विकासमा राजनीति नगरौंः मुख्यमन्त्री

फिचर मुख्य खबर राजनीति

घोराही, १५ असोज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विकासलाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । ‘विकासमा सबैको एकमत हुनुपर्छ’ उनले भने ‘चाहे त्यो सत्तापक्ष होस् वा प्रतिपक्ष नै किन नहोस् ।’
सत्तापक्ष बढी जिम्मेवार रहनुपर्ने र प्रतिपक्ष पनि सकारात्मक भावना बोकेर अगाडि बढ्ने हो भने दाङको विकासले फड्को मार्ने देखिन्छ । दाङका विकासमा राजनीति हावी देखिने गरेको भन्दै विकासमा राजनीति गर्न नहुने बताए ।
घोराही उपमहानगरको एकीकृत सहरी विकास योजना ०७७÷७८ को तर्जुमा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।
उनले विकासमा निर्माणमा दीर्घकालिन योजना र सोचको अभाव रहेको भन्दै हरेक विकास निर्माणमा दीर्घकालिन योजना बनाउनुपर्ने बताए । ‘विकासको उद्देश्य भनेको जनताको जीवनस्तर माथि उठाउने हो’ गोष्ठीमा मुख्य मन्त्री पोख्रेलले भने ‘त्यसको लागि दीर्घकालिन योजना बनाउनुस् ।’
कृषिको विकासको लागि यान्त्रीकरण र बजारीकरणको रणनीति योजना बनाएर अगाडि बढेमा यहाँका जनताको स्तर माथि उठने उनको भनाइ छ । कृषि क्षेत्रको लागि प्रदेश सरकारले दुईवटा कार्यक्रमहरु सञ्चालन गरेको र घोराही उपमहानगरपालिकाले पनि कृषि कार्यक्रमहरुको योजना बनाउन सुझाव दिए ।
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङको विकासका लागि दीर्घकालिन योजनाहरु सुझबुझ गरेर अगाडि बढाउन सुझाव दिईन् । प्राकृतिक रुपमा र वन सम्पदाहरुको धरोहर रहेको दाङलाई आर्थिक समृद्धिको रुपमा अगाडि बढ्न सहज हुने बताइन् ।
प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले घोराहीको प्रमुख विकासको लागि कृषि, पर्यटन र उद्योगलाई प्रमुख आधारको रुपमा लिएर अगाडि बढ्न सुझाव दिए । नगरभित्रका सबै खोलाहरुमा बाँध बनाउने र जसबाट सिंचाई सुविधा उपलब्ध हुनका साथै पयर्टन क्षेत्रको पनि विकास गर्न सकिने उनले सुझाव दिए ।
नगरकै अगुवाईमा किसानलाई समयमा मल, बीउहरु उपलब्ध गराउनुको साथै कृषि प्राविधिकहरुलाई गाउँ–गाउँमा पठाएर किसानलाई प्राविधिक ज्ञान दिन सकिने उनले बताए । अव्यवस्थित बसोबास बढ्दै गएकाले दीर्घकालिन योजना बनाएर खेतीपाती र बसोबासको क्षेत्र छुट्टाछुट्टै हुनुपर्ने बताए ।
घोराही उपमहानगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजनामा नगरको दीर्घकालिन सोच तथा रणनैतिक योजना निर्माण कार्यशाला गोष्ठी गरेको हो ।
नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस घोराहीका उपप्राध्यापक नवराज सुवेदी, प्रध्यापक डा अरुणकुमार सुवेदी, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका श्रीमण न्यौपानेलगायतले घोराहीको दीर्घकालिन विकासका सम्भावना, चुनौती तथा सम्भावनाका उपायहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रको टिप्पणी प्रा.डा शिव सुवेदीले गरेका थिए । उनले विकास निर्माणलाई आधुनिकतर्फ परिमार्जन गरेर लैजान सुझाव दिएका थिए । कार्यक्रममा नेपाली काँग्रसेका उपसभापति कमानसिंह भारती, नेकपाका नेता लक्षण आचार्य, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष नारायण भुसाललगायतले सुझावसहितको विचार राखेका थिए ।्

Leave a Reply

Your email address will not be published. Required fields are marked *