रिसिलिङ र अक्सपालको छानबीन गर्न समिति

मुख्य खबर

घोराही, २२ असार । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा भएका सडक मर्मत र कालोपत्रेको काम गुणस्तरहीन भएको भन्ने व्यापक गुनासो आएपछि छानबीनका लागि समिति गठन गरेको छ ।
नगरको आइतबार बसेको कार्यपालिका बैठकले नगरका प्रवक्ता भरतमणि अर्यालको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको हो ।
समितिमा वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे सदस्य रहेका छन् । चालु आर्थिक वर्षमा सडक बोर्डको ७० प्रतिशत र नगरको ३० प्रतिशतको लागतमा करिब डेढ किलोमीटरमा भएको मर्मत रिसिलिङ तथा उपभोक्ताहरुको लागत सहभागितामा भएको अक्सापाल प्रविधिको कालोपत्रे गुणस्तरहीन भएको भन्ने व्यापक जनगुनासो आएपछि नगर कार्यपालिकाले छानबीन समिति गठन गरेको हो ।
कार्यबाहक नगर प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रिसिलिङ र कालोपत्रे सडकको मूल्याङ्कन तेस्रो पक्षबाट गराउने निर्णय गरेको छ । प्रदेश नम्बर ५ को पूर्वाधार कार्यालयमार्फत रिसिलिङ र अक्सपाल विधिको कालोपत्रेको नाप जाँचका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
छानबीन समितिले तेस्रो पक्षसँग समन्वय गरी सहजीकरण गर्नेछ । साथै जनताको गुनासो आएका क्षेत्रहरुमा तेस्रो पक्षका प्राविधिकहरुलाई पु¥याउने, सहयोग तथा सहजीकरण गर्ने र कार्यालयका प्राविधिक तथा निर्माणको जिम्मा लिएकाहरु ठेकेदारहरुसँग आवश्यक सोधपुछ तथा समन्वय गर्ने जिम्मेवारी पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *