रुकुमेली समाजको साधारणसभा

मुख्य खबर समाज

रुकुम (पश्चिम), ८ असोज । रुकुमेली समाज विकास केन्द्र रुकुमको १४औँ वार्षिक साधारणसभा भएको छ । रुकुमेली समाज विकास केन्द्र रुकुमले रुकुम पश्चिम, रुकुम पूर्व र दाङ गरी विभिन्न सातवटा परियोजना सञ्चालन गर्दै आएको छ ।
एकीकृत परियोजना, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना, पहाडी साना किसानका लागि अनुकूलन आयोजना, आर्थिक, भौतिक, साँस्कृतिक तथा लैङ्गीक समावेशी सशक्तिकरणजस्ता कार्यक्रमहरु संस्थाले सञ्चालन गर्दै आइरहेको रुकुमेली समाज विकास केन्द्र रुकुमका कार्यकारी निर्देशक नरेन्द्र केसीले जानकारी दिएका छन् ।
रुकुमेली समाज विकास केन्द्र रुकुमले सञ्चालन गरेको कार्यक्रमबाट महिला र पुरुष गरी ५२ हजार ७ सय ९४ र २३ हजार ४ सय ७४ घरधुरी लाभाम्वित भएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।
विभिन्न परियोजनाको कुल बजेट खर्च ६ करोड ८९ लाख २४ हजार १ सय २१ रुपैयाँ खर्च भएको र ९ लाख ८८ हजार २ सय ७९ रुपैयाँ २८ पैसा मौज्दात रहेको सोही संस्थाका कोषाध्यक्ष रमा गौतमले जानकारी दिइन् ।
साधारणसभामा बोल्दै मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले संस्थागत विकास गर्न सबै लाग्नुपर्ने बताए । स्थानीयस्तरमा विभिन्न संघसंस्थाले गरेको कार्यबाट मानिसहरुको जीवनस्तर माथि उठाउनमा अहम् भूमिका खेलेको भन्दै अझै व्यवस्थित गर्न स्थानीय सरकारसँग हातेमालो र सहकार्य गरेर अघि बढ्नुपर्ने समेत उपप्रमुख सुनारले बताइन् ।
यसैबीच ०७५/७६ मा उत्कृष्ट कार्य गरेका ६ जना कर्मचारीहरुलाई संस्थाले सम्मान गरेको छ । सम्मानमा सुआहाराका फिल्ड सुपरभाइजर राधामल्ल, दिपक केसी, सामुदायिक पोषण सहजकर्ता रीता देवकोटा, यमुना पुन, पहाडी साना किसानका लागि अनुकूलन आयोजनाका सामाजिक परिचालक जालमाया बुढामगर र तेजबहादुर वलीलाई सम्मान गरिएको छ ।
१४औँ वार्षिक साधारणसभामा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नर बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक नरेन्द्र केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *