घोराही, १९ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ति ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गरेका छन् । वडा नम्बर १४ ले मंगलबार आयोजना गरेको निर्माण उपभोक्ता निर्माण समिति गठन र विकास निर्माणसम्बन्धी तालिममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो नठानेसम्म दिगो विकास हुन नसक्ने बताए ।
वडा र नगरका सबै योजनाहरु जनतालाई समृद्धिसँग जोड्नकै लागि तय भएको भन्दै उनले आफ्नै सम्पत्ति ठानेर विकासका योजनालाई गुणस्तरीय बनाउन आग्रह गरे । जबसम्म आफ्नै सम्झदैन तबसम्म माया नहुने भन्दै उनले विकास जनता कै भएको धारणा राखे । नीति र कार्यविधिमा रहेर मात्रै काम गर्न सुझाव दिदै उनले प्रकृयागत ढंगबाट योजनाका कामलाई गुणस्तरीय र दिगो बनाउन आग्रह गरे । कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले सबै योजनाहरु विकाससँग जनतालाई जोड्नका लागि तह भएको भन्दै गुणस्तरीयतामा विषेश ध्यान दिन उपभोक्ताहरुलाई सल्लाह दिए । आफ्नै नठानेसम्म काम प्रभावकारी, दिगो र गुणस्तरीय हुनै नसक्ने भन्दै उपभोग गर्नेहरुलाई नै विकास गर्ने जिम्मा दिएको बताए । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको तालिममा उपमहानगरका सिनियर डिभिजन इन्जिनियर युवराज पौडेल, लेखापाल प्रकाश विश्वकर्माले योजना सम्झौता, पारदर्शीता र बजेट भुक्तानीका बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, वडा प्रहरी कार्यालयका प्रमुख शशिधर शर्मा, प्राविधिक हरी विष्ट, वडाबासी कीर्तिमान पुन लगायतले विकासमा सामूहिकता आवश्यक पर्ने बताए ।
