रेडियो शारदा ११ वर्षमा

मुख्य खबर समाज

सल्यान, १३ फागुन । सल्यानको रेडियो शारदा एफएमले १० बर्ष पार गरी ११ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा रडियोले खलंगामा दशौँ वार्षिकोत्सव समारोह कार्यक्रम गरेको छ । २०६५ फागुन १२ गतेदेखि प्रसारण प्रारम्भ गरेको रेडियो शारदा एफएम ९९.२ मेगाहर्जले अन्तरक्रिया कार्यक्रममार्फत वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियोले समाज रुपान्तरणमा महङ्खवपूर्ण भूमिका खेल्नुका साथै देश संघीयतामा गएकोले रेडियोले पनि त्यही अनुसारको कार्यक्रमहरु उत्पादन गर्नुपर्नेमा केहीले जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले समय अनुसारको रेडियोले कार्यक्रम उत्पादन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहलाई घच्घच्याउन र त्यहाँ हुने नराम्रा कुराहरु बाहिर ल्याउन पत्रकारहरुको भूमिका हुनुपर्ने बताएका छन् । जनतालाई सभ्य र परिवर्तनशील बनाउन त्यही किसिमका कार्यक्रमहरु उत्पादन गर्नुपर्ने उनले बताए । जनचेतनामूलक कार्यक्रमको लागि सामुदायिक रेडियोलाई विज्ञापन उत्पादनमा स्थानीय तहले सहयोग पनि गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले सामुदायिक रेडियोहरु जागरुक भएर लाग्नुपर्ने बताए । रेडियोले सचेतनामूलक, आममानिसलाई सुसूचित गर्नको लागि जनसेचनामूलक कार्यक्रमहरु उत्पादन हुनुपर्ने बताए । उनले सामुदायिक रेडियोहरुलाई आफ्नो तर्फबाट सक्ने जति सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले पछिल्लो समयमा पत्रकारले जिल्लामा भएका विकास निकासको कामको गति, कामको गुणस्तरका बारेमा बोल्नुपर्ने बताए ।
सामुदायिक रेडियोमा काम गर्ने जो कोहीले पत्रकारले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई मजबुत बनाउनका लागि सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताए । रेडियोका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक इच्छुक शर्माले सल्यानको पत्रकारिता स्वच्छ मर्यादामा रहेकोले सल्यानका पत्रकारलाई कसैले औंला उठाउन नसक्ने बताए । उनले अहिलेसम्म पत्रकारले आचारसंहिता र आफ्नो धर्म अनुसार काम गरेको भन्दै कुनै पनि स्थानीय तहले पत्रकारलाई किन्न नहुने बताए । आगामी दिनमा पनि पत्रकारले जनपक्षीय पत्रकारिता गर्ने भन्दै उनले बढ्दो भ्रष्टाचारी र बेतिथिलाई पनि पत्रकारले बाहिर ल्याउन अहम् भूमिका खेल्ने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछाने, जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीलगायत पत्रकारहरु सहभागिता रहेको थियो । रेडियो सञ्चालक संस्थाका सचिव दिपक शर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तथा रेडियोका स्टेशन म्यानेजर प्रतिक इच्छुक शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *