विकास निर्माण र सुशासन स्थापितः डाँगी

फिचर राजनीति विचार संवाद

मंसिर १४ गते हुने उपनिर्वाचनको चुनावी सरगर्मी बढिसकेको छ । उम्मेदवारहरू मत माग्न मतदाताको घरदैलोमा पुगेर भेटघाटमा व्यस्त बनेका छन् । मतदाता पनि कस्तो उम्मेदवारलाई छनौट गर्ने भन्ने सोचमा छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । प्रदेशसभा सदस्यका लागि १२ राजनैतिक दल र २ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् भने घोराही १६ मा ५ राजनीतिक र २ स्वतन्त्र गरी ७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावी मत परिणाम कसको पक्षमा आउला ? मंसिर १४ पछि मात्रै तर सबै उम्मेदवार आफ्नो जित सुनिश्चित भएको भन्दै मतदातासँग भोट माग्ने गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसले ताराबहादुर डाँगीलाई उम्मेदवारी बनाएको छ । चुनावी प्रतिस्पर्धामा रहेका डाँगीसँग आज हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सारसंक्षेप । 


तपाईको उम्मेदवारी किन ?
जनताको नजिकको सरकारको अनुभूति नागरिकले गर्न पाएका छैन् । म अहिले घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष निर्वाचित भएपछि यहाँका नागरिकले स्थानीय सरकारको अनूभुति गर्ने छन् ।
अभाव र दबावमा रहेका नागरिकलाई विकास निर्माण र सुशासन स्थापित गर्न मेरो उम्मेदवारी हो । मेरो अर्को कुरा म जनप्रनिनिधि भएर मात्र होइन्, प्रनिनिधि नहुँदा पनि वडा नम्बर १६ मा विकास निर्माणका पहल भएका छन् ।
अहिले जिम्मेवार निकायमा आधिकारिक ढंगले काम गर्नका लागि पनि मेरो उम्मेदवारी वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि उम्मेदवारी परेको हो । नागरिकले साथ दिनुहुन्छ भन्ने म पूर्ण आशामा छु । स्थानीयस्तरमा जन्मे हुर्केको ठाउँ नै यतै भएका कारण पनि मत परिणाम मेरो पक्षमा आउँछ भन्ने हो ।

चुनावी गतिविधि कस्तो छ ?

ठिकै छ, अहिले हामीहरू चुनाव चिन्ह लिएर मतदाता भेट्न घरदैलो अभियानमै छौँ । म अहिले मतदातासँग भेटघाट गरिरहेको छु । हामी तीन÷चारवटा समूह भएर चुनावी प्रचारमा लागेका छौँ ।
निर्वाचन क्षेत्रको विभिन्न स्थानमा चुनावी गतिविधि झल्कने कार्यक्रमहरू पनि गरिरहेका छौँ । नेपाली काँग्रेसले अहिले वडाका सबै टोलमा विभिन्न चुनावी कार्यक्रमहरू पनि गरिरहेको छ । म पनि निरन्तर रूपमा मतदाता यहाँका दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाटमै व्यस्त बनेको छु ।

जनता के भन्छन् ?

नागरिकहरूले त अहिलेको सरकारका गतिविधिप्रति असन्तुष्ट देखिएका छन् । सरकारले भ्रष्टाचार, महंगी बढाउने अवस्थाले जनतामा निराशा र आक्रोस देखिएको छ । अहिलेको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार छान्ने मनस्थितिमा जनता छन् ।
स्थानीय नागरिक दाजुभाइ तथा दिदिबहिनीहरूले मलाई नै भोट दिने प्रतिवद्धता गर्नुभएको छ । नागरिकस्तरबाट राम्रो साथ रहने अपेक्षा गरेका छौँ । विकास निर्माण प्रक्रियामा नेपाली काँग्रेस र म स्वयम् व्यक्तिगत रूपमा गरेको नागरिकले सम्झिएका छन् ।

जनतामाझ लगेको एजेन्डाहरू के–के हुन् ?

स्थानीयस्तरमा नागरिकलाई सडक, खानेपानी, सिंचाई, स्वास्थ्य लगायतका कुरा बढीभन्दा बढी आवश्यकता देखेको छु । ति कुराहरूको ग्यारेण्टी गरेका छौँ । अनि अहिले देखिएको भ्रष्टाचारको अन्त्य गरी विकासका सम्भावनाहरूलाई छोप्दै नागरिकले परिवर्तन महशुस गर्ने गरी विकास गर्नेछौँ भनेका छौँ ।
सुशासनरहित समाजको निर्माण गर्ने, गरिब तथा विपन्न नागरिकको जीवनस्तर उठाउने र स्थानीय सरकारप्रति विश्वास बढाउने काम गर्ने छौँ । छोटो समयभन्दा पनि दीर्घकालिन रूपमा फाइदा पुग्ने गरी योजना बनाईरहेका छौँ ।

चुनावअघि सबैले भन्ने त यही नै हो, पछि कार्यान्वयन हुँदैन् ?

हो एकदम सही हो तर म मा यो कुरा लागू हुँदैन् । जे जति काम गर्न सकिन्छ त्यति नै आश्वासन बाँडेका छौँ । स्थानीय नागरिक भएका कारण पनि मैले नसक्ने योजना जनतामा लैजादैँन् ।
मलाई जुन विश्वास दिनुभएको यहाँका नागरिकले मैले त्यही विश्वासमा रहेर काम गर्ने प्रण गरेको छु । त्यसकारण मैले झुटा आश्वासन बाँड्ने काम गर्दिन् । कतिपय नेतृत्वले यस्ता गल्तीहरू पनि गरेका छन्, काम थोरै गर्ने तर भाषण धेरै गर्ने रिती बसेको छ । यसको अन्त्य गर्न चाहन्छु म ।

जनताका लागि अहिलेसम्म के के गर्नुभयो ?

मैले थुप्रै काम गरेको छु । यद्यपि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा म थुप्रै सामाजिक काममा लामो समयदेखि लागिरहेको छु । म विभिन्न संघ, संस्थामा रहेर काम गर्दा जनताका समस्यालाई नियाल्ने प्रयास गरेको छु ।
म अहिले उम्मेदवार भएपछि मात्र विकास गर्नुपर्छ भन्ने मान्यता राख्दैन् । स्थानीय भएका कारण यहाँका आम मतदाता मैले गरेको कामबाट प्रत्यक्ष फाइदा पुगेको छ । गाउँमा हरेक विकास निर्माणमा मैले नेतृत्व गर्ने अवसर पाएको छु । त्यसकारण पनि मैले केही नगरेको होइन्, धेरै गरेको छु, अब पनि जित होस् या हार होस् म गाउँको विकासमा सधैँ लागिरहने छु ।

मत तपाईको पक्षमा आउला त ?

चुनाव हो हारजित अवश्य पछि हुन्छ तर पनि मैले जित्छु भन्ने विश्वासमा छु । जनताले राम्रो साथ दिनुभएको छ । हाम्रो पक्षमा नागरिकको लहर नै छ । अब जनताहरू विकल्पको खोजीमा छन् र मेरो पक्षमा जनताको साथ पूर्ण छ ।

जनताले कस्ता किसिमका विकास मागेका छन् ?

अहिले जनताले मागेका भनेको नै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायका सुविधाको सहज होस् भनेका छन् । हामी चुनावी मत माग्न घरदैलोमा पुग्दै गर्दा खेरी जनताले जतिसक्दो छिटो देखिने गरी विकास मागेका छन् । जनतामा विकासप्रतिको आकांक्षा तिब्र छ । तिब्र आकांक्षालाई सम्बोधन गर्नका लागि म लाग्ने छु भन्ने प्रतिवद्धता गर्दछु ।
अनि अहिले विषेशगरी गाउँमा अधिकांश युवा रोजगारीका लागि विदेश पुगेका कारण वृद्ध नागरिक र बालबालिका बढी छन् । अर्थात् देशमा रोजगारीको व्यवस्था छैन् । युवा विदेशिनु परेको छ । स्वदेशमै रोजगारी हुनुपर्ने आम युवाको माग छ त्यसैले पनि आम युवालाई रोजगारीसँग जोड्नका लागि मेरो पूर्णतया पहल रहने छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

म के भन्न चाहन्छु भने नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार म ताराबहादुर डाँगीलाई रूख चिन्हमा भोट हालेर अत्याधिक बहुमतले बिजयी बनाउन आग्रह गर्दछु । हाम्रोभन्दा पनि राम्रो उम्मेदवार छनौट गर्न पाउने आम मतदाताको अधिकार हो ।
त्यसैले यस्तो सुनौलो अवसरमा योग्य, दक्ष र सक्षम उम्मेदवार छनौट गर्नुहुनेछ भन्ने विश्वास छ । मत भनेको कसैलाई सहानुभूति दिनलाई भन्दा पनि यहाँको विकास गर्न सक्ने, केन्द्रमा विकासका एजेण्डा लैजान सक्ने दक्ष उम्मेदवार छनौट गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *