वडा कार्यालयमा तालाबन्दी

मुख्य खबर

तुलसीपुर, २५ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयमा तालाबन्दी भएको छ । नेकपाका नेता, कार्यकर्ताहरूले तुलसीपुर वडा नम्बर १३ फुलबारीमा तालाबन्दी गरेका हुन् ।
राप्ती राजमार्ग धर्ना सडक निर्माणका लागि उपभोक्ता समितिमा भागबण्डा खोज्दै आफूहरूलाई पद दिनुपर्ने माग राखेर वडा कार्यालयमा नेकपा तुलसीपुर वडा नम्बर १३ कमिटीका अध्यक्ष होमबहादुर नेपालीसहितको टोलीले तालाबन्दी गरेको वडा अध्यक्ष डम्बरबहादुर न्यौपानेले जानकारी दिए ।
‘वडामा तालाबन्दी गरिएको छ, वडाबाट हुने सम्पूर्ण कामकाज ठप्प भएका छन् उनले भने– ‘मलाई पनि कार्यालयमै बन्द गर्न खोजिएको थियो तर म निस्कन सफल भएको छु ।’ वडा कार्यालयमा तालाबन्दी भएपछि आइतबार वडा कार्यालयबाट प्रवाह हुने सेवा ठप्प भयो । वडा कार्यालयमा तालबन्दी भएपछि सेवाग्राहीले सास्ती पाएका छन् ।
वडा कार्यालय तालाबन्दी भएपछि आइतबार दिनभर सेवाग्राही आउँदै फर्किदै गएका छन् । ‘नागरिकताको सिफारिस लिन आएको थिएँ, तर वडा कार्यालय तालाबन्दी भएको रहेछ, सेवाग्राही शेरबहादुर रोकाले भने– ‘तालाबन्दी भएपछि हामीहरू मर्कामा प¥यौँ ।’
वडा अध्यक्ष न्यौपानेका अनुसार उक्त सडक निर्माणका लागि ४० लाख बजेट बिनियोजन गरिएको छ । वडामा बिनियोजित बजेटले राप्ती राजमार्गदेखि शान्ति टोलसम्म हुने भएकाले उहाँहरूलाई उपभोक्ता समितिमा समेट्न नसकेको उनले बताए ।
उपभोक्ता समितिमा स्थानियलाई समेटेको छु, सडक निर्माण हुने ठाउँभन्दा टाढाका स्थानीय हुनुहुन्छ उहाँहरू’ उनले भने– ‘तालाबन्दी गर्नेहरूले वडामा केही क्षति हुनगयो भने सम्पूर्ण क्षति व्यहोर्नुपर्छ ।’ तालाबन्दी गर्ने होमबहादुर नेपालीले भने आफूहरूसँग कुनै सहकार्य नगरिकन उपभोक्ता समिति गठन गरेको आरोप लगाएका छन् ।
नेकपामा फुलवारीका नेता मोहन पौडेलले वडा अध्यक्षको मनपरिका विरूद्धमा तालाबन्दी गरिएको बताए । उक्त योजना नगरले बनाउन नदिएको भन्दै वडा कार्यालयल गत वर्ष विरोध गरेर धारणा सार्वजनिक गरे पनि योजना निर्माण गर्ने सहमति भएको थियो । जुन फाइल अहिले पनि नगरमा रहेको छ । तर कामको सम्झौता भने हुनसकेको छैन । नेकपाले समितिमा भागबण्डा खोजेको उजुरी नगरमा पुगेपछि फाइल रोकिएको वडा अध्यक्ष न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *