युवालाई सिसा सगुनको कर्जा

मुख्य खबर

घोराही, १२ जेठ । दाङको घोराहीमा रहेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्यवसाय गर्न चाहने युवाहरुका लागि ४ प्रतिशत ब्याजमा कर्जा लगानी गर्न शुरु गरेको छ ।
युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको सहयोगमा ब्यवसाय गर्न चाहने युवाहरुलाई प्रतिब्यक्ति २ लाख रुपैयाँ रकम दिने सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिएका छन् ।
कार्यक्रमबारे जानकारी दिन शनिबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शर्माले कोषसँग ५० लाख रुपैयाँ ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा २५ लाख रुपैयाँ तत्काल कर्जा प्रवाह गरिने बताए ।
कोषको ब्यवस्था अनुसार कोषको रकम कर्जाका रुपमा लैजानेहरुले शुरुमा १० प्रतिशतका दरले नियमित मासिक अनिवार्य रुपमा ब्याज बुझाई सबै ऋण चुक्ता भइसकेको अवस्थामा उनीहरुले तिरेको ब्याजको ६ प्रतिशत रकम फिर्ता पाउने ब्यवस्था गरिएको छ ।
स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० बर्षसम्मको नेपाली नागरिक हुनुपर्ने, सहकारी संस्थाको कार्य क्षेत्रभित्र बसोवास गर्ने र व्यवसाय सञ्चालन गर्नुपर्ने, संस्थाको नियमानुसार सदस्यता लिई मासिक रुपमा अनिवार्य बचत गर्नुपर्ने,
पुरानो शेयर सदस्यहरुको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने, आफूले गर्न चाहेको व्यवसायको व्यावसायीक परियोजना बनाई पेश गर्नुपर्ने, पारिवारीक सदस्यहरुको सम्पूर्ण विवरण, पारिवारीक व्यवसायहरुको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका ब्यवस्था गरिएको छ ।
व्यवसाय शुरु गरेकाले अपुग रकम शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने ब्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ । संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर एसईई पास गरेकालाई ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई १ लाख ५० हजार, स्नातक उत्तीर्ण गरेकालाई ३ लाख, स्नातकोत्तर उत्तीर्ण गरेकालाई ५ लाख रुपैयाँसम्म ऋण लगानी शुरु गरेको हो ।

अभिमुखीकरण कार्यक्रम

यसैबीच घोराहीमा रहेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्यवसाय गर्न आवेदन दिएका युवाहरुका लागि युवा स्वरोजगार कर्जासम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता एवं कोषकी जिल्ला अनुगमन समितिकी सदस्य सचिव प्रतिक्षा बस्नेत प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
संस्थाका कोषाध्याक्ष नवराज भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका प्रेस सल्लाहकार हेमराज शर्मा, ऋण समिति संयोजक ध्रुव पौडेल,
लेखा समिति संयोजक केशव रिजाल लगायतले ऋणलाई सहिरुपमा परिचालन गरेर सफल व्यवसायी बन्न आग्रहसमेत गरे । कार्यक्रमको सहजीकरण संस्थाका सहब्यवस्थापक प्रकाश अधिकारीले गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले आफूले अव ब्यवसाय शुरु गर्ने, संस्थासँगको समन्वयमा अन्य कार्यक्रम सञ्चालन गरी आफू स्वरोजगार हुने प्रतिवद्धता ब्यक्त गरेका छन् । २०६५ सालमा स्थापना भएको सिसा सगुन बचत तथा ऋण सहकारी संस्थामा ५ सय ९४ शेयर सदस्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *