वनमा नयाँ कार्यसमिति

समाज

गढवा, २३ पुस । उपल्लो मदपुर वनकट्टी सामुदायिक वन उपभोक्ता समिति गढवा ५ र ६ को शनिवार विशेष भेलाले नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष आनन्द सिंह ठकुरीको सभापतित्व र वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको प्रमुख आतिथ्यतामा भएको उपभोक्ताहरुको विशेष भेलाले ओम बहादुर विसीलाई सर्वसहमतिले अध्यक्ष पदमा चयन गरेको हो ।
लामो समयदेखि समितिले समितिको लेखापरिक्षण नगरेको, आय–व्यय नदेखाएको, वनको कार्ययोजना अनुसार ढलपडाबाट संकलन भएको काठ उपभोक्तालाई बिक्री वितरण गर्न नसकेको साथै कार्यसमितिको समय व्यवस्थापन कारणले विशेष उपभोक्ता भेलाको आयोजना गरिएको समूहका नव अध्यक्ष ओम बहादुर बुढाथोकीले बताए । कार्यक्रममा बोल्दै वन तथा वातावरण संरक्षण समितिका अध्यक्ष उमाकान्त पन्तले सामुदायिक वनको विधान अनुसार कार्यसमिति चल्ने र कार्ययोजना अनुसार वनको कार्य गर्दै जाने हो भने सामुदायिक वनको विवाद नहुने बताए । अर्को प्रसंग जोड्दै पन्तले भर्खरै सरकारले वन क्षेत्रमा प्राधिकरण सञ्जाल ल्याने तयारी गरिरहेको बताउँदै यस्ता सञ्जालले सामुदायिक वनमाथि गिुद्दे नजर लगाएकोले सामुदायिक वनको संरक्षणको लागि कुनै पनि प्राधिकरण सञ्जालको आवश्यकता नभएकोले र सामुदायिक वनको कार्यको लागि डिभिजन तथा सवडिभिजन कार्यालयले दिदै आएको सेवा पर्याप्त भएको बताउदै यदि यस्ता प्राधिकरण सञ्जालले नीति पारित भयो भने सम्पूर्ण वनप्रेमी तथा वनकर्मीले आन्दोलन गर्नुपर्ने बताए । कार्यक्रममा उपभोक्ता अनुप कुमार थापा मदपुर नशहवा सामुदायिक वनका सचिव हुकुमराज यादव, वीरबहादुर आले, पत्रकार दुखहरण यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव विक्रम गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निवर्तमान अध्यक्ष देवराज यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *