राप्ती नदीमा अनाधिकृत उत्खनन्

फिचर मुख्य खबर राजनीति समाज

लमही, ३० बैशाख ।
राप्ती नदीमा अवैध रुपमा ढुङ्गाजन्य पदार्थ उत्खनन् बढेको छ । केही समय यता राप्ती नदीको विभिन्न क्षेत्रमा विपद ब्यवस्थापनका नाममा अवैध तरिकाले ढुङ्गाजन्य पदार्थ उत्खनन् भैरहेको छ ।
यसैबीच अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् भइरहेको अवस्थामा उत्खनन्मा प्रयोग भएका सवारी साधन र उपकरणहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उत्खनन् गर्दै गर्दा एकवटा जेसीवी र छवटा ट्रेक्टरलाई नियन्त्रणमा लिइएको अमिलिया प्रहरीले बताएको छ । लमही नगरपालिका वडा नम्बर ९ को अमिलियास्थित राप्ती नदीमा ढुङ्गाजन्य वस्तुको अवैध उत्खनन्मा प्रयोग भएको भन्दै लु १क २०४० न को जेसीवी, नियन्त्रणमा लिएको छ । त्यसैगरेर लु २ त ८९२३, लु २ त २२६८, लु २ त १९६१, रा १ त २७२९, लु २ त ४२१२ नम्बरका ट्रेक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अवैध तरिकाले गिट्टी, बालुवा ओसारपसार भैरहेको सूचना पाए लगत्तै प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेसहित पुगेको प्रहरीले ती उपकरणहरु नियन्त्रणमा लिएको हो । नदीमा अनाधिकृत तरिकाले उत्खनन् भइरहेकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको लमही नगरप्रमुख केसीले जानकारी दिए । ‘हामी अनुगमनमा जाँदा अवैध उत्खनन् भैरहेको देख्यौं । अनि सबै नियन्त्रण गरिएको हो’ नगरप्रमुख केसीले भने । स्थानीय तहलाई जिम्मेवारी दिएकोले आफ्नो तर्फबाट अवैध तरिकाको ढुङ्गाजन्य वस्तु ओसारपसार कार्यलाई नियन्त्रण गर्ने लमही नगरपालिकाका प्रमुख केसीले बताए । जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि यस्तो गलत कामलाई बन्द गर्ने योजना नगरको रहेको केसीको भनाइ छ । ‘अवैध उत्खनन् रोक्न हामी लागिपरेका छौँ’ उनले भने ‘यो कार्य जसरी पनि अन्त्य हुन्छ ।’

विगत केही समय यता अमिलिया र बाँकेको सीमाना नजिकै जय बागेश्वरी बालुवा प्रशोधन केन्द्रको नामबाट राप्ती नदीमा नदीजन्य वस्तुको उत्खनन् भइरहेको स्थानीयहरुले बताए । स्थानीयहरुले उत्खनन्मा सरकारी निकायको समेत सहयोग गरेको आरोप लगाएका छन् ।


विगत केही समय यता अमिलिया र बाँकेको सीमाना नजिकै जय बागेश्वरी बालुवा प्रशोधन केन्द्रको नामबाट राप्ती नदीमा नदीजन्य वस्तुको उत्खनन् भइरहेको स्थानीयहरुले बताए । स्थानीयहरुले उत्खनन्मा सरकारी निकायको समेत सहयोग गरेको आरोप लगाएका छन् । उक्त प्रशोधन उद्योगले सुरुमा त्यहाँका स्थानीयसँग समन्वय नगरी काम सुरु गर्दा नै विवाद बल्झिएको थियो । पछि उद्योग सञ्चालक र स्थानीयहरुबीच स्थानीय विकास निर्माणलाई सहयोग गर्ने प्रतिवद्धता जनाएपछि प्रति ट्रली दुईसय रुपैयाँ स्थानीयलाई बुझाउने गरी उत्खनन् र सञ्चालनमा कुरा मिलेको एक स्थानीयले बताए । दाङका स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले जिल्ला समन्वय समिति दाङले जिल्लाका विभिन्न २२ वटा खोला र नदीमा गिट्टी, बालुवा निकाल्न ठेक्का दिएको बताए । तर अमिलियामा उत्खनन् भैरहेको स्थानको भने अनुमति नभएको जानकारी दिए । अमिलिया क्षेत्रमा गैरकानूनी रुपमा उत्खनन् भइरहेको उनको भनाइ छ । उनले अवैध रुपमा कार्य गर्नेलाई कानूनी कारबाही गरिने बताए ।

नदीजन्य पदार्थ संकलनमा रोक

यसैबीच बबई गाउँपालिकाले नदीजन्य पदार्थ संकलनमा रोक लगाएको छ । बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलका अनुसार जिल्ला समन्वय समितिको निर्देशन अनुसार नदीजन्य पदार्थ संकलनमा रोक लगाइएको हो । जिल्ला समन्वय समितिको निर्देशनअनुसार नदीजन्य पदार्थ संकलन गरिएको जानकारी दिदै अध्यक्ष पौडेलले समन्वयकै पत्रअनुसार नदीजन्य पदार्थ संकलनमा रोक लगाएको जानकारी दिए ।
बबई गाउँपालिकामा रहेका नदी तथा खोलाहरुबाट नदीजन्य पदार्थ संकलन गरेर विकास निर्माण सहयोग पुगेको भएपनि जिल्ला समन्वय समितिको आग्रहमा संकलनमा रोक लगाएको जानकारी दिए । साथै नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणका लागि गाउँपालिकाले जिल्ला समन्वय समितिलाई पहल गर्न पनि आग्रह गरेको छ ।
जिल्ला समन्वय समितिले बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको बेलासपुर क्षेत्रबाट मात्रै नदीजन्य पदार्थ निकासीका लागि स्वीकृति दिएको छ । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ संकलनमा रोक लगाउन आग्रह गरेपछि विकास निर्माणमा समेत समस्या हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *