राप्ती बबईलाई आंगीकको प्रयास

फिचर मुख्य खबर

तुलसीपुर, २७ चैत । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसलाई आंगीक क्याम्पसमा रुपान्तरण गरिने भएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पसको रुपमा विकास गर्ने प्रयास गरिएको राप्ती बबई क्याम्पस सञ्चालक समितिले जनाएको छ ।
क्याम्पसलाई आंगीक बनाउन आवश्यक प्रक्रिया अघि बढिसकेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले जानकारी दिए । आंगीक क्याम्पसको रुपमा रुपान्तरण गरेमा सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिने भएकाले आर्थिक ब्ययभारदेखि, प्राध्यापक, कर्मचारी ब्यवस्थापनमा समेत सहज हुने अध्यक्ष देवकोटाले बताए ।
‘राप्ती बबई क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पसको रुपमा लैजान भरपुर प्रयास र पहल कदमी गरेका छौँ’ उनले भने, ‘अहिले राप्ती बबईसहित आठ क्याम्पसलाई आंगीक बनाउन प्रक्रिया अघि बढाइएको छ ।
मध्यपश्चिम विश्वविद्यालयमा १० वटा क्याम्पस आंगीक क्याम्पसमा रुपान्तरण भई सकेका छन्, अबको चरणमा राप्ती बबई क्याम्पस रुपान्तरण गर्ने प्रक्रियामा छ । मंगलबार क्याम्पसमा आयोजना गरिएको पत्रकारसँगको परिचयात्मक कार्यक्रममा अध्यक्ष देवकोटाले भने पब्लिक क्याम्पस हुँदा विभिन्न समयमा समस्या आउने गरेको छ । त्रिवि अनुदान आयोगबाट आर्थिक सहयोग प्राप्तलाई समेत प्राथमिकरणमा वर्तमान सञ्चालक समितिले राखेको उनले जनाए ।
‘आंगीक क्याम्पस भएपछि शैक्षिक समस्या आउँदैन्’ उनले भने ‘क्याम्पसको शैक्षिक, आर्थिक सुधारका लागि आंगीक क्याम्पस बनाउनुपर्ने देखिएपछि अब आंगीक बनाउने प्रक्रिया अघि बढेको छ ।’

मध्यपश्चिम विश्वविद्यालयमा १० वटा क्याम्पस आंगीक क्याम्पसमा रुपान्तरण भई सकेका छन्, अबको चरणमा राप्ती बबई क्याम्पस रुपान्तरण गर्ने प्रक्रियामा छ ।

‘आंगीकको प्रयास यसअघि पनि भएको थियो तर क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनमा देखिएको समस्याका कारण मूर्तरुप पाउन सकेको थिएन्’ उनले भने ‘अब ग्यारेण्टीका साथ भन्न सक्छौँ, हामीले क्याम्पसलाई आंगिक बनाउछौँ । आंगीक क्याम्पसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढिसकेको छ । पश्चिम दाङको अग्रणी क्याम्पस राप्ती बबई क्याम्पस तुलसीपुरलाई आंगीक क्याम्पसमा रुपान्तरण गरी क्याम्पसलाई प्रविधियुक्त बनाउने उनले बताए ।
नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका अध्यक्ष देवकोटाले क्याम्पसलाई आंगीक बनाएर क्याम्पसभित्रको अनियमितालाई नियन्त्रण गरिन्छ, यो क्याम्पसमा गरिब, बिपन्न, पहाडी भेगका विद्यार्थीले अध्ययन गरिरहेकोले उनीहरुका अभिभावकहरुको पसिनालाई खेर जान नदिने संकल्पका साथ काम अघि बढेको बताए । उनले क्याम्पसका सबै गतिविधि पारदर्शी रुपमा हुने बताए । क्याम्पस प्रमुख युवराज रावतले अब शिक्षण सिकाइलाई प्रविधियुक्त बनाउने प्रतिवद्धता जनाए ।
‘क्याम्पसमा शैक्षिक गुणस्तरका लागि अल्पकालीन र दीर्घकालिन योजना बनाएका छौँ, दुई भागमा गरिएको रणनीतिक योजनाले शैक्षिक गुणस्तर अवश्य पनि हुनेछ’ उनले भने ‘शिक्षण सिकाइलाई प्रविधियुक्त बनाई विद्यानाथ कोइराला र मन वाग्लेजस्ता विज्ञहरुसँग महिनामा एकदिन मात्र भएपनि अनलाईनमार्फत शैक्षिक गन्तव्यका विषयमा अन्तरक्रिया गरिने छ ।
कार्यक्रममा समितिका कोषाध्यक्ष विनिल केसीले बजारमा हल्ला भएजस्तो आर्थिक रुपमा क्याम्पस कमजोर नभएको जानकारी दिएका थिए । क्याम्पसमा चालु शैक्षिक सत्रमा २३ सय ९५ जना विद्यार्थी अध्ययनरत र त्यसको १२ प्रतिशत विभिन्न वर्ग र समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।
अहिले ५७ लाख ३६ हजार ३ सय १० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको चल्ती खातामा बचत रहेको र त्यसमध्ये शिक्षकहरुलाई करिब ३३ लाख तलब भुक्तानी गर्न बाँकी रहेको र त्यो रकम भुक्तानी गर्दा १५ लाख २० हजार २ सय १० रुपैयाँ बचत रहेको कोषाध्यक्ष केसीले बताए । समितिका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मीनराज वलीले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *