‘विपद्मा सूचना प्रणाली प्रभावकारी हुनुपर्छ’

फिचर मुख्य खबर

तुलसीपुर, १२ जेठ । विपद्को जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्न सूचना प्रणाली कमजोर हुँदा चुनौती बढी हुने गरेको छ । दाङ विपद्को उच्च जोखिममा रहेको जिल्ला भए पनि सूचना प्रणाली र प्रसारण प्रक्रिया कमजोर हुँदा समस्या परेको हो ।
जिल्लाका विपद् सम्बन्धीका सरोकारवाला निकायहरुले विपद् ब्यवस्थापन जोखिम न्यूनीकरणकालाई सूचना प्रणाली प्रभावकारी हुनुपर्ने बताएका छन् ।
प्रभावकारी सूचना प्रणालीको व्यवस्था नहुँदा सहजै ब्यवस्थापन र न्यूनीकरण हुने विपद्मा समेत चुनौती आउने गरेको उनीहरुले बताए । नेपाल रेडक्रस सोसाईटी दाङले शुक्रबार तुलसीपुरमा गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पूर्व सूचना प्रणालीसम्बन्धीको प्रदेशस्तरीय अन्तरक्रियात्मक छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
आधुनिक तरिकाले सहजरुपमा पूर्वसूचना नहुँदा हरेक विपद्मा दाङले क्षति बेहोर्नु परेको भन्दै पत्रकार सुशील बस्नेतले जिल्लाको विपद् सूचना प्रणालीलाई सक्रिय बनाउनु पर्ने बताए । उनले पूर्व सूचना आम नागरिकसम्म जान सके विपद्को आधा ब्यवस्थापन भइसक्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका विपद् फोकल पर्सन झरेन्द्र खरेलले आवश्यक दक्ष जनशक्ति र पूर्व सूचना प्रणाली नहुनु विपद्को मुख्य चुनौति रहेको बताए । उनले खुला क्षेत्रको समेत समस्या भएको भन्दै त्यो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । उनीहरुले सूचनासँगै समन्वय पनि बढाउनु पर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले विपदको व्यवस्थापनका लागि नगरले योजना बनाएरै क्रियाशिल रहेको बताए ।
उनले सबै वडामा वडास्तरीय विपद् ब्यवस्थापन समिति र नगरमा छुट्टै समिति निर्माण गरेर विपद् ब्यवस्थापनमा लागेको बताए । उनले नगरले छिट्टै पूर्व सूचना प्रणाली सिस्टम स्थापना गर्न लागेको बताए ।
उनले सामान्य विपद्का लागि उद्धार सामग्री र जनशक्ति भए पनि ठूलो विपद्को लागि आवश्यक सामग्री र जनशक्तिको कमी भएको बताए । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लामा हुन सक्ने विपद् व्यवस्थापनका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको बताए ।
उनले विभिन्न क्षेत्रमा उद्धार सामग्रीसहितको जनशक्ति, राप्ती नदीमा पूर्वसूचना प्रणालीको व्यवस्था गरिएको बताए । उनले अहिले कुनै पनि नागरिक विपद्को कारणले आत्तिहाल्नु पर्ने अवस्था नआएको बताए ।
दाङमा बाढी, पहिरो, आगलागी, भूकम्प लगायतका विपद्हरु बढी हुने गर्दछन् । विपद्को पूर्वतयारीका लागि अहिले जिल्लामा दक्ष जनशक्ति उत्पादनसमेत बढाइएको छ ।
रेडक्रसले विपद् जोखिम न्यूनीकरण, उद्धार, व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गरी समुदायमा परिचालन गरेको सभापति नारायण आचार्यले बताए । उनले विपद्मा परेमा एक हजार परिवारलाई एक पटकमा व्यवस्थापन गर्न सक्ने तयारी रेडक्रसले अहिले गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *