रोल्पामा सिसी क्यामरा जडान

मुख्य खबर समाज

रोल्पा, २१ साउन । सदरमुकाम लिबाङ बजारमा अब सिसी क्यामराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामरा जडान गरिएको हो । बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोल रुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।
रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बंैक र लेखापढी कानून व्यवसायी एसोसिएसनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा दशवटा सिसी क्यामरा जडान गरिएको छ । ती क्यामेरामध्ये चारवटा चारैतिर घुम्ने र छवटा एकैतिर रहने खालका छन् । टुँडिखेल क्षेत्रमा तीनवटा, जनता बैंक अगाडि, लोकतान्त्रिक चोकमा, बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एकवटा क्यामरा रहेका छन् ।
जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । ती क्यामराका लागि उक्त नगरपालिकाबाट सात लाख रुपैयाँ र अन्य निकायबाट ११ लाख ६३ हजार रुपैयाँ व्यहोरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *