मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मुख्य खबर समाज

देउखुरी, २६ फागुन । दाङको देउखुरीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्युभएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोकिदा मोटरसाइकल चालक लमही–२ निवासी २० वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका–६ निवासी अमिस चौधरी घाइते भएका छन् । घाईते दुबैजनाको अहिले बुटवलमा उपचार भैरहेको छ । घटनास्थल नजिकै रहेको प्रहरी चौकी रहे पनि दुर्घटनाबारे थाहा नपाउँदा घाईतेहरुको समयमै उद्धार गर्न नसकिएको स्थानीयले बताएका छन् । दुर्घटना राति साढे १ बजे भएको थियो ।

महरा परिवारलाई साढे सात लाख क्षतिपूर्ति

यसैबीच टिप्परको ठक्करबाट मृत्युभएका बंगलाचुली गाउँपालिका–३ का ठाकुरप्रसाद महराको परिवारलाई साढे ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । शुक्रबार घोराही मुर्कुटी सडकखण्डको घोराही उपमहानगरपालिका–४ कुमाकी ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार महराको मृत्युभएको थियो ।
दुर्घटना पछि पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाहीको माग गर्दै पीडित पक्षले बंगलाचुलीको तापा चोकमा सडक अवरुद्ध पारेका थिए । टिप्पर ब्यवसायी, स्थानीय जनप्रतिनिधि र पीडित पक्षबीच भएको छलफलबाट बिमा बाफतको ५ लाख र टिप्पर व्यवसायीले साढे २ लाख रुपैयाँ दिने सहमति भएपछि सडक खुलेको हो ।
घोराही मुर्कुटी सडक मदन भण्डारी राजर्मागमा परेपछि कालोपत्रे गर्नका लागि पहिलो चरणको काम हुदै आएको र सोही काममा प्रयोग हँुदै आएको टिप्परले मोटरसाईकललाई ठक्कर दिएको थियो । गम्भीर घाईते अवस्थामा महरालाई उपचारका लागि घोराही ल्याउने क्रममा बाटोमै मृत्युभएको थियो । मोटरसाईकल चालक बंगलाचुलीकै कमलाल पौडेलको खुट्टामा चोट लागेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । टिप्पर चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । चालकको ठेगाना पत्ता लागे पनि पक्राउ पर्न नसकेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *