मसुरीया (दाङ), १० साउन ।
राप्ती गाउँपालिकाबासीको जीवनयापन सहज बनाउन र विकासका पूर्वाधार निर्माणका लागि आफू लागिपर्ने पूर्व सामान्य तथा प्रशासन मन्त्री एवं प्रतिनिधि सभा सदस्य रेखा शर्माले बताइन् । पूर्व सामान्य तथा प्रशासन मन्त्री एवं प्रतिनिधि सभा सदस्य रेखा शर्माले अहिलेको अवस्थामा त्रिपक्षीय सरकारहरुले काम गर्न लागिरहेको बेलामा पार्टी, समाज, दलका कुनै अन्य कुराको विभाजन नगरी विकासका लागि सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने समेत बताइन् ।
राप्ती गाउँपालिका वडा नम्बर २ को आयोजनामा पूर्व सामान्य तथा प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य रेखा शर्मासँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा शर्माले यस्तो बताएकी हुन् । वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाको अध्यक्षता तथा पूर्व सामान्य तथा प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य रेखा शर्माको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सदस्य विष्णु पौडेल, प्रदेश नम्बर ५ प्रदेश सभा सदस्य कृष्णध्वज खड्का, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भेटघाट तथा परिचयात्मक कार्यक्रममा राप्ती गाउँपालिकाभित्र रहेका केन्द्र सरकार तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने विकास निर्माणका कार्यको बारेमा जानकारी गराएका थिए ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य नारायणी शर्मा, राप्ती गाउँपालिकामा क्रियाशील राजनैतिक पार्टी, संघसंस्था, समूहका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक पत्रकारलगायतको उपस्थिति रहेको कार्यक्रममा केशव आचार्यले बालुवा पीडितको अवस्था, शान्तराज शर्माले खानेपानीको अवस्था, मान बहादुर पुनले विद्यालयको अवस्था, हिमाली न्यौपानेले महिला तथा स्वास्थ्य सेवाको अवस्था, नेत्र पौडेलले वनका विषयमा अतिथिहरुलाई अवगत गराएका थिए ।
समग्र राप्ती गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, वनसँग सम्बन्धित ठूला कार्यक्रम केन्द्र र प्रदेश सरकारका माध्यमबाट सम्बोधन गर्ने गरी र वडा नम्बर २ को बालुवा प्रभावित खेतीयोग्य जमिनको संरक्षणका लागि वडा नम्बर २ को तर्फबाट पूर्व सामान्य तथा प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य रेखा शर्मालाई ज्ञापनपत्रसमेत बुझाइएको छ ।