लमहीलाई प्लाष्टिकमुक्त बनाउन छलफल

मुख्य खबर समाज

देउखुरी, ७ असार । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लमही बजारभित्रका टोल विकास संस्थाका पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नगरपालिकाभित्र प्लाष्टिकका झोला, प्लाष्टिकबाट निर्मित अन्य भाडाहरुको प्रयोगले वातावरण प्रदूषण भएको भन्दै प्लाष्टिकका सामाग्रीको विकल्पमा के गर्न सकिन्छ ? भन्ने बारेमा सरोकारवालासँग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रियामा सहभागी भएका विभिन्न संघसंस्थाका अगुवाहरुले दुना टपरीलाई प्रोत्साहन गरेर बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । लमही नगरपालिकाले शुरुमा नगरपालिकालाई प्लाष्टिकमुक्त नगर बनाउने घोषणा गरे पनि उक्त घोषणा बोलीमै सीमित भएको थियो ।
नगरपालिकाले खासगरी बजार क्षेत्रमा प्लाष्टिकका झोलाहरु, प्लाष्टिकबाट बनेको चिया कप, प्लेटहरु बिक्री वितरण नगर्न ब्यवसायीहरुलाई आग्रह गरेको थियो । तर नगरपालिकाले गरेको आग्रहलाई अटेर गरेर ब्यवसायीहरुले बिक्री वितरण गर्दै आएका छन् ।
लमही नगरपालिकालाई सफा, स्वच्छ र सुन्दर बनाउने दायित्व हामी सबैको पनि हो भन्ने ठानेर लमही खानेपानी संस्थाले समन्वय गरेर यहाँका बुद्घिजीवि, स्थानीय तहका प्रमुख, टोल विकास संस्थाका अगुवालाई बोलाएर अन्तरक्रिया गरेको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डीराम चौधरीले बताए ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले नगरभित्रको सरसफाईमा ध्यान दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
नगरका ग्रामीण बस्तीभन्दा बजार क्षेत्र अत्याधिक फोहोर हुने गरेकोले आफूहरुको ध्यान पनि बजारलाई कसरी सफा राख्न सकिन्छ भन्नेमा रहेको बताए ।
यस्तै डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख शंकरप्रसाद गुप्ताले प्रयोगपछि फालिएका प्लाष्टिक जहाँतही फालिने र धेरैजसो उपभोक्ताले जलाउने गर्दा त्यो झनै खतरनाक हुने बताए ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी,
वडा नम्बर ५ का सदस्य जगनारायण चौधरी, रेडियो हाइवेका प्रबन्धक केपी घिमिरे, पत्रकार चुमा आचार्य, राधेश्याम गुप्ता, दशरथ घिमिरे, सामाजिक अभियान्ता जया रावललगायतले बोलेका थिए ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष लिला शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सनम कुमार पौडेलले गरेका थिए । डिभिजन वन कार्यालय देउखुरीको सहयोगमा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *