राष्ट्र निर्माणमा मेरो पनि उत्तरदायित्व

मुख्य खबर समाज

म नागरिक समाज सदस्य …
घोराही, १७ फागुन । पारी पट्टी ठूलो पर्दामा धुर्मुस र सुन्तलीले लगायतका कलाकारले अभिनय गरिरहेका थिए, कलाकारले गरेको अभिनय हेर्नका लागि कतिपय दर्शक कुर्सीमा बसेर आन्नद लिँदै थिए त कतिपय बिना कुर्सी पनि नाटकको मज्जा लिईरहेका थिए । यो सबै देख्दा लाग्थ्यो कि कुुनै चलचित्र दर्शकले हेर्न लागेका छन् तर यो त एउटा डकुमेन्ट्री थियो ।
दृश्यमा मिडिया र सञ्चारकर्मीले समाचारमार्फत नागरिकलाई सचेतना दिएको र मिडिया नागरिकको सच्चा साथी उल्लेख गरिएको थियो । ठूलो पर्दामा प्रदर्शन गरिएको डकुमेन्ट्रीको सन्देश थियो– नागरिक सचेत भए भने राष्ट्रको विकासमा ठूलो सहयोग पुग्दछ । डकुमेन्ट्री हेरिसकेपछि हामी नागरिक किन जागरुक हुनुपर्ने रहेछ ? हाम्रो साथ र सहयोगले समाजमा विकास निर्माणमा के सहयोग पुग्ने रहेछ ? भन्ने जस्ता सन्देश पाएको घोराही उपमहानगरपालिका–१७ की पिमा चौधरीले बताइन् । उनले भनिन्– म आफ्नो अधिकारका लागि आफै जागरुक हुनुपर्ने रहेछ ।
ग्रामिण महिला उत्थान केन्द्रसँगको सहकार्यमा इन्टरफेस नेपालको आयोजनामा घोराहीको तुलसीपुर चोकमा भएको कार्यक्रममा नागरिकले सक्रियताले नै राष्ट्र निर्माण सम्भव हुुने सन्देशको डकुमेन्ट्री प्रदर्शन गरिएको छ । कार्यक्रमका सहभागीले मिडिया नागरिकको साथी भएको भन्दै जनताका समस्या र गुनासालाई सरकारसम्म पु¥याउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
नागरिक सुसूचित भएमात्रै राष्ट्र निर्माणमा सहयोग पुग्ने भन्दै उनीहरुले विकास निर्माणमा नागरिकको खबरदारी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले आफ्नो टोल तथा गाउँको विकासमा स्थानीय नागरिकको महत्वपूर्ण भूमिका भएको बताए ।
उनले भने– अब नागरिकले खबरदारी गर्न सक्नुपर्छ, नागरिकको साथ र सहयोगसँगै खबरदारीले विकासले गति लिन्छ, नागरिक स्वतन्त्रताको अभिव्यक्ति कानूनमै व्यवस्था छ, सकारात्मक तीनै तहका सरकार होस् या विकास निर्माण भूमिका खेल्ने व्यक्तिलाई नागरिकको सुझाव निकै महत्वपूर्ण छ । उनले समाजमा सामाजिक रुपमा राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत काम गर्नेलाई नागरिकले खबरदारी गर्न सक्नुपर्ने बताए । नागरिक बोलेन भने समस्या समाधान गर्न कठिन हुन्छ, त्यसैले अब विभिन्न विकास निर्माणमा नागरिक सच्चा पहरेदार हुन आवश्यक छ–उनले भने ।
त्यस्तै मानवअधिकार रक्षक सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले समाजमा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको भन्दै अधिकार रक्षाका लागि नागरिक सचेत हुनुपर्ने बताए । उनले भने– पछिल्लो समय हत्या हिंसाजस्ता मानवअधिकार उल्लंघनका घटना बढ्दै गएका छन्, हामी सचेत भएमात्रै दोषीलाई कानूनको दायरामा ल्याउन सक्छौँ, अनि पीडितलाई न्याय दिन सक्छौँ, डर धम्कीका कारण अझै पनि धेरै घटना बाहिर आउने गरेका छैनन् भने बाहिर आएका घटना पनि बुलन्द रुपमा आउन सकेका छैनन् ।
यसैगरी कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले नागरिकले सरकारसँग सिधै समस्या राख्न सक्ने अवस्था नरहेको भन्दै पत्रकार तथा सञ्चारकर्मी नागरिक र सरकारबीचको पुल भएको बताए । हामी जनताका साथी हौँ, नागरिकले ढुक्कसँग आफ्ना समस्या मिडियासम्म पु¥याउनुपर्छ तब मात्र सबैले सोंचेको समृद्धि प्राप्त गर्न सकिन्छ– उनले भने अब पनि समस्यालाई लुकाएर बस्ने हो भने सोंचेको विकास हुुन सक्दैन्, स्वयम् नागरिक नै सचेत बन्नुपर्छ ।
त्यस्तै महिला अधिकारकर्मी तथा अधिवक्ता गोमा महरा, नेपाल मगर संघ प्रदेश नम्बर ५ का सल्लाहकार भिमकुमारी बुढालगायतले नागरिक सचेत भए राज्यलाई भौतिक तथा आर्थिक विकास निर्माणमा सहज हुुने बताए । कार्यक्रममा मिडिया तथा सञ्चारकर्मीले समाचारमार्फत नागरिकलाई कसरी सुसूचित बनाउन सक्छन् ? भन्नेजस्ता विभिन्न डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । कार्यक्रमको सहजीकरण इन्टरफेस नेपालका कार्यक्रम संयोजक शिव लामिछानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *