- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरयौन समस्यामा खुल्दैनन् महिला

यौन समस्यामा खुल्दैनन् महिला

- Advertisement -spot_img

नेपाल परिवार नियोजन संघ दाङ स्थापना भएको करिब ६ दशक बढी भएको छ । यौन तथा प्रजनन् स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको संघमा पछिल्लो समय सेवा लिनेको संख्या बढ्दै गएको छ । संघ स्थापना भएपछि विस्तारै महिलाहरु आफ्नो यौन तथा प्रजनन्सम्बन्धी समस्या लिएर जाने क्रम बढ्न थालेको छ । संघमा अझ विशेषगरी गर्भपतन सेवा लिनेको संख्यामा पनि बृद्धि भएको पाइन्छ । संघले प्रदान गर्ने सेवा र गर्भपतन सेवाका विषयमा नेपाल परिवार नियोजन दाङका प्रवन्धक बसन्त खनालसँग कुराकानीको सारसंक्षेप । 


परिवार नियोजन संघले अहिले के–के काम गर्दै छ ?

नेपाल परिवार नियोजन संघ नेपालमा सर्वप्रथम परिवार नियोजन कार्यक्रमको सुरूवात गर्ने पहिलो संस्था हो । यसको स्थापना ६१ वर्षअघि वि.सं. २०१६ आश्विन २ गते मा भएको हो । दाङ जिल्लामा विसं २०३४ सालमा स्थापना भै हालसम्म निरन्तर रूपमा यस जिल्लालगायत छिमेकी जिल्लाका बासिन्दाहरूसम्म गुणस्तरीय प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्दै आई रहेको छ  ।
हाल संघले मुख्यतः परिवार नियोजन (पुरूष तथा महिला कण्डम, खाने चक्की पिल्स, तीन महिने सुई, डिपो, प्रोभरा, महिलाको पाखुरामा लगाउने इम्ल्पाण्ट, महिलाको पाठेघरमा राख्ने कपर–टी, पुरूष तथा महिला बन्ध्याकरण, आकस्मिक परिवार नियोजनका साधन) आदिको परामर्श समेतको सेवा, गर्भवती जाँच, सुत्केरी पश्चातको परामर्श तथा सेवाहरू प्रदान गर्दै आईरहेको छ ।

यहाँको मुख्य सेवा के हो ?

यौन तथा प्रजनन्सम्बन्धी सबै सेवा मुख्य नै हुन् । त्यसमा पनि हामीले परामर्शदेखि पोठघरको मुखको क्यान्सरको जाँच तथा उपचार गर्ने, पाठेघर खस्ने समस्याको रोकथाम तथा उपचार सेवा, भ्यासेक्टोमी गरिसकेका व्यक्तिहरूलाई आवश्यक परेमा पुनः नस जडान सेवाहरू प्रदान गर्दै आइरहेको छ । त्यसैगरी प्रजनन् स्वास्थ्यसम्बन्धी अन्य सेवाहरू आदि सेवाहरू प्रदान गर्दै आईरहेको छ ।
संघले यसका साथै सेवाबाट बञ्चित रहेका सीमान्तकृत तथा सेवामा पहुँच नभएकाहरूलाई लक्षित गरी घुम्ती शिविरमार्फत समेत सेवा प्रदान गरिरहेका छौँ । यौन प्रसारित संक्रमणको परामर्श, प्रयोगशाला जाँच तथा रोकथाम सेवा, एचआईभीको परामर्श, प्रयोगशाला जाँच, रोकथाम सेवा, स्त्री रोगको परामर्श तथा सेवा, सुरक्षित गर्भपतन सेवा (औषधि तथा शल्यक्रिया विधिद्ववारा), अपूर्ण गर्भपतनको उपचार, यौनिक तथा लैंगीक हिंसाको पहिचान तथा परामर्श सेवा र बच्चाहरूलाई खोप सेवा पनि दिदै आएको छ ।

कस्ता सेवाग्राहीहरू बढी आउँछन्

हाम्रो सेवा केन्द्रहरूमा धेरैजसो महिला सेवाग्राहीहरू नै सेवा लिन आउनुहुन्छ । महिलालाई जचाँउने ठाउँ नै परिवार नियोजन संघ हो भन्ने विश्वास आममानिसमा देखिएको छ ।
यसले गर्दा हामीलाई पनि थप हौसला मिल्नुका साथै सेवा विस्तार गर्न प्रेरणा मिलेको छ । हाल संघमा धेरैजसो महिला सेवाग्राहीहरू परिवार नियोजन सेवा, पाठेघर मुखको क्यान्सर जाँच, सुरक्षित गर्भपतन सेवा, गर्भवती जाँचका लागि र अन्य महिलाका विविध स्वास्थ्य समस्या लिएर आउने महिला सेवाग्राहीहरू हुनुहुन्छ ।

महिलामा देखिने मुख्य समस्या के हो ?

संघमा जाँच गराउन आउने महिलाहरूको मुख्य समस्या भनेकै पाठेघरको समस्या हो । धेरैजसो महिलाहरूमा यो समस्या छ । शुरूको समयमा रोग लुकाएर बस्ने, रोगले च्यापेपछि जाँच गराउन आउने परिपाटी छ ।
जसले गर्दा महिलाहरूमा गम्भीर प्रकृतिको समस्या देखिदै आएको छ । अझै पनि महिलाहरू आफ्नो प्रजनन् स्वास्थ्यमा खुल्न सक्नु हुन्न । चाहे त्यो हामीले गाउँमै स्वास्थ्य शिविरको आयोजना गरेको समयमा होस् वा यहाँ स्वास्थ्य जाँच गराउन आउने समयमा नै किन नहोस् । धेरै समय त उहाँहरूलाई परामर्श गर्नुपर्छ ।

धेरैजसो गर्भपतनका लागि आउँछन् भन्ने सुनिन्छ नि ?

धेरैजसो त नभनौं अन्य सेवाहरूका लागि आउने सेवाग्राही पनि धेरै हुनुहुन्छ । संघले प्रदान गर्ने सेवामध्ये एउटा सेवा सुरक्षित गर्भपतन सेवा पनि हो । यो सेवा महिलाहरूको प्रजनन् अधिकारसँग पनि जोडिएको विषय भएकोले अनिच्छित गर्भ रहेमा महिलाले आफ्नो स्वइच्छाले गर्भपतन गराउन पाउछन् ।
नेपालको कानुनले समेत गर्भपतनलाई कानुनी मान्यता दिएको अवस्थामा महिलाले अनिच्छित गर्भलाई पतन गर्न पाउँछन् । असुरक्षित गर्भपनतले महिलाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने र ज्यानसमेत जानसक्छ । तसर्थ अहिले विस्तारै असुरक्षित गर्भपतनले पार्ने प्रभावबारे चेतनास्तर विस्तारै बढ्दै गएको कारणले केही सेवा लिन आउनेको संख्या बढ्दै भएको देखिएको हो ।

गर्भपतन गराउन आउनेको संख्या कस्तो रहेको छ ?

हामीकहाँ सेवा लिन आउने सेवाग्राहीको संख्या हेर्दा सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म ६ सय ३७ जनाले सेवा लिनुभएको छ र यसबर्ष सन् २०१९ को जनवरीदेखि सेप्टेम्बरसम्म नौ महिनामा ४ सय ६३ जनाले सुरक्षित गर्भपतन सेवा लिनुभएको छ ।

गर्भपतन सेवा कस्तोे अवस्थामा लिन सकिन्छ ?

विषेशत सेवा लिन आउनेहरू अनिच्छित गर्भधारण गरेका नै हो । त्यस सँगसँगै परिवार नियोजनको साधन प्रयोग गर्दा साधन फेल भएका, चाँडो बच्चा जन्माउन इच्छा नभएर र केही त अत्याधिक हेलचेक्र्याईका कारण जस्तो परिवार नियोजनका साधन प्रयोग नगर्ने गर्भपतनलाई नै साधनको रूपमा बुझ्ने समेतका सेवाग्राहीहरू समेत आउँछन् ।
कस्तो अवस्थामा गर्भपतन गराउन पाउने र नपाउने ब्यवस्था रहेको छ ?
एउटी महिलाले यी तीन अवस्थामा मात्र गर्भपतन गराउन सक्छन्ः–

  •  १२ हप्ताभित्रको अनिच्छित गर्भ
  •  बलात्कार तथा हाडनाता करणी भएर रहेको १८ हप्तासम्मको गर्भ
  •  बच्चा अपाङ्ग हुने अथवा आमालाई गम्भीर शारीरिक तथा मानसिक स्वास्थ्य जोखिम भएको अवस्थामा योग्य चिकित्सकको राय भएमा जुनसुकै अवधिको गर्भ

निम्न अवस्थामा गर्भपतन गरेमा सजायको भागीदार हुन्छः–

  • गर्भवती महिलाको स्वीकृतिविना करकाप, धम्की, ललाई–फकाई वा प्रलोभन दिई गरेमा
  • गर्भपतन गर्ने उद्देश्यले भ्रुणको लिंग पहिचान गरि गरेमा
  •  गर्भपतन गर्ने कानुनले तोकेको अवधि र अवस्थामा बाहेक अन्य अवस्थामा गरेमा

जिल्लामा सुरक्षित गर्भपतनको अवस्था र चुनौती के छ ?

सर्वप्रथम त सुरक्षित गर्भपतन सेवा प्रदान गर्नका लागि सरकारले संस्था र तालिम प्राप्त स्वास्थ्यकर्मीलाई सूचिकृत गरिएको हुनुपर्छ । सूचिकृत स्वास्थ्य संस्थाभन्दा बाहिर गरिने जुनसुकै गर्भपतन पनि असुरक्षित हो । दाङको सन्दर्भमा हेर्ने हो भने नेपाल परिवार नियोजन संघलगायत केही स्वास्थ्य संस्थाहरू मात्र सूचिकृत छन् ।
अझै पनि मानिसहरू गर्भपतनलाई हेयभावले हेर्ने लाज र सङ्कोच धेरै मान्ने र आफ्नो स्वास्थ्यप्रति धेरै सेचत नहुनुको कारणले अझै पनि धेरै मानिसहरू लुकिछिपी गैह्रकानुनी रूपमा स्वास्थ्य संस्थाभन्दा बाहिर गएर गर्भपतन गराउने आफ्नो ज्यान जोखिममा पार्ने गरिरहेको पाउछौँ ।
साथै जथाभावी रूपमा औषधी पसलहरूबाट अनाधिकृत रूपमा औषधि सेवन गराउने गर्ने चलनले धेरै महिलाहरूको ज्यान जोखिममा पार्ने काम भैरहेको छ । अहिले देखिएको ठूलो चुनौती पनि यहि हो । साथै प्रत्येक ब्यक्तिले सही समयमा परिवार नियोजनका साधनहरूको प्रयोगमा ध्यान नदिनु, गर्भपतनलाई परिवार नियोजन साधनको रूपमा बुझ्नुले पनि चुनौती थपेको पाउछौँ ।

यस्ता चुनौती कम गर्न के गर्न सकिन्छ ?

सर्वप्रथम त हरेक ब्यक्ति आफ्नो स्वास्थ्यप्रति सचेत हुनुप¥यो । अनिच्छित गर्भधानबाट बच्नका लागि परिवार नियोजनको सही प्रयोग गर्नुप¥यो । साथै गर्भपतन गर्नै परेमा सुरक्षित स्वास्थ्य केन्द्रमा गएर सेवा लिनुप¥यो ।
गर्भपतन पश्चात तुरून्तै परिवार नियोजनको साधन प्रयोग गर्ने । साथै गैह्रकानुनी रूपमा अवैध रूपमा जथाभावी औषधी पसलहरूबाट औषधि खरिद गरी सेवन नगर्ने र यसलाई सम्बन्धित निकायहरूबाट नियमित अनुगमनसमेत हुने हो भने पक्कै पनि यी चुनौति कम भएर जान्छन् ।

अन्त्यमा केही भन्नु छ ?

तपाईको पत्रिकामार्फत सबैलाई सुस्वास्थ्यको कामनाका साथै अनिच्छित गर्भाधानबाट बच्न परिवार नियोजनका साधनहरूको सही प्रयोग गरौं । गर्भपतन गर्नैपर्ने अवस्था आएमा सुरक्षित गर्भपतन सेवा केन्द्रमा नै जाउ ।
अन्यत्र गएर आफ्नो ज्यान जोखिममा नपारांै भन्दै मेरा विचारहरू राख्ने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दै आउँदै गरेको दिपावली र छठ पर्वको सबैमा शुभकामना ब्यक्त गर्दछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here