विद्यार्थीका हातहातमा पुस्तक

फिचर मुख्य खबर

दाङ, २४ बैशाख । दाङमा यो वर्ष सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुमा पाठ्यपुस्तक प्राप्त भएको छ । विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको महिनौ बित्दा पनि सहजता नहुने गरेको पाठ्पुस्तक यस वर्ष भने समयमै विद्यार्थीको हातमा परेको हो ।
बैशाख महिनामै प्रत्येक विद्यार्थीहरुले हातहातमा पुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु खुशी देखिएका छन् ।
विगतका वर्षहरुमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नहुँदाको समस्यालाई मध्यनजर गर्दै यो वर्ष भने सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलव्ध गराइएको दाङका स्थानीय तहमा रहेका शिक्षा शाखा प्रमुखहरुको भनाइ छ ।
गत वर्षहरुमा समयमै पाठ्यपुस्तक र रकम निकासा नहुँदा विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष प्रभाव पर्ने गरेको थियो । तर यो वर्ष भने प्रत्येक स्थानीय तहका सामुदायिक विद्यालयहरुले समयमै पाठ्यपुस्तक पाएका छन् पुस्तक व्यवसायी तीर्थ डाँगीले भने ।
समयमै पाठ्यक्रम निर्धारण नहुनु, पाठ्यपुस्तकका लागि रकम छुट्याउन ढिला गर्नु, समयमै पाठ्यपुस्तकका लागि सम्बन्धित निकायमा रकम हस्तान्तरणमा ढिलाइ गर्नुजस्ता कारणले पाठ्यपुस्तक समस्या विगतमा हुँदै आएको थियो ।
यो वर्ष भने सामुदायिक विद्यालयका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको घोराही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद पौडेलले बताए ।
यो वर्ष संघीय सरकारले समयमै रकम उपलव्ध गराएकाले पाठ्यपुस्तक निकासामा कुुनै समस्या नभएको उनले बताए । ‘हाम्रो उपमहानगरभित्रका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक निकासा भईसक्यो, अहिले सबै विद्यालयमा हातमा नयाँ पुस्तक लिएर विद्यार्थीहरु पढ्ने गरेका छन्, यो सबैका लागि खुशीको कुरा हो ।

शैक्षिक सत्रको सुरुवातमै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु खुशी देखिएका छन् ।

समयमै रकम उपलब्ध भएका कारण यो वर्ष शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीहरु नयाँ पुस्तक लिएर विद्यालय जाने वातावरण निर्माण भएको शिक्षा प्रमुख पौडेलले बताए ।
यसैगरी विद्यार्थीहरुको भर्ना विवरणको आधारमा प्रत्येक विद्यार्थीहरुका लागि पुस्तक निकासा गरिएको तुलसीपुर उपमहानगरपालिका स्रोतव्यक्ति मुकुन्द रिजालले जानकारी दिए ।
उनले कुनै विद्यालयमा विद्यार्थीको संख्या घट्ने र कुनैमा बढ्ने भएकाले विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको संख्याका आधारमा पुस्तक उपलब्ध गराईएको बताए ।
आगामी जेठ ७ गतेभित्र विद्यालयमा भर्ना हुने विद्यार्थीहरुका लागि पाठ्यपुस्तकको कुनै समस्या नभएको उनले बताए । अहिलेसम्म पाठ्यपुस्तक अभाव भयो भन्ने कुनै खबर आएको छैन,
रिजालले भने ‘सरकारले समयमै रकम उपलब्ध गराएकाले समयमै भाइबहिनीको हातमा पुस्तक राख्न सफल भएका छौँ ।’ विद्यार्थीहरुको भर्नाको आधारमा विद्यालयहरुलाई पाठ्यपुस्तकका लागि रकम प्रदान गरिएको उनले जानकारी दिए ।
बंगलाचुली गाउँपालिकामा पनि विद्यार्थीहरुले भर्नासँगै पाठ्यपुस्तक प्राप्त गरेको विष्णुप्रसाद शर्माले जानकारी दिए । ‘अहिले गाउँपालिकामा रहेका विद्यालयहरुमा ७५ प्रतिशत पाठ्यपुस्तक निकासा भईसकेको छ,
उनले भने ‘बाँकी २५ प्रतिशत विद्यार्थीको पूर्ण विवरणका आधारमा प्रदान गर्नेछौँ, तर भर्ना भएका सबैले पुस्तक पाएका छन् ।’ उनले वैदेशिक अनुदान समयमै फुकुवा नभएका कारण विद्यार्थीहरुलाई पुस्तक उपलब्धतामा समस्या हुने भएकाले भर्ना अभियानसँगै गाउँपालिकाको आन्तरिक स्रोतबाट भएपनि पुस्तक उपलव्ध गराएको बताए ।
कर्मचारी समायोजनका कारणले केही समस्या भएको भएपनि बैशाख महिनामै सम्पूर्ण विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरेको गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्यामबहादुर विकले बताए ।
यस्तै राप्ती गाउँपालिकामा पनि समयमै पाठ्यपुस्तक उपलब्ध भएको गाउँपालिका शिक्षा शाखा प्रमुख फनेन्द्रराज देवकोटाले बताए । शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिकामा पनि विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेका छन् ।
बैशाख महिनामै जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक उपलव्ध हुँदा अहिले समयमै पाठ्यक्रम अनुसार विद्यार्थीहरुले पढ्ने वातावरण निर्माण भएको छ ।
समयमा पाठ्यपुस्तक नहुँदा पुस्तक विनानै पढ्नुपर्ने समस्या यो वर्ष पूर्णरुपमा हटेर गएको छ । विद्यालयमा पढाइ सुरु हुने मितिदेखि नै झोलाभरी कापी र किताब बोकेर विद्यालय जान पाउँदा विद्यार्थीहरुमा समेत पढाइप्रतिको उत्साह थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *