विद्युत बक्यौता उठाऊ

सम्पादकीय

चार करोड बढी विद्युत महसुुुल बक्यौता तुलसीपुर क्षेत्रमा देखिएको छ । विद्युतको यो बक्यौता बर्षेनी यस्तै–यस्तै अंकमा सार्वजनिक हुने गर्छ । बर्षेनी घट्नुपर्ने बक्यौता रकम बढिरहेको कार्यालयकै तथ्यांकले देखाएउनुले यसतर्फ सरोकारवाला निकाय क्रियाशील नभएको भन्ने देखाउँछ ।
कार्यालयले वितरण गरेको विद्युतको लामो समयदेखिको चार करोड १५ लाख रुपैयाँ बक्यौता रहेको देखाएको छ । विभिन्न निकाय तथा व्यक्तिहरुबाट सो रकम बक्यौता उठाउन बाँकी रहेको कार्यालयको भनाई छ । विद्युतका २७ हजार ग्राहकबाट बक्यौता रकम असुल उपर गर्न विद्युत कार्यालयले तदारुकता देखाउनुपर्छ । र बक्यौता संकलनमा कडाई पनि गर्नुपर्छ ।
११ वटा विषयगत ग्राहकहरुबाट चार करोडभन्दा बढी विद्युत महसुल उठ्न बाँकी देखिएको छ । ब्यावसायिक ग्राहक, सामुदायिक विद्युुतीकरण कार्यालय, ब्यक्तिगत घर र स्थानीय तहले विद्युत उपयोग गरेवाफत तिर्नुपर्ने ठूलो रकम तिरेका छैनन् ।
सबैभन्दा बढी ब्यक्तिगत घर र त्यसपछि स्थानीय तहको बक्यौता देखिएको छ । खानेपानी उपभोक्ता संस्था, उद्योगबाट, सिंचाईका लागि स्थापना भएका डिप बोरिङ पनि विद्युत महसुल नतिर्नेमा देखिएको छ । त्यस्तै तुलसीपुर नगरपालिकाको मातहतमा रहने गरी तुलसीपुरका सडकमा जडान भएका सडक बत्तीको महसुलसमेत लामो समयदेखि उठ्न सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिकाको नाममा एक करोड बढी रकम बक्यौता छ । मन्दिर, विद्यालय तथा सरकारी कार्यालयको नाममा पनि केही रकम बक्यौता देखिनुले सहजरुपमा विद्युत महसुल तिर्ने परिपाटी यहाँ देखिएन । बक्यौता राख्ने र लामो समयदेखि विद्युत महसुल नबुुझाउनेहरुमा यसक्षेत्रका प्रतिष्ठित ब्यक्ति पनि देखिएका छन् ।
विद्युत उपयोग गर्ने तर शुल्क नतिर्नेहरुलाई कडा कारवाहीको पनि अवधारण ल्याउन सक्नुपर्छ । हुन त कार्यालयले यस वर्ष ४५ ग्राहकलाई कालोसूचिमा राखेको सार्वजनिक गरेको छ । यो सार्वजनिकले मात्रै पनि अभियान सफल हुन सक्दैन । यसलाई कडाईका साथ लाग्नुपर्छ र बक्यौता असुल उपर गर्न सक्नुपर्छ ।
विद्युत कार्यालयले विद्युत महसुल नतिर्ने ग्राहकहरुलाई निगरानी बढाएर बक्यौता असुल गर्नुपर्छ । ताकेता र निगरानी बढाउँदा पनि बक्यौता रकम नतिर्ने निकाय र क्षेत्रलाई कडाई गर्न जरुरी छ । ठूलो रकम बक्यौता राखिरहनु पनि विद्युतको कार्य दक्षतामा समेत समस्या देखिन्छ ।
त्यसकारण बक्यौता असुल उपरमा विद्युत कार्यालय चनाखो हुनुपर्छ । उपभोक्तालाई महसुल तिर्नुपर्ने भन्ने वातावरण पनि बनाउन कार्यालय लाग्नुपर्छ भने तिर्न जाने उपभोक्तालाई पनि कार्यालयले सम्मानजनक व्यवहार गर्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *