यातायात गुरुयोजनामाथि छलफल

मुख्य खबर

दंगीशरण, २७ जेठ । दंगीशरण गाउँपालिका यातायात गुरुयोजनाले पहिचान गरेका सडक सञ्जालहरु १ सय १५ वटा रहेको जानकारी गराईएको छ  । दंगीशरण गाउँपालिका यातायात गुरुयोजना दंगीशरण गाउँपालिका हेकुलीको प्रारम्भिक रिपोर्ट माथिको छलफल कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।
गुणस्तरीय इञ्जिनियरिङ सेवा घोराहिका इञ्जिनियर डिल्लीराम डाँगी र प्रविण थापाले आइतबार गाउँपालिकाको कार्यालयमा दंगीशरण गाउँपालिकाभित्रका सबै सीमानाहरुको नक्सामार्फत गुरुयोजनाको बारेमा जानकारी गराएका थिए ।
यस्तै गाउँपालिकाको नक्सामा राष्ट्रिय सडकमा ७.९ किलोमीटरको तुलसीपुर सुर्खेत सडक, ७.५ किलोमीटरको उरहरी बेलासपुर सडक, १७.८ किलोमीटरको बखरीया–बंगालपुर–सरुवाडाँडा–गोल्टाकुरी–फुर्केसल्ली–कालीतरा सडक र कोईरालडाँडा बुराडाबर खैरेनी जुम्लेकुला सडक जिल्ला स्तरीय सडकमा परेको जानकारी गराईएको थियो ।
यस्तै ग्रामीण सडकमा १ सय ५७ किलोमीटर सडक परेको जनाइएको थियो । उक्त अवसरमा नक्सामा वडाका धेरै सडकहरु नदेखिएपछि वडामा थप निर्माण भएका सडकहरुका बारेमा वडाका वडा अध्यक्षहरुले जानकारी गराएका थिए ।
सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाहरुको आवश्यक योजना तयार गर्ने, सडकहरुको प्राथमिकीकरणको आधार तय गर्ने,
प्राथमिकीकरण गरिएका सडकहरुको भौतिक तथा आर्थिक कार्यान्वयनको वस्तुगत योजना तयार गर्ने र गाउँपालिका यातायात गुरुयोजना तयार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका यातायात गुरुयोजनाको परिचय,
गाउँपालिकास्तरीय सडकको पहिचान, पहिचान गरिएका सडकहरुमाथि छलफल र पहिचान गरिएका सडकहरुको प्राथमिकीरणका बारेमा छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नं. १ का अध्यक्ष श्रीप्रसाद चौधरी, वडा नं. २ का अध्यक्ष तुलसीराम देवकोटा, वडा नं. ३ का पूर्ण बहादुर चौधरी, वडा नं. ४ नेवबहादुर कँवर, वडा नं. ५ का दिपक गौतम, वडा नं. ६ का टंक वली र वडा नं. ७ का विर बहादुर वली, इञ्जिनियर अंकित आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *