रासायनिक मल र धान खेती

breaking-news फिचर विचार समाज

किसान खेतीपातीमा व्यस्त भएका छन् । किसानले खेतीपातीको समयमा मलको समस्या भोगिरहेका छन् । मलको सहज व्यवस्थापन नहुँदा किसानले भनेजति उत्पादन पाउन नसक्ने चिन्ता छ । यसवर्ष पनि मलको अभाव कायमै रहेको छ । सरकारले कृषिबाट आर्थिक समृद्धि खोजेपनि आवश्यक वस्तु समयमै उपलब्ध गराउन नसक्दा उत्पादन बढ्न सकेको छैन् । अहिले पनि कोरोनाको महामारीका कारण खाद्यान्नको संकट पर्ने अवस्था देखिरहेको समयमा सरकारले मलको आपूर्तिलाई सहज व्यवस्थापन गर्न सकिरहेको छैन् । यिनै विषयमा रहेर जिल्लाका कृषि सरोकारवालालाई टुडे राउण्ड टेबलमा ल्याएका छौं ।
प्रस्तुतिः जीतसागर जी.एम.


रासायनिक मलको माग बढी


कृषिको उर्वरभूमि दाङमा रासायनिक मलको प्रयोग हुने भनेको सबैभन्दा धेरै धानमा हो । जिल्लामा रासायनिक मलको आपूर्ति सहजरूपमा हुन नसकिरहेको अवस्था यथार्थ हो ।
गतवर्षको रूपमा यसवर्ष केही मात्रामा अलि सहज देखिए पनि सबै किसानले सहजरूपमा मल पाउन सक्नुभएको छैन् । जिल्लामा करिब ४० प्रतिशत रोपाई सकिएको अवस्थामा अधिकांश किसानले चाहिँ आफ्नो खेतमा प्रयोग गर्न पाउनुभएको छ ।
गतवर्षमा हुने मलको अभाव यसवर्ष झन् कोरोना महामारीले निम्त्याएको संकटले देश लकडाउनको अवस्था हुँदा सहजरूपमा मलको आपूर्ति हुन सकेन् तर खेतीपाती गर्ने दर भने बढेको छ ।
स्वदेश तथा विदेशबाट रोजगारी गुमाएर घर फर्केका नागरिकले बाँझो जमिनमा पनि खेती गर्न थालेपछि खेती पनि बढ्ने अनुमान गरिएको छ भने रासायनिक मलको माग पनि बढी देखिन्छ । तर गतवर्षको तुलनामा यस वर्ष मल अहिलेको समयमा बढी वितरण भइसकेको छ ।
किसानहरूले अरू मलको तुलनामा युरिया मलको बढी प्रयोग गर्नुहुन्छ । अहिले जिल्लामा युरिया नै बढी अभाव देखिन्छ । डिएपी र पोटास मलको कम प्रयोग हुने गरेको छ । यसको अभाव पनि कम नै देखिने गरेको छ ।
मलको अभावले कृषि उत्पादनमा असर त नपर्ने कुरा भएन । असर त पर्छ तर किसानले तीनवटै मलको प्रयोग गर्नुभयो भने उत्पादनलाई बढाउन सकिन्छ । वर्षेनी हुने मलको अभाव भनेको युरिया मलमा नै पर्ने गरेको छ । यसको कारण नै युरिया मल बढी प्रयोग हुने गरेको छ ।
त्यसैकारणले पनि यसको माग बढी हुने गरेको छ । किसानले कम्तिमा तीनवटै मल अनुपात मिलाएर प्रयोग गर्नुभयो भने मलको अभावलाई केही सहज बनाउन सकिन्छ ।
किसानले सहजरूपमा मल पाउन नसकेपनि अधिकांश किसानले थोरै भएपनि आफूलाई आवश्यक पर्ने मल पाउनुभएको छ । विगतका वर्षमा पनि किसानले समयमा रासायनिक मल पाउन नसकेको खबरहरू बाहिर आए तर उत्पादनमा कमि देखिएन् ।
यसको अर्थ किसानलाई मल पाउन असहज भएपनि थोरै भएपनि प्रयोग गर्नुभएको अवस्था थियो विगतमा । यसवर्ष पनि मलको अभावले कृषि उत्पादनमा केही ह्रास आउला तर धेरै मात्रामा ह्रास नआउला, आशा गरौँ ।
सहजरूपमा मलको आपूर्ति गराउनु सरकारको कर्तव्य हो । सरकारले अहिले पनि कोसिस गरिरहेको छ । कोरोना महामारीको संकटको समयमा पनि व्यवस्थापन गरिरहेको छ । मैले मल वितरण गर्ने साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडसँग सम्पर्क गरेको थिए ।
अब अहिले अभाव देखिएको युरिया मल साउनको अन्तिम सातासम्म आउने भन्ने खबर पाएको छ । कृषिबाटै आर्थिक वृद्धि लक्ष्य हासिल गर्नका लागि सरकारले समयमै मलको आपूर्ति गर्न आवश्यक हुन्छ ।
तर यसवर्ष कोरोनाभाइरसको महामारीका कारण पनि सरकारले मलको आपूर्तिलाई सहज बनाउन सकेन । सकेसम्म आगामी वर्षमा यस्ता कुरालाई पाठ सिक्दै किसानको मागबमोजिम मलको आपूर्तिलाई सहज बनाउन सकिन्छ ।


यो वर्ष केही सहज


रासायनिक मलको अभाव वर्षेनी हुने गरेको छ । यसवर्ष पनि किसानको मागबमोजिम मलको आपूर्तिलाई सहज बनाउन सकिरहेका छैनौँ । विषेशगरी असार लागिसकेपछि कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरको कार्यालयमा किसानको चाप बढिरहेको छ ।
माग धेरै आउने तर मलको आपूर्ति कम हुने गरेको छ । जसका कारण किसानले सहजरूपमा मल पाउन सकिरहेका छैनन् । तुलसीपुरमा किसानलाई मल वितरण गर्ने ९२ सहकारी छन् । ति सहकारीलाई हामीले ८ देखि १० बोरासम्म पनि मुस्किलले उपलब्ध गराउने गरेका छौँ ।
अब नदिने हो भने झन् त्यहि मल पनि किसानसम्म नपुग्ने, दिने हो भने एउटा सहकारीलाई ८÷१० बोरा भन्दा बढी दिनै सकिने अवस्था छैन् । तपाईले भनेजस्तै हाहाकार नै त हैन् । तर किसानले भनेजति मल पाउन सकिरहनुभएको छैन् यो यथार्थ हो ।
अहिले कोरोनाभाइरसका कारण गरिएको बन्दाबन्दीका कारण मलको ढुवानी पनि सहजरूपमा हुन नसक्दा झनै समस्या भएको हो । गतवर्षको भन्दा यसवर्षमा मलको आपूर्ति केही सहज हुन्छ कि भन्ने आशा गरिरहेको समयमा विश्व समुदायलाई नै आक्रान्त पारिरहेको कोरोनाले नेपाललाई पनि अछुतो राख्न सकेन् ।
जेठसम्म मलको त्यतिधेरै अभाव देखिएको थिएन् तर असार लागेपछि युरिया मलको अभाव बढी देखिएको छ । तर गतवर्षको तुलनामा यसवर्ष बढी वितरण गरेका छौँ । यसवर्ष खेतीपाती गर्नेको संख्या पनि बढेको कारण पनि हुनसक्छ ।
त्यसकारण पनि हामीले अहिलेको समयसम्म आइपुग्दा मल बढी नै वितरण भएको छ । दाङमा हामीले मात्रै मल बिक्री गर्दैनौं, साल्ट ट्रेडिङले पनि मल वितरण गर्ने गरेको छ । हाम्रै शाखाहरू पनि ३÷४ ठाउँमा छन् । तुलसीपुर शाखाले पश्चिम क्षेत्रका चार पालिकामा मल वितरण गर्ने गरेको छ । जसअन्तर्गत ९२ वटा सहकारीले मल लैजाने गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा मल वितरण गर्न पाउने कार्यक्षेत्र रहेको छ । यसवर्षको असार १२ गतेसम्मको तथ्यांक अनुसार यस क्षेत्रमा मात्रै युरिया २९०९.१०० मेट्रिक टन वितरण गरिसकेका छौँ
जुन गतवर्षको भन्दा झण्डै १ हजार मेट्रिक टन बढी वितरण भएको हो । गतवर्ष यसै समयसम्म आइपुग्दा १९०४.५०० मेट्रिक टन वितरण भएको तथ्यांक छ । यस्तै पोटास गतवर्ष १०७०.१५० मेट्रिक टन बिक्री भएकोमा यसवर्ष २५१०.७०० मेट्रिक टन वितरण भएको छ । त्यसैगरी पोटास गतवर्ष २३.६०० मेट्रिक टन बिक्री भएकोमा यसवर्ष २७ं.९०० मेट्रिक टन बिक्री भएको छ । 
यसरी तथ्यांकलाई विश्लेषण गर्दा पनि यसवर्ष बढी मल वितरण भएको छ तर यसैमा सन्तुष्ट हुने अवस्था भने होइन् । वर्षेनी मलको अभाव किन भइरहन्छ भन्ने आम प्रश्न छ । किसानलाई आवश्यक मल अर्थात् माग भएजति सहि तथ्यांक जान नसकेर अभाव भइरहन्छ कि भन्ने तपाईको प्रश्नलाई म प्रष्ट पार्न चाहन्छु भने कुरा त्यसो होइन् ।
सरकारले कृषिमा पर्याप्तरूपमा रकम विनियोजन गर्न नसक्दा पनि यस्तो समस्या देखिएको छ । अहिलेको आवश्यकतालाई हेर्दा पनि कम्तिमा पनि १५ अर्ब कृषिमा बजेट बिनियोजन हुनुपर्छ । तर अहिले पनि ११ अर्बमात्रै बजेट बिनियोजन गरेको छ । यसका कारण किसानले अुनदानको मल समयमै पाउन नसक्ने समस्या वषौँ देखिको हो ।
सरकारले खरिद गरेको मल विभिन्न भारतको कोलकत्तामा रोकिएर बसेको छ । त्यो मल आउन सकेपनि धेरै सहज हुने थियो हो । अहिले तत्कालको अवस्थामा युरिया मलको आपूर्ति सहज गराउनका लागि पनि भैरहवा शाखासँग समन्वय भइरहेको छ ।
भैरहवा शाखामा अधिकांश भारतीय कामदार भएका कारण पनि ति कामदार फर्कन सकेका छैनन् । त्यसका कारण पनि समस्या देखिएको छ । केही सीमित कामदारले काम गर्दा समस्या भइहाल्छ । हामीसँग फोस्फोरसयुक्त मल आइराखेको छ तर युरिया मलको मात्रै समस्या देखिएको हो । त्यो मल साल्ट ट्रेडिङ कार्यालयले पनि करिब ३० प्रतिशत मल ल्याइरहनुभएको छ । अभावलाई सहज बनाउने कोसिस गरिरहेका छौँ ।


मागअनुसार आपूर्ति छैन


सहकारी संस्था र कृषकहरूको सम्बन्ध प्रत्यक्षरूपमा जोडिएको छ । त्यसकारण किसानलाई रासायनिक मल वितरण गर्नका लागि राज्यले सहकारीलाई रोजेको छ ।
त्यो चाहिँ सकारात्मक कुरा हो । तर किसानलाई आवश्यक पर्ने रासायनिक मल राज्यले उपलब्ध गराउन सकेको छैन् । अनि सरकारले सहकारी संस्थालाई जुन कार्यालयमार्फत रासायनिक मल उपलब्ध गराउने गरेको छ । उसको पनि बेला मौकामा पारदर्शीताका कुरा उठ्ने गरेका छन् र व्यवहारमा त्यस्तो कुरा देखिन्छन् ।
नेपालको समृद्धिका लागि सरकार कृषि क्षेत्रमा जति गम्भीर हुनुपर्ने त्यति गम्भीर नभएको जस्तो पनि भएको छ । किसानले समयमै मल पाउन सकिरहेका छैनन् । उत्पादित कृषि उत्पादनले बजार पाउन सक्दैन् । अहिले विषेशगरी यो समयमा मलको अभाव देखिएको छ ।
यस्तो समस्या किसानले वर्षौँदेखि झेल्दै आएका छन् । हामीले किसानलाई सहकारी संस्थामार्फत मल वितरण गरिरहँदा मलको माग कति छ ? भन्ने हामीलाई अनुभूति भएको छ । अहिले कोरोना महामारीका कारण सरकारले समयमा उपलब्ध गराउन नसकेपनि विगतका वर्षमा पनि यस्तो समस्या देखिने गरेको थियो ।
किसानलाई खेतीपातीको चटारोसँगै मलको आवश्यकता टड्कारो रूपमा खटिएको समयमा सहकारी संस्थाहरूले किसानलाई मलको आपूर्ति सहज गराउन नसकिएको अवस्था छ । माग एक सयजना किसानको माग आउँछ तर १० बोरा मल आइदिन्छ हामीले पनि कसलाई दिने ?
कसलाई दिने ? तर पालो अनुसार नै उपलब्ध गराएका छौँ । माग अनुसारको मल आपूर्ति गराउन नसक्दा हामीलाई दुःख लागेको छ । आर्थिक विकासको प्रमुख मेरूदण्ड मानिएको कृषि हो । तर यसको उत्पादनका लागि आवश्यक मलको आपूर्ति सहज हुन नसक्दा किसानहरू चिन्तित हुने गरेका छन् ।
मलका लागि सहकारीमा दैनिकरूपमा एक सयजना भन्दा बढीको फोन आउने गरेको छ तर मलको कम हुँदा सबैलाई पु¥याउन सकिएको छैन् । मलको माग बढी हुने तथा आपूर्ति कम हुँदा किसानहरू हामीसँग पनि विभिन्न गुनासो राख्ने गर्नुहुन्छ ।
किसानलाई सम्झाउन पनि हम्मे–हम्मे पर्ने गरेको छ । सरकारले यस्ता कुरामा अलि बढी गम्भीर हुनुपर्छ । समयमै मलको आपूर्तिलाई सहज गराएर कृषि उत्पादन बढाउनका लागि तीन तहका सरकार गम्भीर हुनुपर्छ ।
सरकारले कृषि उत्पादन बढाउने कुरामात्र गर्ने तर मलजस्ता सामान्य कुरामा गम्भीर हुन नसक्दा उत्पादकत्व बढाउन सकेको छैन् । अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोनाले निम्त्याएको संकटमा खाद्यान्नको अभाव हुने संकेत देखिएको समयमा उत्पादन बढाउनुको विकल्प छैन् ।
रोकिएको मल जतिसक्दो चाँडो किसानलाई उपलब्ध गराउन सकियो भने पनि पक्कै उत्पादकत्व बढ्ने छ । अहिलेको आवश्यकतालाई मध्यनजर गरी अर्को वर्ष यसभन्दा बढी माग गरी मलको सहज आपूर्ति गर्नुपर्छ ।
होइन भने कृषिबाट समृद्धि ल्याउने कुरा सपनाजस्तै हुनेछ । नेतृत्वले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । किसानलाई आवश्यक मलमात्र नभई हरेक वस्तुको सहज व्यवस्थापनमा सरकारको ध्यान जानुपर्छ ।


किसानका समस्यासँग सरकार गम्भीर भएन


किसानले मल पाउन नसकेको समस्या वषौँदेखिको हो । केही पहुँचवाला किसानले मल पाएपनि पहुँच नहुने किसानले अहिले पनि मल पाउन सकिरहेका छैनन् । सहकारी संस्थामार्फत मल वितरण भइरहेको छ, त्यहाँ पनि राजनीतिकरण भएको देखिन्छ ।
किसानको समस्यालाई सरकारले कहिल्यै पनि गम्भीर रूपमा लिन सकेन् । कृषिबाट समृद्धि ल्याउने कुरा भाषणमै सीमित रहेका छन् । किसानले भनेको समयमा मल पाउँदैन् ।
कृषि उत्पादनले बजार पाउन सकेका छैनन् । अनुदान लिन पनि पहुँच चाहिन्छ, वास्तविक किसानलाई सरकारी अनुदान ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भनेको झैँ भएको छ ।
समस्यासँग पैठेजोरी खेल्दै किसानले आफूले सकेजति उत्पादन बढाउने कोसिस गरेका छन् । किसानले यसवर्ष पनि मलको अभाव झेलिरहेको अवस्था छ । अनुदानको मल वितरण गर्ने सहकारीमा अहिले कतै पनि मल पाउँदैन् । मलको आपूर्ति गर्ने निकाय भने मलको खासै अभाव नभएको बताउने गरेको छ ।
किसानले समयमा मल पाउन नसकेपछि उत्पादनमा बढ्ने पनि कुरा भएन । अहिलेको समयमा झन् उत्पादन बढाउनुपर्ने अवस्थामा झन् मलको अभावका कारण उत्पादन घट्ने देखिन्छ । समयमै मल उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्छ । चिनेजानेको र सोर्सफोर्सको भरमा वितरण गरिने प्रणालीलाई अन्त्य गरिनुपर्छ ।
मैले पनि मल पाउनका लागि निकै मेहनत गर्नुप¥यो । भनेजति नपाएपनि केही मल बल्ल–बल्ल पाए । अुनदानका मल कहाँ आउँछ, कहिले आउँछ ? हामीहरूलाई पत्तो नै हुँदैन् । त्यसकारण वितरण प्रणालीमा पनि पारदर्शीता ल्याउन आवश्यक देखिन्छ ।
सम्बन्धित निकायको ध्यान बेलैमा जावस् । सहकारी सबैमा त्यस्तै नभएपनि केही सहकारीमा निश्चित आफ्ना व्यक्तिलाई मात्र मल दिएको पाईन्छ । यस्ता कुरामा सरकारको ध्यान पुगोस् ।
किसानलाई कृषि पेशामा निराश बनाउने होइन् । बरू प्रोत्साहनका कार्यक्रम ल्याउन सरकारको ध्यान जावस् । कृषिमार्फत समृद्धि खोज्ने सरकारको योजना सफल हुनका लागि यि र यस्ता सामान्य आधारभूत कुरामा ध्यान दिन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *