देउखुरी, ११ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले पूर्व पश्चिम राजमार्गअन्तर्गत देउखुरीमा रहेका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरेको छ ।
अनुगमन टोलीले लमहीको विएनवी होटललाई सन्तोषजनक र भुसाल गेष्ट हाउस प्रालिलाई उत्तम वर्गमा पारेको छ । होटलहरुको वर्गीकरण गरेर उपभोक्तालाई ढुक्कको अनुभूति गराउने खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जाराले बताए । वर्गीकरणका लागि बुधबार टोलीले लमही बजार क्षेत्रका होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको हो ।
स्तरीकरणमा ९० भन्दामाथि अंक प्राप्त गर्ने होटलले तीन तारा सहित अतिउत्तम लेखिएको हरियो स्टिकर प्राप्त गर्ने, ८० भन्दा माथि ८९ सम्म ल्याउने होटललाई दुई तारासहित उत्तम लेखिएको हरियो स्टिकर प्रदान गर्ने गरिएको प्मुख बन्जाराले जानकारी दिए । उनले ६५ देखि ७९ सम्म नम्बर ल्याउने होटललाई एक तारासहित सन्तोषजनक लेखिएको हरियो स्टिकर, ५० देखि ६४ सम्म नम्बर ल्याउने होटललाई सामान्य लेखिएको पहेंलो स्टिकर टाँस गरिने बताए ।
होटलको वर्गीकरणका लागि आएको टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुखसहित स्थानीय खाद्य स्वच्छता समूहका अध्यक्ष हिमन्तप्रसाद पाण्डे, सदस्य नारायणप्रसाद भुसाल, ईलाका प्रशासन कार्यालय लमहीका प्रतिनिधि वामदेव गिरी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा, लमही नगरपालिका स्वास्थ्य शाखा संयोजक विना केसीलगायतको सहभागीता रहेकोे थियो ।