रोगमा सबै सजक बनौ 

फिचर समाज संवाद

मौसमी बिरामीहरुको कस्तो छ ?

मौसम परिवर्तन हुँदै जाँदा बिरामीहरु बढ्नु स्वभाविक नै हो । पछिल्लो समय दैनिक दुईसयको हाराहारीमा मौसमी बिरामीहरु चेकजाँच तथा उपचार गराउन आउने गरेका छन् । अरु समयभन्दा यो समयमा विशेषगरी बिरामीहरुको भिडभाड जुनसुकै अस्पतालमा पनि लाग्ने गर्दछ । बढी मात्रामा भाईरल ज्वरोका बिरामीहरुलाई हामीले उपचार गरिरहेका छौँ ।

अस्पतालमा कस्ता–कस्ता समस्या भएका बिरामीहरु आउने गरेका छन् ?

अहिले विशेषगरी भाइरल ज्वरो, जण्डिस, रुघाखोकी, श्वासप्रस्वासको समस्या भएका बिरामीहरु धेरै आउने गरेका छन् । उच्च ज्वरो आउने, जिउ दुख्ने, शरीर कमजोर हुने, निरन्तर खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेलगायत विभिन्न समस्या लिएर आउने बिरामीहरुलाई हामीले सोहि अनुसार चेकजाँच गरी औषधी दिएर पठाउने गरेका छौँ  । त्यस्तै पछिल्लो समय भिटामिन ‘ई’ को कमी भएका बिरामीहरु पनि आउने गरेका छन् ।

मौसमी  बिरामीमा कस्ता–कस्ता लक्षण देखापर्छन् ?

मौसमी रोगले बिरामी पर्दा सुरुमा ज्वरो आउने गर्दछ । त्यसपछि विस्तारै रुघा लाग्ने, खोकी लाग्ने, शरीर कमजोर हुने, घाँटी दुख्नेलगायतका लक्षणहरु देखिन्छन् । यस्तो बेलामा सकेसम्म तातो पानी प्रशस्त मात्रामा पिउनुपर्छ । त्यसैगरी झोलिलो खानेकुराहरु प्रशस्त मात्रामा खानुपर्छ । साथ–साथै अस्पतालमा उपचार गराउन पनि जानुपर्छ ।

पछिल्लो समय डेंगु र स्क्रव टाइफसको संक्रमण पनि बढ्दै गएको छ नि ?

हो, अहिले विभिन्न जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । तुलसीपुरमा पनि डेंगु संक्रमण बिरामीहरु उपचाररत छन्  । डेंगुका बिरामीहरु बढिरहँदा सबैजनामा डेंगु खतरनाक रोग हो भन्ने मानसिकता छ तर त्यो भन्दा बढी स्क्रव टाइफस् भयावह अवस्थामा छ ।
डेंगु लामखुट्टेबाट लाग्ने रोग हो भने स्क्रव एक प्रकारको किर्नाबाट सर्ने रोग हो । दुबै रोग उस्तै–उस्तै हुन्, तर स्क्रवको संक्रमणले छालामा समस्या देखाउने गर्दछ भने डेंगुले कलेजोमा समस्या देखाउने गर्दछ ।
चेकजाँचको क्रममा हामीले स्क्रवका बिरामी भेटाएका छैनौ तर चारजना व्यक्तिहरुमा डेँगुको संक्रमण भेटेका छौँ । उनीहरुको उपचार भईरहेको छ । विशेष सावधानी अपनाउन सकिएन भने यि दुबै रोगहरुले ठूलो रुप लिन्छन् र ज्यानसमेत जानसक्ने सम्भावना हुन्छ । यसर्थ समयमै सुरक्षा सावधानी अपनाउन अत्यावश्यक छ ।

यसको उपचार सम्भव छ की छैन ?

समयमै स्वास्थ्य उपचार गर्न सकियो भने उपचार हुन्छ । यी रोगले संक्रमण गरेका मानिसलाई धेरै ज्वरो आउने, काम ज्वरोसमेत आउन सक्छ ।
टाउको धेरै दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले टोकेको ठाउँ रातो डाबरजस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नुलगायतका लक्षणहरु देखिन्छन् ।
यस्ता लक्षण देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गराउनु पर्दछ । तर हाम्रो समाजमा ज्वरो आउँदा सिटामोल खाने बानीका कारणले पनि सामान्य रोगहरुले ठूलो रुप लिँदै जान्छन्  ।
हुन त हामीले पनि सामान्य डोजका औषधी दिएर बिरामीहरु उपचार गर्ने हो । तर औषधीले मात्र हुँदैन प्रशस्त मात्रामा फलफुल, उमालेका पानी, झोलिलो खानेकुरा खायो भने मात्र रोग निको हुन्छ ।
आफ्नै तरिकाले स्वास्थ्य निको बनाउँछु भन्नेहरुका लागि हामीले केही भन्न सक्दैनौँ । लक्षण अनुसार समयमै स्वास्थ्य उपचार गराएमा यी दुबै रोगको उपचार सम्भव छ ।

यस्ता विभिन्न प्रकारका रोगबाट बच्नका लागि के–कस्तो सावधानी अपनाउन सकिन्छ ?

यस्ता रोगहरुबाट बच्नका लागि सर्वप्रथम व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक छ । त्यसैगरी घर वरपरको वातावरण स्वच्छ र सफा बनाउनु पर्दछ । कतिपय अवस्थामा वातावरणीय सरफाई हुँदाहुँदै पनि रोगले आक्रमण गर्दछ ।
त्यसका लागि ज्वरो आउँदैमा नकारात्मक औषधी प्रयोग गर्नुभएन । राम्रोसँग उमालेको पानी पिउने गर्नुपर्छ । घरभन्दा बाहिर बनेका खानेकुरा खानु भएन । सकेसम्म आफूलाई आवश्यक पर्ने पानी र खानेकुरा झोलामा बोेकेर हिड्ने गर्नुपर्छ । ताजा खानेकुरा तथा फलफुल खानुपर्छ ।
घरबाट बाहिर निस्किदा छाताको प्रयोग गर्नुपर्दछ । त्यसैगरी लोसन लगाउने, माक्सको प्रयोग गर्ने, पूरै शरीर छोप्ने लुगाहरु लगाउने, शरीर सुख्खा बनाएर राख्ने, साबुनको प्रयोग कम गर्ने ग¥यो भने छालाजन्य समस्याहरुबाट पनि बच्न सकिन्छ ।
साथै नियमित स्वास्थ्य चेकजाँच गराउनु पर्दछ । त्यस्तै लामखुट्टेको टोकाईले लाग्ने रोगहरुबाट बच्नका लागि घर वरपरको ठाउँ सफा राख्नुप¥यो । खानेकुरा चिल्लो र मसला मिसाएको खानु भएन । यस्ता विभिन्न कुराहरुमा ध्यान दिने हो भने मौसमी रोग र अन्य रोगहरुबाट पनि आफूलाई बचाउन सकिन्छ ।

विशेषगरी बालबालिका र बृद्धबृद्धाहरु धेरै बिरामी पर्नुको कारण के हो ?

पक्कै पनि हामीले उपचार गर्ने बिरामीहरुमा आधाभन्दा धेरै बालबालिका हुन्छन् । त्यसपछि बृद्धबृद्धा अनि वयस्क । बालबालिकाहरुमा युनिटी पावर पूर्णरुपमा विकास भएको हुँदैन । त्यस्तै बृद्धबृद्धाहरुमा युनिटी पावर कम हुँदै जाने हुँदा उनीहरु बढी मात्रामा बिरामी पर्ने गर्दछन् ।
बच्चाहरुको स्वास्थ्यमा थोरै समस्या देखिदा साथ अस्पताल ल्याइन्छ  । तर बृद्धबृद्धाहरु भने रोगले ग्रस्त भएपछि स्वास्थ्य उपचार गर्न खोज्छन् । त्यो एकदमै नराम्रो हो । हामीलाई रोगले ग्रस्त बनाएपछि मात्र उपचार औषधी खाने, चेकजाँच गराउने होइन । स्वास्थ्य राम्रो हुँदाहुँदै पनि नियमित स्वास्थ्य चेकजाँच गराउने गर्नुपर्दछ ।
त्यस्तै बालबच्चालाई फकाउने बहाना बजारमा पाइने चाउचाउ, बिस्कुट, चिजवल, बोत्तलमा राखेका जुस तथा फ्रुटीजस्ता खानेकुराहरु दिने बानीका कारण धेरैका सन्तान कमजोर र रोगी हुने गरेका छन् । यसका लागि अभिभावकले विशेष सावधानी अपनाउनुपर्छ ।

उपचार गराउन आउने बिरामीहरुलाई कसरी सेवा प्रदान गर्नुभएको छ ?

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सेवा दिनु प्रमुख दायित्व हो । त्यो मेरो, यो उसको भनेर हामीले बिरामी चेकजाँच गर्दैनौ । सबैलाई सम्मानजनक तरिकाले स्वास्थ्य सेवा दिँदै आएका छौँ ।
कतिपय बिरामीहरु चेकजाँच गराउनसमेत नमान्ने हुन्छन् । त्यस्ता बिरामीहरुलाई हामीले सकारात्मक उत्प्रेरणा दिएर उनीहरुको स्वास्थ्य चेकजाँच गराईदिने गरेका छौँ ।
कोही आर्थिक अभावकै कारण उपचार गर्न मान्दैनन् भने उनीहरुलाई पनि हामीले उपचारमा पछि पारेका छैनौ । बरु दिनभर अस्पतालको बेडमा राखेर फलफुल, आवश्यक पर्ने औषधीको व्यवस्थापन गर्नुको साथै १२ घण्टा चिकित्सकको निगरानीमा राखेर घर पठाउने र पुनः परामर्श र चेकजाँचका लागि बोलाउने गरेका छौँ ।
बिरामीहरुलाई कस्तो रोग लागेको छ सोहि अनुसारको परामर्श, सल्लाह, सुझाव र सुरक्षा सावधानीका विषयमा जानकारी दिदै स्वास्थ्य चेकजाँच तथा उपचार गराउने गरेका छौँ ।

कुन–कुन सेवा उपलव्ध छ ?

अहिले अस्पतालमा ओपिडी सेवामार्फत बिरामीहरुको स्वास्थ्य चेकजाँच भइरहेको छ । त्यसैगरी रक्त परिक्षण र पिसाव परिक्षणका लागि प्रयोगशाला सेवा उपलव्ध छ । त्यसैगरी एक्सरे, भिडियो एक्सरे, फार्मेसी सेवा पनि उपलब्ध छ । साथै विविध कारणले उपचार गराउन नमान्नेहरुका लागि निःशुल्क परामर्श तथा अस्पतालमै राखेर निःशुल्क हेरचाह र आवश्यकता अनुसारको एन्टीवाईटिक औषधी उपलव्ध गराउँदै आएका छौँ ।

अन्त्यमा केही ?

हामी आफ्नो स्वास्थ्यमा आउने जुनसुकै समस्यालाई सानो भनेर बेवास्ता गर्ने बानीको अन्त्य गर्नुपर्छ । बिरामी हुनै नदिनका लागि आफ्नो र आफ्नो घर वरपरको वातावरण सधंै सफा राख्नुपर्छ ।
खानेकुरा बाहिरबाट ल्याएर नभई घरमै बनाएर खाने गर्नुपर्छ । सकेसम्म नियमित उमालेको पानी पिउने गर्नुपर्छ । ताजा तथा प्रशस्त भिटामीनयुक्त खानेकुरा खानुपर्छ ।
त्यसैगरी बिरामी भएको समयमा प्रशस्त मात्रामा रसिलो खानेकुरा खानुपर्छ । आराम गर्नुपर्छ । आफ्नो शरीरमा जति धेरै तरल पदार्थ भयो त्यत्ति नै शरीर फूर्तिलो र निरोगी हुने गर्दछ ।
चेकजाँच तथा चिकित्सकको परामर्शविना कुनैपनि औषधीको प्रयोग गर्नुहुँदैन । यस्ता विभिन्न सावधानी अपनाउन सकेमा रोग लाग्नबाट बच्न सकिन्छ । साथै सामान्य रोगबाट ग्रसित बन्नुपर्दैन भन्ने सुझाव दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *