वडा कार्यालयको जानकारी लिदै गाउँपालिका

फिचर मुख्य खबर समाज

सल्यान, १२ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकाले वडा कार्यालयहरूको अवस्थाका बारेमा जानकारी लिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीसहितको टोलीले वडा कार्यालयहरूको स्थलगत भ्रमण गरेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिन सुरू गरेको हो । उक्त क्रममा वडा अध्यक्ष तथा वडा सचिवले भवन अभाव, फर्निचर, कम्प्युटर, प्रिन्टरजस्ता सामग्रीको समस्या देखाएको भण्डारीले जनाए ।
बुधबार ५ नम्बर र ६ नम्बर वडा कार्यालयको अवलोकन गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिइएको उनले बताए । ५ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा अध्यक्ष यम कुमार बस्नेत, योजना शाखा प्रमुख राजेन्द्र डाँगी, जिन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेनसहित प्रमुख प्रशासकीय अधिकृतले कसरी वडा कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेको थिए ।
यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीले भौतिक संरचना अभावका कारण सेवा प्रवाहमा कठिनाई भइरहेको जनाउँदै यस वर्ष वडा कार्यालयको भवन निर्माणको तयारी थालिएको बताए ।
गाउँपालिकाबाट वडा कार्यालय भवन निर्माणका लागि ४० लाख रूपैयाँ विनियोजन भएको बुढाथोकीले जानकारी दिए । कर्मचारी, जनप्रतिनिधि सबै एउटै कोठामा बसेर सेवा दिनुपर्दा समस्या हुने गरेको वडा कार्यालयहरूले जनाउने गरेका छन् ।
तत्कालका लागि सानातिना समस्या समाधान गर्ने हिसावले आफूहरू वडाहरूको अवस्था बुझ्न निस्किएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । बुधबार दुई वडा वडा कार्यालयमा पुगेको जनाउँदै उनले बाँकी चारवटा वडाहरूमा पनि पुगेर त्यहाँको समस्या समाधानको प्रयास गरिने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *