वाइपास गरियो

फिचर मुख्य खबर

वडा अध्यक्ष गुनासो …
घोराही, २३ जेठ । घोराही उपमहानगरपालिकामा गठन भएका विभिन्न समितिमा समावेशीरुपमा जिम्मेवारी नभएको वडा अध्यक्षहरुले गुनासो गरेका छन् । उपहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु जिम्मेवारी वाँडफाँटमा समावेशी नभएको गुनासो गरेका हुन् ।
उपमहानगरपालिकाका प्रमुखलगायतका कर्मचारीसँग नजिक भएकाहरुलाई मात्र जिम्मेवारी बाँडफाँट गर्ने र बजेट पनि त्यही अनुसार नै छुट्याउने गरेको गुनासो गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुमणि दाहालले घोराही उपमहानगरले सरकारको नभएर पार्टीको जस्तो क्रियाकलाप गर्ने गरेको बताए । उपमहानगरपालिकाले आफू निकटको मात्रै योजना बुझ्ने,
जिम्मेवारी दिने गरेको उनले बताए । ‘सामाजिक क्षेत्रमा काम गर्नको लागि उपमहानगरपालिकामा विभिन्न समिति गठन भएका छन्’ छलफलमा ५ का वडा अध्यक्ष दाहालले भने ‘बरु एउटै वडा अध्यक्षलाई २/३ पटक जिम्मेवारी दिईन्छ, काँग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई उपेक्षा गरिन्छ ।’
एउटै वडा अध्यक्षले धेरै जिम्मेवारी दिदा काम कारवाही प्रभावकारी नहुने बताए । घोराही उपमहानगरपालिकाले गर्ने योजनाका कार्यक्रम, विभिन्न समिति गठन गर्ने बैठक तथा कार्यक्रममा आफूहरुको कुनै मूल्यांकन नै नभएपछि बहिष्कार गरेर हिडेको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेले बताए । ‘घोराही उपमहानगरका अन्य वडा अध्यक्षसरहका हामी पनि हौँ’ छलफलमा उनले भने ‘हरेक कार्यक्रममा र बैठक उपमहानगरको जस्तो नभएर पार्टीको कार्यक्रम जस्तो हुन्छ ।’
आफनो निकटको मात्रै योजना पास गर्ने र आफूहरुको योजना पास गराउँदा धेरै भनसुन गर्नुपर्ने उनले बताए । ‘उपमहानगरपालिकाका सबै जिम्मेवारीहरु हामीलाई चाहिन्छ भनेका छैनौ’
छलफलमा उनले भने ‘एउटै वडा अध्यक्षलाई धेरै जिम्मेवारी दिनुभन्दा सबै वडा अध्यक्षहरुलाई समावेश गरेमा काम प्रभावकारी हुन्छ ।’ नेकपाबाट निर्वाचित भएका सबै वडा अध्यक्षभन्दा पनि आफू निकटलाई मात्र जिम्मेवारी दिने, सहजै योजना पास गर्ने गरेको उनले बताए ।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरीले बजेट विनियोजन गर्दा उपमहानगरले उपेक्षित गर्ने गरेको, आफू निकटका एउटै वडा अध्यक्षलाई विभिन्न समितिको संयोजक बनाउने गरेको, आफूहरुलाई वाइपास गर्ने गरेको बताए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ का खुशीराम चौधरीले नगरले कुनै योजनाहरु छलफल नगरेर निर्णय हुने गरेको बताए । ‘कुनै महत्वपूर्ण योजनाहरु नगरबाट निर्णय भएपछि थाहा हुन्छ’ उनले भने ‘पछि नगरमा कुरा राख्दा ठिकै जस्तो लाग्छ,

एउटै वडा अध्यक्षलाई धेरै जिम्मेवारी दिनुभन्दा सबै वडा अध्यक्षहरुलाई समावेश गरेमा काम प्रभावकारी हुन्छ ।

तर निर्णय हुनुभन्दा पहिले छलफलमा सहभागी गराएको भए हुन्थ्यो भन्ने पनि लाग्छ ।’ लागत सहभागिता र नगरस्तरीय योजनाहरुमा निर्णय हँुदा खासै जानकारी नहुने उनले बताए ।
‘नगरबाट हुने हरेक छलफलमा जानकारी गराईनुपर्छ जस्तो लाग्छ’ उनले भने ‘कुनै योजनाहरु निर्णय भईसकेपछि थाहा हुन्छ तर पछि योजनाहरु राम्रै लाग्छ ।’
घोराही उपमहानगरपालिका वडा १२ का वडा अध्यक्ष राजेन्द्र बुढाले नगरपालिकामा हुने हरेक गतिविधिमा समावेशीकरण नभएको बताउँछन् । ‘घोराही उपमहानगरपालिकामा विभिन्न समिति गठन छन्,
कुनै वडा अध्यक्षहरु २÷२ वटा समितिको संयोजक हुनुभएको छ’ अध्यक्ष घर्तीले भने ‘त्यो हामीले मानेकै छौँ, भौगोलिकको हिसाव छुट्याउनु भएन्, समावेशीकरण पनि देखिदैन् ।’ केही दिन मात्र गठन भएको समितिमा चित्त नबुझेको उनले बताए ।
‘घोराही उपमहानगरपालिका वडा १०, १४ र १८ वडा अध्यक्ष मिलाएर एउटा समिति भयो, भेगको हिसावले म पनि पर्न सक्थे होला तर मलाई सोधिएन्’ उनले भने ‘त्यो समिति मलाई पटक्कै चित्त बुझेको छैन् ।’
‘मेरो कुनै समितिमा बस्ने मनसाय छैन, तर एउटै भेगका वडाहरुमा बस्न उचित होला जस्तो लागेको थियो’ उनले भने ‘म त्यो समितिमा बस्थे वा बस्दैनथे, तर मलाई सोधिएन्, आफै निर्णय गरे ।’


सबैको समान हैसियतः प्रमुख चौधरी

वडा अध्यक्षहरुको गुनासो सुनिसकेपछि यस विषयमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरका सबै वडा अध्यक्षहरुको हैसियत समान भएको बताएका छन् । ‘सिटको हिसावले जसले बढी जितेको छ, उसैले बढी जिम्मेवारी पाउने स्वभाविक हो’ घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीले प्रदेश टुडेलाई भने ‘हामीले पार्टी होइन् विकास हेर्ने हो ।’
काँग्रेस निकट जनप्रतिनिधिहरुले गरेको गुनासोको कुनै अर्थ नभएको उनले बताए । ‘नगरस्तरका सभा, बैठकमा उहाँहरुको पनि बराबर भूमिका छ’ उनले भने ‘हामीले कुनै पनि बजेट योजनामा यो वा त्यो वडा भनेर विभेद् गरेका छैनौ समान्तर रुपमा छ, त्यो तपाई पनि हेर्नसक्नु हुन्छ ।’
कसको वडाभन्दा पनि कुन वडामा के आवश्यक छ भनेर योजना बनाउने तथा बजेट छुट्याउने गरेको उनले बताए । ‘नगरस्तरका कुनै पनि योजनामा मैले पार्टी हेरेको छैन्’ उनले भने ‘मैले विकास हेर्ने हो, कहाँ कति बजेट आवश्यक छ, त्यो हर्ने हो ।’
निर्वाचित भएर आईसकेपछि सबै वडाहरुको समान हैसियत भएको उनले बताए । काँग्रेस निकट जनप्रतिनिधिहरु सबैलाई नगरका विभिन्न समितिका सदस्यमा राखेको जानकारी गराएका थिए ।


जनप्रतिनिधिसँग छलफल

घोराही, २२ जेठ । नेपाल प्रेस युनियन दाङले स्थानीय तहमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रम भएको छ । युनियनका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको छलफलका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जनताले परिवर्तनको महसुस गर्ने गरी विकास निमार्णका काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
‘आफ्नो सेवा सुविधाभन्दा पनि जनताको प्रतिनिधि भएर विकास निर्माणका गर्नुस्’ सचिव डाँगीले ‘जनप्रतिनिधिहरुलाई सुझाव दिदै भने शिष्ट भएर नगरमा आफ्नो भूमिका निर्वाह गर्नुस् ।’
छलफलमा घोराही उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष रेवबहादुर वुढाथोकी, ३ का अध्यक्ष माधव चौधरी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगी, गिरीराज सुवेदी, पूर्व नगरअध्यक्ष किशोरचन्द्र गौतम, क्षेत्रीय सचिव बद्रीकुमार खड्का, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम,
पूर्व जिल्ला उपाध्यक्ष बसुन्धरा गौतम, अमर क्षितिज भण्डारी लगायतले विचार राखेका थिए । छलफलको सहजीकरण प्रेस युनियनका सचिव आरके शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *