मौसमी बिरामी बढे

फिचर मुख्य खबर समाज

तुलसीपुर, १८ जेठ । बढ्दो गर्मीका कारण यहाँका अस्पतालहरुमा बिरामीहरुको चाँप बढ्दै गएको छ । मौसम परिवर्तनका कारण रुघाखोकी, झाडापखाला, टाईफाईड, निमोनिया जण्डिस, भाईरल ज्वरोलगायतका बिरामीहरु बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।
विशेषगरी गर्मी मौसमको समयमा दूषित पानीका कारण रुघाखोकी, झाडापखाला तथा भाईरल रोगका बिरामीहरुको चाँप बढेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेट डा.सर्वेश शर्माको भनाइ छ ।
अस्पतालमा अहिले दैनिक दुई सयजनाको संख्यामा बिरामीहरुको चेकजाँच हुने गरेको छ । उपचार गराउन आउने मध्येमा सबैभन्दा बढी महिला र बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिने गरेको डा. शर्माको भनाई छ ।
तुलसीपुरकै चिनारी मेडिकलका निर्देशक रविन्द्र श्रेष्ठले बिरामीहरुको चाप अन्य समयमा भन्दा अहिले धेरै रहेको बताए । ‘प्रायः बिरामी हुने कारण नै गर्मी मौसम हो उनले भने ‘यसर्थ अहिलेको समयमा मानिसले स्वाथ्यमा विशेष ध्यान दिन आवश्यक छ ।’
व्यक्तिगत सरसफाई, पारिवारिक सरसफाईमा विशेष ध्यान दिनु पर्ने बताउँदै उनले खानपिनमा समेत ध्यान दिन आवश्यक रहेको सुझावसमेत दिए । अस्पतालमा अहिले दैनिक ६० जना बिरामीहरुको चेकजाँच गर्ने गरेको उनको भनाई छ ।
गर्मीको समयमा चिसो पेय पदार्थ सेवन गर्नाले त्यस्ता पेय पदार्थबाट समेत रोग लाग्न सक्ने उनले जानकारी दिए । बालबालिकाहरुले बढी मात्रामा जुस पिउने भएकाले विशेषगरी बालबालिकाहरुमा नाक, कान घाँटीका समस्याहरु बढी मात्रामा देखिने गरेको उनको भनाई छ ।
राप्ती लाईफ केयर अस्पतालमा पनि बिरामीहरुका चाँप निकै बढिरहेको छ । अस्पतालमा अहिले सामान्य रोेगका बिरामीहरुसँगै हाडजोर्नी हृदयघातका बिरामीहरुसमेत उपचार गराउन आउने गरेको अस्पताल निर्देशक जीवन भण्डारीले जानकारी दिए ।
दैनिक सरदर ८० जना बिरामीहरु स्वास्थ्य उपचार गराउने आउने गरेको बताउँदै उनले भने ‘प्राय रुघाखोकी, टाईफाईड, छालाजन्य रोगको समस्या भएका बिरामीहरु धेरै छन् ।’
यस्तै पाल्पाली पोलिक्लिनिकका निर्देशक सुरज ज्ञवालीले सबैभन्दा बढी बालबालिका र महिलाहरुमा भाईरल ज्वेरो, रुघाखोकी, टाइफाईडका बिरामी बढी आउने गरेको बताए ।
व्यक्तिगत सरसफाई, खानपिनमा ध्यान, खानेपानीमा ध्यान नदिदा कुनै पनि सामान्य रोगले ठूलो रुप लिन सक्ने हुँदा सजक हुन चिकित्सकले सुझाव दिने गरेका छन् ।
गर्मी समयमा धुलो धुवाँ, प्रदूषण धेरै हुने भएकाले व्यक्तिगत सुरक्षाका लागि माक्स अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने चिकित्सकको भनाई छ । यस्तै बासी तथा सडेगलेका अथवा बजारमा तयारी अवस्थामा रहेका खानेकुराहरु समेत नखान आग्रह गरेका छन् ।
पेय पदार्थ तथा अन्य पदार्थहरुको प्रयोगले छाला तथा नाक, कान घाँटीको समस्या उत्पन्न हुने भएकाले विशेष ध्यान दिन समेत उनीहरुले सुझाव दिए । दिउँसोको समयमा गर्मी धेरै हुने भएकाले पुर्णरुपमा शरीर छोप्ने तथा नरम खालका लुगा लगाउनसमेत उनीहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *