माणमा जोड दिएका छौँ, सम्भवतः आगामी वर्षदेखि समस्या आउँदैन् ।

जोखिम व्यवस्थापन प्राथमिकतामा

लोकराज के.सी.
अध्यक्ष
राप्ती गाउँपालिका

राप्ती गाउँपालिकामा खासगरी राप्ती नदिले बस्तीभन्दा पनि खेतीयोग्य जमिन वर्षेनी कटान गर्ने गरेको छ । केहीदिन अघि आएको वर्षातका कारण पनि नदीले धेरै खेतीयोग्य जमिन कटान गरेको छ । गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिकरुपले धेरै नै क्षति पुगेको छ । हामीले क्षति न्यूनीकरणका लागि प्रयास पनि नगरेकोे होइन् ।
नदी तथा तटीय क्षेत्रमा समयमै तटबन्ध निर्माणको काम हुन सकेन् जसका कारण विगतको वर्ष झैँ यो वर्षपनि गाउँपालिकका केही भागमा भौतिक क्षति भएको छ । नागरिकले सुरक्षित रुपमा बाँच्न पाउने अधिकारको रक्षाका लागि गाउँपालिका प्रतिवद्ध पनि छ ।
हामीले विपद्मा परेका नागरिकको उद्धार तथा राहतको कामलाई प्रभावकारी पनि बनाएका छौँ । गाउँपालिकामा विपद् व्यवस्थापन कोष छ र त्योमार्फत अहिले हामीले विभिन्न विपद्मा परेका नागरिकलाई राहत वितरणका काम पनि गरिरहेका छौँ ।
गाउँपालिकाकाको वडा नम्बर ३, ५ र ६ नम्बर वडाहरु बाढी तथा डुबानका लागि बढी जोखिम क्षेत्र हुन् ति क्षेत्रमा बढी ध्यान दिएर नागरिकलाई सचेत रहनसमेत आग्रह गरेका छौँ ।
विपद् जोखिम व्यवस्थापनको सवाललाई विकासका योजनासँग मूलप्रवाहीकरण गरी विपद् व्यवस्थापनको कामलाई अघि बढाएका छौँ । गाउँपालिकाले अहिलेसम्म भएका विभिन्न विपद्बाट पाठ सिकेर आगामी दिनलाई कसरी सुरक्षित गर्न सकिन्छ ? भनेर लागेका छौँ ।
सर्वसाधारणलाई प्रकोपका विषयमा जानकारी दिने, विपद्को जोखिम न्यूनीकरणकोे उपाय, विपद् आइहालेमा त्यसबाट कमभन्दा कम क्षति पुग्ने अवस्थाको सिर्जना गर्ने तथा विपद्पछिको अवस्थामा हुने राहत र उद्धारका कामलाई प्रभावकारी लगेका छौँ ।
समुदायमा आधारित प्रकोप व्यवस्थापनले मात्र प्राकृतिक तथा मानवजन्य विपत्तिको परिमाण तथा क्षति घटाउन सम्भव हुन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । प्राकृतिक प्रकोपले मानिसमा पार्न सक्ने दीर्घकालिन असरलाई ख्याल गरी हामीले काम गरिरहेका छौँ ।
अब प्राकृतिक विपत्तिलाई हामीले रोकेर त रोक्न सक्दैनौँ तर विपद् पूर्वतयारीले पनि धेरै क्षति कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले विभिन्न पूर्वतयारीहरु थालेका छौँ ।
खास गरी नदीको तटीय क्षेत्रमा तटबन्ध निर्माणको कामलाई तिब्ररुपमा काम गरेर क्षति न्यूनीकरणतर्फ सचेत छौँ, प्रयास पनि भइरहेका छन् तर अझै पनि ति प्रयास अलि कम भएकी भनेर यसकोे लागिरहेका छौँ ।

पूर्व सूचना प्रणाली जडान

खिलानाथ दाहाल
सूचना व्यवस्थापन अधिकृत
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङ

विपद् व्यवस्थापनमा स्थानीय सरकार नै अलि बढी चनाखो हुनुपर्छ । अब यति भन्दैमा हामी चुप बस्छौँ भन्न खोजेको होइन् तर स्थानीय सरकारले आफ्नो नागरिकलाई सुरक्षित बनाउने सवालमा उनीहरुले गरेको भूमिका अलि बढी प्रभावकारी पनि हुन्छ ।
किनभने त्यहाँको भौगोलिक व्यवस्था, नागरिकको वास्तविक स्थिति र जोखिम क्षेत्रको पहिचान स्थानीय तहले नै गर्नसक्यो भने राम्रो हुन्छ जस्तो लाग्छ ।
बिगतमा अर्थात् संघीय संरचना नहुँदै जिल्लाबाट मात्रै थालिएको प्रयास पनि राम्रै थियो अब गाउँ–गाउँमा सरकार पुगिसकेको अवस्थामा हाम्रा स्थानीय सरकार यस्ता आउन सक्ने विपद्को पूर्वतयारीमा अझ बढी प्रभाकारी भूमिका खेल्नुपर्छ खेलेका छन् पनि ।
विपद्का सम्भावना पहिचान गरी त्यसलाई रोक्ने प्रयास गर्ने, आईहाले नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न गरिने पूर्वतयारी, योजना संयन्त्र निर्माण, स्रोत साधनको व्यवस्थापन तथा सांगठनिक र मानवीय क्षमता विकाससम्बन्धी सम्पूर्ण कार्य विपद् व्यवस्थापनअन्तर्गत पर्छन् ।
विपद् आउनु अघि, आएको समयमा र पछि योजना बनाउनु, स्रोत साधन परिचालन, समन्वय, नियन्त्रण, अनुगमन र मूल्यांकन गर्नु नै विपद् व्यवस्थापन हो । विपद् व्यवस्थापनभित्र जोखिम र संकट व्यवस्थापन पनि पर्छ ।
साथै यसमा प्रकोप क्षेत्र पहिचान गर्ने, पूर्वतयारी गर्ने योजना बनाउने, क्षमता विकास गर्ने, स्रोत साधनको परिचालन गर्ने, जोखिम न्यूनीकरण गर्ने उद्दार गर्ने र पुनस्र्थापना तथा पुनर्निर्माण गर्ने कुरामा स्थानीय सरकार अलि बढी केन्द्रित हुनुपर्छ भने हामीहरुले पनि ति कुरालाई मध्यनजर गर्दै विभिन्न प्रयास थालेका छौँ ।
विगतमा भएका कमिकमजोरीलाई आत्मसात् गर्दै अहिले हामीले गरेको प्रयासका कारण केहिदिन अघिको वर्षातमा दाङमा मानवीय क्षति कम भएको छ ।
तर अझै अहिले पनि धेरै नागरिक बाढीबाट प्रभावित भएको अवस्था छ । अब यि कुरालाई सिकेर आगामी दिन अझ भनौँ वर्षाको समय त अझै पनि धेरै छ । अहिले पनि हामी विपद्बाट बच्न विभिन्न प्रयास थालेका छौँ ।
विगतमा बाढीबाट प्रभावित क्षेत्रको पहिचान गरेर जस्तै भालुवाङ, घोराही, सितलपुरलगायतका ठाउँमा विभिन्न प्रयास भएका छन् । हामीले त्यतिमात्र नभएर विभिन्न माध्यमबाट नागरिकलाई बाढी तथा पहिरोको जोखिमबाट बच्न विभिन्न सचेतनामूलक सामाग्री पनि दिने गरेका छौँ ।
विभिन्न मोवाईल, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट पनि बाढीबाट बच्न सकिने पूर्वसूचित सूचनाहरु दिने गरेका छौँ । त्यस्तै मनसुनका लागि भनेर बाढी पूर्वसूचना प्रणालीको पनि विकास गरेका छौँ ।
विषेशगरी चारवटा स्थानमा बाढीको सतह अहिले कस्तो छ ? कति माथि छ ? भनेर मापन गर्नका लागि जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र, नेपाली सेनाको कमान्डिङ सेन्टर,
नेपाल प्रहरीको सञ्चार केन्द्र र भालुवाङमा पनि पूर्वसुचना प्रणाली जडान गरेका छौँ । जसले गर्दा बाढीको पूर्वसूचना प्राप्त गर्न सकिन्छ र नागरिकलार्इृ सुरक्षित स्थानमा लैजान सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here