विद्यार्थीले रोपे आफ्नो नाममा बिरुवा

फिचर समाज

घोराही, ३१ असार । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको विलियम अंग्रेजी विद्यालयले मंगलबार रामपुरमा वृक्षारोपण गरेका छन् । गुरुपूर्णिमाको अवसर पारेर दुबै विद्यालयले रामपुरका तीन स्थानमा बिरुवा रोपेका हुन् ।
घोराही–१५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र सोही विद्यालयको ब्यवस्थापनमा यो बर्षदेखि सञ्चालनमा रहेको घोराही–२ रामपुरमा रहेको विलियम अंग्रेजी विद्यालयले संयुक्तरुपमा फरक–फरक तीन स्थानमा तीन सय विरुवा रोपेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।
विद्यालयको वार्षिक कार्यक्रम अनुसार वातावरण संरक्षणमा योगदान पु¥याउनका लागि वृक्षारोपण गरिएको प्रवन्ध निर्देशक शर्माको भनाई छ । शर्माका अनुसार विरुवा लगाउने तर ती विरुवाको संरक्षणमा चासो नदिने प्रवृत्तिको अन्त्य गर्दै विद्यालयले एक विद्यार्थी एक विरुवाको नीति अनुसार रोपिएका विरुवाको पूर्ण संरक्षण हुने गरी वृक्षारोपण गरिएको हो ।
दुबै विद्यालयले संयुक्त रुपमा घोराही–२ रामपुरमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले उपभोग गर्दै आइरहेको तारजाली सहित संरक्षणमा रहेको खाली जग्गा, विलियम अंग्रेजी विद्यालयको खाली जग्गा र रामपुरको भट्टेटारमा रहेको शिवशक्ति सामुदायिक वन समूहको खाली जग्गामा विरुवा लगाइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।
दुबै विद्यालयका ६ देखि १० कक्षासम्म अध्ययन गर्ने प्रत्येक विद्यार्थीले एक÷एकवटा विरुवा लगाएको र ती विरुवामा विद्यार्थीहरुको नामसहितको ट्राकिङ गरिने, कुनै कारणबश विरुवा मरेमा पुनः अर्को विरुवा सोही स्थानमा लगाइने र आफूले लगाएको विरुवाप्रति अपनत्व बोध गराइ विद्यार्थीलाई जिम्मेवार बनाइने गरी योजना बनाइएका कारण विरुवाको संरक्षण हुने प्रवन्ध निर्देशक शर्माले बताए ।
वृक्षारोपण गरिएको क्षेत्र तारजाली गरिएका कारण विरुवा हुर्कन सहज हुने उनको भनाइ छ । वृक्षारोपणका लागि डिभिजन वन कार्यालय दाङले विद्यालयलाई निःशुल्क रुपमा तीन सय विरुवा उपलब्ध गराएको थियो ।
वृक्षारोपण कार्यक्रममा दुबै विद्यालयका सञ्चालक समितिका पदाधिकारी, ब्यवस्थापन समितिका पदाधिकारी, विद्यालय प्रशासक, शिक्षक, विद्यार्थी, अभिभावक, सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका पदाधकारी र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
श्रीखण्ड, कपुर, अमला, निम, बकाइनो, टिक, अशोकलगायतका प्रजातिका विरुवा रोपिएको ज्योतीपुञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ ।
पूर्ण बालमैत्री वातावरण, मल्टिमिडियाको प्रयोग गरी पढाइ हुने, मासिक रुपमा परीक्षा सञ्चालन हुने, प्रभावकारी रुपमा अतिरिक्त क्रियाकपाल सञ्चालन हुने भएका कारण चर्चामा रहेका दुबै विद्यालयले विभिन्न सामाजिक अभियानमा समेत आफूलाई सहभागी गराउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *