काठमाडौँ, २९ साउन । राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब तीन वर्ष कैद सजाय हुने भएको छ । भदौ १ देखि लागू हुने अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख गरिएको छ । ऐनको १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षतिसम्बन्धी शीर्षकमा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।’ विभिन्न विज्ञापन कम्पनीले आफ्नो प्रचार सामग्रीमा राष्ट्रिय झण्डा प्रयोग गर्ने गरेका छन् भने राजनीतिक दलहरूले सभा, सम्मेलनका साथै आन्दोलनमा पनि राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै आएका छन् । देशको शान, मान र पहिचानका रूपमा लिइने राष्ट्रिय झण्डा, गान र निशानको दुरुपयोगलाई कानुन नियमन गर्न खोजेको छ । राष्ट्रिय झण्डा जलाउने, च्यात्ने वा यसको दुरुपयोग गर्ने जोसुकैलाई सरकारले कारबाहीको दायरामा ल्याउने छ । सरकारले राष्ट्रिय झण्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ बनाएको छ, जसमा कहाँ र कुन अवस्थामा यसको प्रयोग गर्ने भन्नेबारे प्रस्ट व्यवस्था छ । कार्यविधिमा राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनमा प्रयोग गर्न, कम्मरमुनिको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा झण्डाको चिह्न÷प्रतीक राख्न, फहराउने प्रकृति (राष्ट्रिय झन्डा ओरालेर राख्दाबाहेक) अन्यन्त्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरेको छ । यस्तै प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रभित्र कार्यविधिबमोजिम राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने उल्लेख भएपनि यसको कार्यान्वयन भने हुन सकेको छैन । यस्तै ऐनको १५१ को उपदफा ३ र ४ मा नेपालसँग मैत्री सम्बन्ध भएका देशका झण्डा जलाउने साथै संयुक्त राष्ट्रसंघ वा संयुक्त राष्ट्रसंघसँग आवद्ध संस्था र नेपाल सदस्य रहेका कुनै अन्तर्राष्ट्रिय÷क्षेत्रीय संस्थाको अपमान वा घृणा हुने गरी उनीहरूको झण्डा स्वीकृतिबिना प्रयोग गर्ने वा दुरुपयोग गर्नेलाई एक वर्षको कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । राष्ट्रिय विभूतिको अपमान गर्न नपाइने पनि नयाँ ऐनमा उल्लेख छ । नयाँ कानुन अनुसार राष्ट्रिय झण्डा, गान र निशानको दुरुपयोग गरेको कसुरको हकमा ६ महिनाभित्र उजुरी दिन सकिनेछ ।
