तुलसीपुर, १९ साउन ।
रोट्रयाक्ट क्लव अफ तुलसीपुरको आयोजनामा विजौरीस्थित असहाय बाल विकास नेपालका बालबालिकाहरूलाई शनिबार शैक्षिक सामाग्री वितरण गरिएको छ । क्लवका अध्यक्ष रुपेश शर्माको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा १५ जना असहाय बालबालिकाहरुलाई स्कुल ब्याग, कापी, कलमलगायत फलफुलसमेत वितरण गरिएको हो । कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफूहरु सदैव निस्वार्थ रुपमा समाज सेवामा लागिपरेको बताए । उनले रोटरी क्लवले साना तथा ठूला कार्यक्रममार्फत समाजमा पछाडि परेका समुदायको हितमा टेवा पुग्ने गरी नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष खुसल तर्ताल, रेडियो सञ्जिवनी एफएमका सचिव देवबहादुर केसी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, रोट्रयाक्ट क्लवका संस्थापक अध्यक्ष विनिल केसी, पूर्व अध्यक्षहरु देवेन्द्र केसी, सन्दिपन रिजाल, संस्थाकी कोषाध्यक्ष सीमा वलीलगायतले असहाय बालबालिकाको शैक्षिक व्यवस्थापन तथा राम्रोसँग हेरचाह गर्न स्थानीय तहहरुले नीतिगत रुपमा सहयोग गर्न आवश्यक रहेको बताए । टर्कीस्थित रोट्रयाक्ट क्लव अफ ट्रयायजोन र तुलसीपुरस्थित रोट्रयाक्ट क्लवको समन्वयमा एकैसाथ दुबै देशका असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको पूर्व अध्यक्ष सचिन पौडेलले जानकारी दिए । कार्यक्रममा विभिन्न जिल्लाबाट विजौरीस्थित असहाय केन्द्रमा बस्दै आएका केही बालबालिकालाई स्वास्थ्यमा समस्यासमेत देखापरेको हुँदा पाल्पाली मेडिकलमा उपचारका लागि निःशुल्क रुपमा ब्यवस्थापन गरिएको छ । कार्यक्रमको सञ्चालन महासचिव कमल डाँगीले गरेका थिए ।