रोकिएन सडक अतिक्रमण

फिचर मुख्य खबर

तुलसीपुर, २१ जेठ । साँघुरा सडकका गल्लीमा कतै लुगा चप्पल फिजाईएका छन्, कतै भाडावर्तन त कतै अन्य सामाग्रीहरु, सर्वसाधारणहरु पसलेले फिजारेर राखेका सामान पन्छ्याउँदै दैनिक आवतजावत गर्ने गरेको दृष्य तुलसीपुर बजारका विभिन्न स्थानमा देखिने गर्दछ ।
त्यसैमाथि गाडी मोटरको चाप अनि मानिसहरुको भिडमा लट्पटाउँदै हिड्ने आम सर्वसाधारणको यो दृष्य केही समययता तुलसीपुरमा सडकमा पुनः देखिन थालेको हो ।
तुलसीपुर बजार क्षेत्रलाई व्यवस्थित गराउनका लागि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न समिति तथा उपसमिति समेत गठन गरेको छ । तर नगर व्यवस्थापनमा उपमहानगरलाई हम्मे–हम्मे परेको छ ।
नगर व्यापारीहरुको मनोमानीका कारण केही समय रोकिएको सडक अतिक्रमण पुनः बढ्दै जाँदा सर्वसाधारणहरु सडक दुर्घटनाको उच्च जोखिममा पर्ने गरेका छन् ।
तुलसीपुर बजार क्षेत्रभित्र रहेका वीरेन्द्र चोक, विपी चोक तथा नयाँ बसपार्क वरपरका सडकपेटी अतिक्रमण गरेर ब्यापार, व्यवसाय गर्नेहरु प्रशस्तै मात्रामा रहेका छन् ।
उपमहानगरले सडकपेटी मिचेर व्यापार, व्यवसाय गर्न नपाउने भन्दै सूचित गरेको भएपनि त्यसलाई नगर व्यवसायीहरुले वेवास्ता गर्ने गरेका छन् ।
आम सर्वसाधारणलाई हिँडडुल गर्नका लागि बनाईएका उक्त संरचनाहरुलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गर्नेहरुकै कारण बारम्बार झगडा र कोलाहल हुन गरेको प्रहरी सहायक निरीक्षक भरतनाथ योगीको भनाई छ ।
उपमहानरपालिकाले समय–समयमा आएर सडककमै राखिएका तरकारी, फलफुल एवं खुला व्यवसायलाई नियन्त्रण गर्दै आएको भएपनि यसको समाधान हुन नसकेको उनी बताउँछन् ।
प्रभावकारी रुपमा उपमहानगर सक्रिय नहुँदा उपमहानगरलाई छल्दै सडक अतिक्रमण गरी व्यापारीहरु आफ्नो व्यापार, व्यवसाय गरिरहेको बताउँदै उनले भने ‘हामीले पनि बारम्बार यिनीहरुलाई रोकिरहेका छौँ, नरोक्ने हो भने त गाडी गुड्ने सडकसम्म लस्करै व्यापार फिजाउँछन् ।

नगर व्यापारीहरुको मनोमानीका कारण केही समय रोकिएको सडक अतिक्रमण पुनः बढ्दै जाँदा सर्वसाधारणहरु सडक दुर्घटनाको उच्च जोखिममा पर्ने गरेका छन् । प्रभावकारी रुपमा उपमहानगर सक्रिय नहुँदा उपमहानगरलाई छल्दै सडक अतिक्रमण गरी व्यापारीहरु आफ्नो व्यापार, व्यवसाय गरिरहेका छन् ।

यस्तै बजार क्षेत्रलाई सुरक्षित बनाउनकै लागि बनाईएको नियम तथा निर्णयलाई बेवास्ता गर्दा व्यवसायीहरुले अटेरी गर्दै गएको स्थानीय सर्वसाधारण लक्ष्मण साहु बताउँछन् ।
कहिलेकाहिँ उपमहानगरले गाडी लिएर आएको थाहा पाए सामानका पोका बनाउँदै लुक्ने गर्छन्, गाडी गयो भने पुनः सडककै किनारमा बसेर व्यापार फिँजाउछन्, उनले भने ‘स्थानीय प्रशासन र स्थानीय निकायसँग समेत नडराउनेहरु हामीलाई कहाँ पत्याउँछन ?
जसका कारण बाटोमा हिडडूल गर्ने सर्वसाधारण, विद्यार्थी बालबालिका, महिला तथा वृद्धवृद्धाहरुलाई समस्या निम्तिएको उनको भनाई छ  ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले भने दक्ष जनशक्तिको अभावले सडकलाई व्यवस्थित गर्न निकै समस्या भएको बताएको छ ।
कार्यपालिका बैठक बसेर बजारलाई व्यवस्थित गराउनका लागि विभिन्न समिति तथा उपसमिति बनाईएको भए पनि अहिले त्यसलाई कार्यान्वयनमा ल्याउन निकै कठिनाई भएको तुलसीपर उपमहानगरपालिका स्तरीय बजार तथा सरसफाई व्यवस्थापनका नासु खेमकान्त पाण्डेको भनाई छ ।
‘हामी लाग्न त लागि राख्या छौँ तर पनि काम गर्न एकदमै गाह्रो परेको छ,उनले भने अब जनशक्ति नभएपछि कसरी सकियोस् र ? दुईवटा नगर प्रहरीको भरमा सम्पूर्ण बजारक्षेत्रको अुनगमन तथा निगरानी गर्ने समय नपुग्ने भएकाले सडक अतिक्रमणमा रोक लगाउन समस्या परिरहेको उनले बताए ।
अहिले फोहोर फाल्ने स्विपरहरु लगाएर ठेला तथा सडकमा फिजारिएका सामानहरु उठाएर थन्काएका छौँ, उनले भने ‘तर चार घण्टापछि जाने हो भने फेरी त्यस्तै जात्रा देखिन्छ ।
उनले निर्णयलाई सबैले सम्माजनक तरिकाले पालना गर्नुपर्ने भएपनि कुनै वास्ता नहुने गरेको दुखेसो पोखे । नीति तथा योजना निर्माण गर्नु कुनै गलत कार्य नभएको बताउँदै पाण्डेले यसमा नगर व्यवसायीहरुले समेत साथ सहयोग गर्न अनुरोधसमेत गरे ।
नगर व्यवसायीमा सहयोगको भावना नहुँदा सम्वन्धित निकायको आँखा छली सडकपेटी अतिक्रमण गर्ने गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *