रंगशाला निर्माण अलपत्र

मुख्य खबर समाज

रुकुम, २२ भदौ । रुकुमको मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणको काम आर्थिक अभावका कारण अलपत्र परेको हो । खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । रङ्गशाला निर्माणका लागि ६ स्थानीय बासिन्दाले १९ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका थिए । ६ रोपनी सार्वजनिक जग्गा पनि रङ्गशालाको नाममा पास गरिएको पानढुङ्गा स्पोर्ट भिलेज फाउण्डेशनका अध्यक्ष नरबहादुर खड्काले बताए । निःशुल्क जग्गा उपलब्ध गराउन उत्साहित दाता रङ्गशाला निर्माण अलपत्र परेपछि निरास भएका छन् । रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष ०७०÷७१ मा एक लाख ५० हजार, ०७१÷७२ मा पाँच लाख, ०७२÷७३ मा १५ लाख र ०७३÷७४ मा ४५ लाख रुपैयाँ गरी हालसम्म ६६ लाख ५० हजार रुपैयाँ खर्च भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । उक्त बजेटबाट रङ्गशालाको ट्रयाक खोल्ने काम गरिए पनि अझैसम्म पूरा भएको छैन । रङ्गशालाको डिपिआरका लागि आर्थिक वर्ष ०७३÷७४ मा पाँच लाख विनियोजन गरिए पनि अहिलेसम्म डिपिआर हुनसकेको छैन । निर्माणका लागि आउने रकम मध्येबाट कटाएर पाँच लाख डिपिआरका लागि छुट्याइए पनि राष्ट्रिय खेलकूद परिषद्बाट त्यसका लागि टोली नखटाइएको र सो रकम पनि के मा खर्च भयो भनेर जानकारी नगराइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख छविलाल केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *