रमणीय ज्यामिरे दह

फिचर मनोरञ्जन

तालको कलकल पानी, कसैले त्यहि तालको कलकल पानी नै कैद गर्ने गरी सेल्फी खिच्दै गरेका दृश्य, कसैले तालमा ढुंगामै सयर गरिरहेको दृश्य, ताल वरपर चराहरुको चिरबिर आवाज, वरपर जंगलले घेरिएको निकै रमणीय दृश्य देख्न सकिने ताल हो ज्यामिरे ।
ज्यामिरेमा धेरै त सायद पुगि पनि सक्नुभएको छ होला । अनि कतिपयले सामजिक सञ्जालमा पोष्ट गरेका फोटो हेरेर पनि अहिले नि जाउँ–जाउँ लागेको छ होला, ज्यामिरे तालका फोटो देख्नेको जो कोहि मनले पनि मान्दैन् कि एकचोटी ज्यामिरे दहमा पुग्नैपर्छ ।
प्राकृतिक रुपमा सुन्दर उपत्यका दाङमा विभिन्न धार्मिकस्थल तथा ताल, जलाशय निर्माणको क्रम बढ्दै जाँदा पर्यटनको सम्भावना पनि बढ्दै गएको छ । घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे दह पनि पछिल्लो समय पर्यटन गन्तव्यको रुपमा विकास हुन थालेको छ ।

बाह्रकुने दहको शिरमा रहेको ज्यामिरे दह अहिले करिब १२ विगाह क्षेत्रफलमा फैलिएको छ । ‘सानो आकारमा रहेको दहलाई संरक्षण गरेपछि दह सबैको लागि सधैँको लागि हेर्न लायक ठाउँ बनेको छ ।

दहमा दिनप्रतिदिन आन्तरिक पर्यटक बढ्दै जान थालेका छन् भने बाह्य पर्यटन केन्द्रको रुपमा पनि तालको सम्भावना बढेको छ । स्थानीय एलिजा भण्डारीले भनिन् ‘मलाई त यो दह हेर्नका लागि यति पर्यटन भित्रिन्छन् जस्तो लागेको थिएन् तर यसको संरक्षणमा स्थानीय सरकारले चासो देखाएपछि अहिले दैनिकजसो पर्यटक बढ्दै जान थालेका छन् ।
अहिले त मलाई पनि यहाँ दैनिकजसो आउन निकै रहर लाग्छ, केहि प्रकृतिले दिएको केही स्थानीय सरकारले संरक्षण गर्दा यहाँको आर्थिक पक्षलाई पनि बलियो बनाउँदै लगेको छ ।’
ज्यामिरे दह हेर्न तथा ढुंगामा सयर गर्न भण्डारी जस्तै धेरै आन्तरिक पर्यटक पछिल्लो समय ज्यामिरे दहमा आउनेक्रम बढ्दै गएका छन् । प्राकृतिक रुपमा सुन्दर ताल पछिल्लो समय स्थानीय सरकारको लगानीमा थप व्यवस्थापन भएसँगै दहमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । दह अवकलोकन कै लागि पहिलो पटक आएकी गढवा गाउँपालिका–८ की मिना थापालाई पनि निकै सुन्दर लागेको बताइन् ।

‘म त पहिलो पटक श्रीमानसँग आएको हुँ, तालको सौन्दर्यता निकै राम्रो लाग्यो तर अझै संरक्षण हुन सकेको छैन् जस्तो लाग्यो । किनभने तालसम्म आउन गोरेटो बाटो पनि राम्रो छैन्, मोटर बाटो पनि सहज छैन्, ताल अवलोकनका लागि बुधबार ज्यामिरे दहमा भेटिएकी थापाले भनिन् ‘सायद अर्कोपटक आउँदा यस्तो हुँदैन् राम्रै हुन्छ होला ।’
बाह्रकुने दहको शिरमा रहेको ज्यामिरे दह अहिले करिब १२ विगाह क्षेत्रफलमा फैलिएको छ । ‘सानो आकारमा रहेको दहलाई संरक्षण गरेपछि दह सबैको लागि सधैँको लागि हेर्न लायक ठाउँ बनेको छ’
दह संरक्षण समितिका सदस्य वीरजंग पुनले भने ‘अझै पनि धेरै संरचना निर्माणकै क्रममा रहेको छ, आशा छ स्थानीय सरकारले चासो त दिएको छ, नै प्रदेश र संघ सरकारले पनि यसमा ध्यान दिनेछ’ दहमा दैनिकजसो पर्यटकको संख्या बढ्दै गएपनि अझै भौतिक पूर्वाधारको अभाव रहेको छ ।

वनभोज स्थल, शौचालय, सडक लगायतका संरचना नहुँदा अझैपनि सोचेजस्तो पर्यटकको संख्या बढ्न नसकेको सदस्य पुनले बताए । ‘ज्यामिरे दहमा पुग्नका लागि अहिले थोरै दूरीमा मात्रै सिढी निर्माण भएको छ भने अझैपनि आधाभन्दा धेरै भाग निर्माण गर्न बाँकी छ’ उनले भने ‘सडक पनि निर्माण त भएको छ तर भरपर्दो अवस्थाको छैन्, जसले गर्दा पनि यहाँ आउने पर्यटकलाई सास्ती हुने गरेको छ ।
यस्तै दहमा वनभोज स्थलसमेत नहुँदा समस्या हुने गरेको छ । वनभोज त्यतै गरौँला भन्नेहरु अहिले अधिकांशले बाह्रकुने दहमा वनभोज गरेर पुग्ने गरेका छन् ।
प्रकृतिले नै उपहारका रुपमा दिएको ज्यामिरे दह संरक्षणसँगै पछिल्लो समय कम्तीमा २५ देखि ३० मिटरसम्म गहिराइ रहेको छ । प्राकृतिक रुपमा आफैमा सुन्दर रहेको ज्यामिरे दह आन्तरिकसँगै बाह्य पर्यटकको संख्या बढाउन आवश्यक संरचना समयमै निर्माण गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *