यो वर्ष प्रभावकारी कामः अध्यक्ष चौधरी

समाज

दंगीशरण, ८ पुस । दंगीशरण गाँउपालिकाका अध्यक्ष भागिराम चौधरीले गत वर्षभन्दा यो वर्ष काम प्रभावकारी भएको देख्न चाहेको बताएका छन् । वडाको विकासका लागि काम मात्र होईन कागजको प्रक्रियालाई ध्यानमा राख्नुपर्ने बताए ।
दंगीशरण गाउँपालिका वडा नम्बर १ मा उपभोक्ता समिति सञ्चालन अभिमुखीकरण तालिम उद्घाटनका अवसरमा उनले वडामा हुने विकासका कामहरु दीगो रुपमा टिकाई रहने हिसावले इमान्दारीपूर्वक काम गर्न उपभोक्ता समितिलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष चौधरीले भने ‘विकासका लागि सबै उपभोक्ताको समिति लागेर काम गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु । गत बर्षको भन्दा यो बर्षको काम प्रभावकारि देख्न चाहेको छु । एकदिनको तालिमले तीन, चार महिनाको काम दीगो, प्रभावकारी र उपलब्धिमूलक हुनेछ ।’ साथै उनले आरोप आउने ठाउँबाट मुक्त हुन वडाका उपभोक्ता समितिलाई आग्रह गर्दै उपभोक्ता समितिले समुदायलाई प्रष्ट रुपमा कामका बारेमा जानकारी गराउनुपर्ने बताए । उक्त अवसरमा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले उपभोक्ता समितिले जनप्रतिनिधिलाई कुनै पनि तरिकाबाट दोष नथुपारेर काम गर्नुपर्ने बताइन् । ‘आफ्नो गाउँ आफै बनाऊ’ भन्ने अभियान लीएर काममा खटिन उनले उपभोक्ता समितिलाई आग्रह गरिन । वडाको विकास निर्माणको कामको जिम्मेवारी आफ्नो हो भन्ने सम्झेर जिम्मेवारी बहन गर्नुपर्ने भन्दै यस्तो गहन जिम्मेवारीलाई आत्मसात गरेर अगाडि बढ्न समेत उनले आग्रह गरिन् । उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत मार्शल कुमार वलीले राज्यबाट आएको बजेट सही सदुपयोग गरी आफ्नै घरआँगनको विकासे काम भएको भन्दै आफ्नो काम आफै गरौँ भन्ने मान्यताका साथ जिम्मेवारीपूर्वक काम गर्नुपर्ने दायीत्व निर्बाह गर्नुपर्ने बताए । उपभोक्ता समितिभित्र विवादित कुराहरु नल्याई १० प्रतिशत श्रमदान गरी योजनाका कामहरुलाई सफल पार्नु उपभोक्ता समितिको कर्तब्य रहेको भन्दै विश्वास दिलाएर कामलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
तालिममा उपभोक्ता समितिको गठन प्रक्रिया र आवश्यक कागजपत्रहरु, उपभोक्ता समितिका सदस्यको योग्यता, उपभोक्ता समिति गठनको नमुना , उपभोक्ता समितिको काम, कर्तब्य र अधिकार, उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनलगायतका बिषयमा जानकारी गराईएको थियो । तालिमको प्रशिक्षकमा योजना शाखा प्रमुख मस्तवीर चौधरी, जिन्सी शाखा प्रमुख ध्रुव अधिकारी, इञ्जिनियर अंंकीत आचार्य रहेका थिए । तालिममा वडा नम्बर १ का महिला र पुरुष गरी ५० जना उपभोक्ता समितिहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण तालिम वडा नम्बर १ का अध्यक्ष श्रीप्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *