घोराही, ११ बैशाख । असुरक्षित महशुस भएको भन्दै दाङमा ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रशासनमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अवैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको समयमा असुरक्षित भएको भन्दै ९ जनाले लाईसेन्स प्राप्त हतियार प्रहरीमा बुझाएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका–१३ फुलवारी क्षेत्रका ९ जना व्यक्तिहरुले वैधानिक हतियार बुझाएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । विप्लव समूहको नेकपाको गतिविधिलाई मध्यनजर गर्दै सरकारले अवैध हतियारहरु प्रहरीमा बुझाउन ३५ दिने सूचना जारी गरेको थियो ।
विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाएसँगै आफ्नै हतियारका कारणले असुरक्षित भएको महशुस भएको भन्दै ९ जनाले भरुवा बन्दुक बुझाएको एसपी पाण्डेको भनाइ छ । ३५ दिनमा अन्य ४ थान अवैध हतियार संकलन भएको प्रहरीको भनाई छ ।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ का विभिन्न गाउँबाट ४ नाल हतियार संकलन भएको एसपी पाण्डेले जानकारी दिए । अपेक्षा गरिए अनुसार हातहतियारहरु संकलन नभएको र अब फेला परे कानुन बमोजिम कारवाही हुने उनले बताए ।