तुलसीपुर, १२ असोज । धार्मिक मूल्य मान्यता र आफ्ना परम्परालाई जोगाउने खालको शिक्षा आजको आवश्यकता भएको शिक्षा सरोकारवालाहरुको भनाइ छ । आफ्ना बालबालिकाहरुले विद्यालयका के सिक्छन् ? के सिकाउनु पर्छ ? र कसरी सिकाउनुपर्छ भन्ने कुरालाई शिक्षकहरुले ध्यान दिन नसके पढाइले मानिसलाई निकृष्ट बनाउने उनीहरुको भनाइ छ ।
शनिवार तुलसीपुरमा भएको बडादसैँ विशेष कार्यक्रमका अवसरमा बोल्ने बक्ताहरुले पढ्ने क्रममा विद्यार्थीहरुलाई के पुगेन ? के आवश्यक छ भन्ने कुरा समयमै सोच्न जरुरी भएको बताएका छन् ।
पिस पायोनियर इङ्लिस मोडल स्कुलले आयोजना गरेको दसैँ शुभकामना कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर शिक्षा संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुले शिक्षाको जग संस्कार, परम्परा र मौलिकता झल्काउने खालको हुनुपर्छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवराज विश्वकर्माले शिक्षामा देखिएको प्रमुख समस्या आदर, सम्मान र संस्कार भएको बताएका छन् । नयाँ पुस्ताले आफ्नो मौलिकलाई बिर्सिदै जानुमा शिक्षक, अभिभावक परिवार र समाज जिम्मेवार रहेको बताए ।
‘अहिलेका शिक्षण संस्थाहरुले शिक्षा दिने नाममा विद्यार्थीहरुलाई यन्त्र बनाउँदै आएका छन्’ उनले भने ‘त्यसैले आजका विद्यार्थीहरुको भविष्य कमजोर बन्दै गएको छ, जसका कारण उनीहरु जीवनको परीक्षामा दिनप्रतिदिन असफल बन्दै गएका छन् । विद्यालयले लिने परीक्षामा पास भएर मात्र नपुग्ने भन्दै उनले व्यवहारिक र टिक्न सक्ने शिक्षा दिन आवश्यक रहेको बताए ।
यसैगरी कार्यक्रममा बोल्ने विद्यार्थीहरुले दसैँ पर्व मनाउनुको मुख्य उद्देश्य र महत्वका बारेमा विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । शिक्षाको सुरुवात नवदुर्गाकै शक्ति स्वरुपबाट भएको भन्दै उनीहरुले धार्मिक सहिष्णुताले नै मानिसलाई ज्ञानी, विवेकी र लगनशील बनाउने बताए ।
विद्यालयमा अध्ययनरत विद्यार्थी प्राप्ती न्यौपाने, प्रशान्त वली, शंकर पुन, सिमन लामिछाने, राजन गौतम, आयुसा सिद्दिकी, प्रह्लाद, अनु थापाले दसैँ पर्व शिष्टाचार, अुनशासन, विश्ववान्धुत्व, सिर्जनशीलता, जागृती, एकात्मकता, आशावादी, नैतिकता र सहयोगको प्रतिक भएको बताए ।
उनीहरुले नवदुर्गाकै नामबाट शिक्षा परिचालन हुने भएको भन्दै हरेक चाडपर्वको मूल्य मान्यतालाई जोगाउनु अत्यावश्यक रहेको बताए ।
कार्यक्रमका अवसरमा बोल्दै अभिभावक धु्रव आचार्य, लालबहादुर गिरी र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती अञ्चल प्रमुख गीता दिदीले जीवन शिक्षाको जग भएकाले यसका लागि आवश्यक पर्ने नितान्त कुराहरुलाई संस्कारसँग जोडेर लैजानुपर्ने बताए ।
विद्यालयकी प्रधानाध्यापक अनिता श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक ऋषिकेश केसीले गरेका थिए ।