विकासमा जनता होइन नेता प्राथमिकता

फिचर मुख्य खबर

तुलसीपुर उपमहानगरको सार्वजनिक सुनुवाई …
तुलसीपुर, १५ जेठ । तुलसीपुर उपमहानगरपालिकाका विकास योजनाको कामले जनतालाई विकासको अनुभूति दिन नसकेको सरोकारवालाले बताएका छन् ।
उपमहानगरपालिकाले मंगलबार तुलसीपुरमा आयोजना गरेको आर्थिक वर्ष ०७५/७६ को समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले उपमहानगरपालिकाले जनताका आधारभूत आवश्यकतालाई भन्दा पनि महत्वाकांक्षी योजनालाई बढी प्राथमिकता दिएको गुनासो गरेका छन् ।
पत्रकार एवं अधिकारकर्मी सुशील बस्नेतले आगामी आर्थिक वर्षको योजना निर्माण गर्दा शहर र गाउँलाई प्रत्यक्षरुपमा जोडिने खालका निर्माण गरिनुपर्ने बताए ।
उनले उपमहानगरपालिकाले ल्याएको स्मार्ट सिटी निर्माणसँगै जनताका सामान्य आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानीजस्ता समस्या समाधानमा गम्भीर बन्न आग्रहसमेत गरे । ‘अबका दिनमा निर्माण गरिने योजना तथा कार्यनीतिहरु ग्रामीण बस्तीका नागरिकलाई प्रत्यक्ष समावेश गरिने खालका बनाईनुपर्छ’ उनले भने ।
यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालले उपमहानगरभित्र रहेका आमनागरिक खानेपानीको काकाकुल अवस्थामा रहेको बताउँदै स्थानीय सरकारले समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताए ।

‘स्मार्ट सिटी यस क्षेत्रको विकासको नयाँ रणनीति हो, ‘यसर्थ यसलाई देख्न र छुन सकिँदैन, हामीलाई काम गर्न दिनुस् ।’

‘खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि आजै लाग्नुपर्छ’ उनले भने । जनताले तिरेको करलाई सही ठाउँमा सदुपयोग गर्नका निम्ती रचनात्मक तरिकाले योजना निर्माण गर्नुपर्ने, सडक तथा सिंचाईमा छुट्याइएको बजेटलाई सोही अनुसार प्रयोग गर्नुपर्ने,
विकासका नाममा हुने भ्रष्टाचारको बृहत् अनुसन्धान तथा अनुगमन गर्नुपर्ने, कृषकलाई प्रदान गरिने कृषि अनुदानलाई फराकिलो बनाउनुपर्ने, बिचौलियाका कारणले खेप्नुपर्ने मारलाई अनुगमन गरी नियन्त्रण गर्नुपर्ने, सडक अतिक्रमणका सवालमा जिम्मेवारी र जवाफदेही बन्नुपर्नेलगायतका माग तथा सुझावसमेत व्यक्त गरे ।
त्यस अवसरमा सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख घनश्याम पाण्डेले कुनै पनि विकास निर्माणका योजना तथा रणनीतिहरु जनताले अनुभूति गर्ने तरिकाले नै निर्माण गरिएको र गरिने बताए । ‘स्मार्ट सिटी यस क्षेत्रको विकासको नयाँ रणनीति हो, उनले भने ‘यसर्थ यसलाई देख्न र छुन सकिँदैन, हामीलाई काम गर्न दिनुस् ।’
तुलसीपुर क्षेत्रको पहिचानका निम्ती अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा उच्चस्तरीय व्यवसायीक तुलसी ट्रेड टावरको निर्माण गरिन लागेको समेत जानकारी दिए ।
उनले सडक तथा यातायात क्षेत्रको विकासअन्तर्गत २५ किलोमीटरमध्ये १४ दशमलव ९ प्रतिशत कालोपत्रे भईसकेको बताए । यस्तै कच्ची तथा ग्रामीण क्षेत्रमा ३९ किलोमीटर बाटो कालोपत्रे भएको समेत जानकारी दिए ।
यस क्षेत्रको दीर्घकालिन अवधारणासहितको गुरुयोजना, एकीकृत शहरी विकास योजना, भूउपयोग नीति तथा योजना, मापदण्डसहितको सडक तथा यातायात गुरुयोजना, स्पोर्ट सिटी योजना, स्मार्ट सिटी, पर्यटन गुरुयोजना, आर्थिक तथा उद्यम विकास योजनालगायतका विभिन्न योजना तथा रणनीति निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।
बिगतका वर्षहरुको तुलसीपुर र स्थानीय सरकार आईसकेपछिको तुलसीपुरलाई आम नागरिकहरुले आफै मूल्याङ्कन गर्नुपर्ने बताए । तुलसीपुरलाई नेपालकै देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्नका लागि आफूहरु लागिरहेको बताउँदै उनले भने ‘आगामी दिनमा हामीले आर्थिक, व्यवसायिक र सुरक्षाका हिसावले यस क्षेत्रलाई अगाडि बढाउने कार्ययोजनाहरु अगाडि बढाएका छौँ ।’
बढ्दो बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै आगामी नयाँ आर्थिक वर्षमा बेरोजगारी फारामका आधारमा उनीहरुलाई रोजगारी दिने बताए । ‘बेरोजगारीहरुलाई उनीहरुको ईच्छा अुनसार रोजगार प्रदान गर्ने छौँ’ उनले भने ‘रोजगारी नपाउनेहरुलाई सोही अनुसारको बेरोजगारी भत्ता प्रदान गर्ने छौँ ।’
आर्थिक, सामाजिक शैक्षिक तथा साँस्कृतिक एवं पर्यटकीय हिसाबले तुलसीपुर उपमहानगरपालिका सम्भावना बोकेको नगर भएकाले निर्माण गरिएका गुरुयोजनालाई कार्यान्वयन गर्न आवश्यक पर्ने सहयोगी नीति तथा कानुन तर्जुमा गरी अगाडि बढ्नका लागि आम नागरिक तथा जनताहरुको सल्लाह तथा सुझावका आधारमा अघि बढ्नेसमेत बताए ।
सहभागीहरुले कार्यक्रममा वातावरण संरक्षण, सुरक्षा व्यवस्था, फोहोरमैला व्यवस्थापन, शैक्षिक सुधारका विषयमा सल्लाह सुझाव समेत दिएका थिए ।
कार्यक्रममा विभिन्न निकायका सरोकारवाला, वुद्धिजीवि, समाजसेवी, राजनैतिक दल, पत्रकार, स्थानीय, जनप्रतिनिधि, व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उठेका विभिन्न मागहरुलाई आगामी जेठ २४ गतेको नगरसभाले नीति तथा कार्यक्रमले सम्बोधन गर्ने नगरप्रमुख पाण्डले बताए । कार्यक्रमको सहजीकरण उपमहानगरका प्रेस संयोजक बसन्त विवश आचार्यले गरेका थिए ।


खर्चमा लक्ष्य नजिक, राजस्व निराशाजनक

प्रदेश टुडे
तुलसीपुर उपमहानगरले बजेट खर्चमा लक्ष्य नजिक पुगेको दाबी गरेको छ । उपमहानगरले मंगलबार गरेको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले बजेट फ्रिज हुने अवस्थालाई शुन्यमा झार्न बजेट खर्चमा लक्ष्य नजिक पुगेको दाबी गरे ।
नगर प्रमुख पाण्डेले चालु वर्षमा विनियोजित बजेटमध्ये करिब ६८ प्रतिशत खर्च भएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकामा १ अरब ७ करोड ९२ लाख ९७ हजार २ सय ७० रुपैयाँ ९७ पैसामध्ये ८२ करोड ६६ लाख २८ हजार ७ सय २१ रुपैयाँ ८३ पैसा खर्च भएको छ ।
नगरप्रमुख पाण्डेले उपमहानगरले १ अरब ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ बजेट विनियोजन गरिएको बताए । विनियोजित बजेटमध्ये ४९ करोड ४८ लाख ९३ हजार ९ सय ३६ रकम अझै निकासा हुन नसकेको उनको भनाइ छ ।
यसैबीच बजेट र्खचमा उपमहानगरपालिका लक्ष्य नजिक पुगे पनि राजस्व संकलनमा निराशाजनक रहेको छ । तथ्याङ्क अनुसार उपमहानगरपालिकाले चालु वर्षमा ५७ दशमलव ७६ प्रतिशत राजस्व संकलन भएको छ ।
उपमहानगरले चालु वर्षमा १४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि ८ करोड ८ लाख ६३ हजार ७६ राजस्व संकलन गरेको छ ।
उपमहानगरपालिकाले चालु वर्षमा लक्ष्यको करिब ७० प्रतिशत राजस्व संकलन गर्ने अनुमान गरेको छ । यस्तै उपमहानगरपालिकाले चालु वर्षमा २७ प्रतिशत योजनाहरु सम्पन्न हुन नसकेको जनाएको छ ।
नगरप्रमुख पाण्डेले चालु वर्षमा बिनियोजन गरेका १ हजार ४ सय ७६ योजनामध्ये १ हजार ८२ योजना सम्पन्न भएको जानकारी दिए ।
उपमहानगरपालिकामा अझै पनि ३ सय ९४ योजना सम्पन्न हुन सकेका छैन् । यसैबीच उपमहानले गौरवका योजनामा आधुनिक बस टर्मिनल भवन निर्माण भएको, अटो भिलेज सञ्चालनमा आएको, तुलसी ट्रेड टावरको डिपिआर र भवन डिजाइनको प्रक्रिया सम्पन्न गरेको छ ।
यस्तै उपमहानगरमा चालु वर्षमा १४ दशमलव ९ किलोमिटर कालोपत्रे, ५१ दशमलव ६ किलोमिटर ग्राभेल, ३९ किलोमिटर कच्ची सडक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *