मोतीराम भट्टको १५३औँ जन्मजयन्ती

मुख्य खबर समाज

तुलसीपुर, २४ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३औँ जन्मजयन्ती आइतबार साहित्यिक कार्यक्रमको आयोजना गरी तुलसीपुरमा मनाइएको छ । दाङ साहित्य तथा साँस्कृतिक प्रतिष्ठान तुलसीपुरको आयोजनामा साहित्यक कार्यक्रमका साथ मोतीराम भट्टको १५३औँ जन्मजयन्ती मनाइएको हो । विसं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनको मृत्यु भएको थियो । भट्टले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपि खोजी उनले नै विसं. १९४१ मा प्रकाशन गराएका थिए । आइतबार तुलसीपुरमा भट्टको १५३औँ जन्मजयन्तीको अवसर पारी विभिन्न दर्जन बढी साहित्यकारहरुले भट्टको जिवनी तथा आफ्ना विभिन्न रचनाहरुसमेत वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षता तथा पुरस्कार संस्थापक एवं सल्लाहकार भूवनेश्वर आर्चायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्राध्यापक गजाधर पौडेल, गणेश विषम, खुमानन्द अधिकारी, नवराज रजौरे, गेहेन्द्र चूडामणि रजौरे, कृष्ण बहादुर डाँगी, हिमालक्ष्मी आचार्य, एकुकु प्रसाद रेग्मी, रेखा शर्मा गौतम, संगीता उपाध्यायलगायतका साहित्यकारहरुले आफ्ना विभिन्न रचना वाचन गर्नुका साथै भट्टको जिवनीबारे आफ्ना धारणा राखेका थिए । प्रतिष्ठानका सचिव शेषमणि रिजालले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य कृष्ण बहादुर डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *