मैले नेपाललाई चिनाए तर नेपाले चिनेन

फिचर मुख्य खबर

तुलसीपुर, १४ मंसिर । श्याम रोका लामो समयदेखि सितोरियो कराँतेका खेलाडी हुन् । उनी गत कार्तिकमा मात्र मलेसियामा सितोरियो गोजुरियो इन्टरनेसनल कराते प्रतियोगितामा द्वितीय स्थान हासिल गरे ।
अन्तर्राष्ट्रियस्तरको खेल खेल्नका लागि मलेसियामा पुगेका रोकाले द्वितीय स्थान हासिल गरेपछि नेपालको प्रतिष्ठा विश्वमा बढाए । मलेसियामा खेल खेल्नका लागि आफ्नै करिब ३ लाखको लगानीमा मलेसिया पुगेका उनले द्वितीय स्थान हासिल गरिसकेपछि पनि नेपाल सरकारले कुनै वास्ता गरेको छैन् ।
मलेसियामा खेल खेलेर नेपाल फर्केपछि उनलाई लगानी फिर्ता त कहाँ हो कहाँ ? कसैले स्वागतसम्म गरेन् । सितोरियो कराँतेबाट नेपाललाई विश्वमा चिनाउने प्रयास गरेका उनलाई नेपाल सरकारले नचिनेपछि उनी निकै दुखी छन् ।
‘मलेसियामा सितोरियो कराँते खेल्नका लागि म आफ्नै लगानीमा पुगेँ, मैले खेल हारेको भएपनि एउटा कुरा हुन्थ्यो तर खेल जित्दासमेत नेपाल सरकारले वेवास्ता गरेको छ’ उनले भने–‘सरकारले न सितोरियो कराँते खेललाई चिनेको छ, न त खेलाडीलाई नै ।
विस २०६० सालदेखि सितोरियो कराँते खेल्न थालेका उनी अहिले फोर्थ डान र प्रशिक्षक हुन् । कराँते खेलबाट नेपाललाई चिनाउनकै लागि मलेसियासहित थाइल्याण्ड, भारत, फ्रान्सलगायतका देशमा खेल खेल्न पुगेका उनले लाखौँ रकम गुमाएका छन् ।

‘एउटा देशमा जाँदा ३ देखि ४ लाखसम्म खर्च गर्ने गरेको छु, ४÷५ देशमा जाँदा कति रकम खर्च भयो होला ?’ उनले भने– ‘नेपालका तर्फबाट विश्वमा कराँते खेलमा सहभागी हुँदा पनि सरकारले अहिलेसम्म पाँच पैसा पनि लगानी गरेको छैन् ।
सरकारले खेल क्षेत्रको प्रवद्र्धनका लागि थुप्रै प्रयास थालेको छ । तर पनि कतिपय खेल र खेल र खेलाडी अहिले पनि ओझेलमा छन् । सितोरियो कराँते खेलका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका उनले अब पनि सरकारले सहयोग नगरे पलायन हुनसक्ने भन्दै दुःख व्यक्त गरेका छन् । ‘जिन्दगी कराँते खेलमै बित्यो तर केही उपाय छैन् जीवन जीउने आधार’ उनले दुखेसो सुनाए ।
सल्यानको कपुरकोट गाउँपालिका–२ गर्पामा जन्मिएर काठमाडाँैलाई कर्मथलो बनाएका उनले केही नयाँ खेलाडी उत्पादन गर्दै जीविकोपार्जन गरेका छन् । ‘अहिलेसम्म केही कमाएको छैन्, गुमाएको मात्र छु, परिवारबाट पनि टाढा भएको छु’ उनले भने– ‘कतिञ्जेल यस्तै चल्ला र जिन्दगी ?’ मध्यम वर्गीय परिवारमा हुर्किएर पनि सितोरियो कराँतेमा अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल रोकाले सरकारले आफ्नो आवाज सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् ।

‘सम्मान दिन नसक्ने सरकारले पैसाको आशा झनै के गर्नु र ? तैपनि अभावले कहिलेकाहीँ धेरै आशा राख्दो रहेछ’ उनले भने– ‘हामी पहुँच नहुनेहरूको केही पनि काम छैन् रहेछ, अहिले पनि पैसा र पावरको भरमा हाम्रा सयन्त्र छन् र त दुःख लाग्छ ।’
सानैबाटै कराँतेमा खेलमा रूचि भएकाले अहिले अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल भएको उनले बताए । ‘थुप्रै मेहनत र लगानी गरेको छु तर अहिलेसम्म कुनै पनि सरकारले चिन्न सकेको छैन्’ उनले भने– ‘व्यक्तिगत लगानीमा कतिञ्जेल टिक्न सकिएला र ?’ उनले अगाडि थपे– ‘तीनै तहका सरकारले खेल र खेलाडीमा लगानी गरेको भनेर थुप्रै खबरहरू सुनेको छु तर त्यो लगानी कहाँ जान्छ, कस्तो खेलमा लगाइन्छ ?’
सरकारले खेलाडीलाई प्रोत्साहन गर्न नसक्दा खेलाडीहरू विदेशिनु पर्ने बाध्यता रहको उनले सुनाए । ‘पहुँचको भरमा कसैलाई माथि उठाइन्छ, तर दक्ष, सक्षम खेलाडी अहिले पनि पर्दा पछाडि नै छन्’ उनले भने–‘आफूहरूको योगदानको पनि सरकारले बुझ्नसके राम्रो हुने थियो । सितोरियो कराँतेबाट अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाएका कराँते खेलाडी श्याम रोकालाई सरकारले समयमै चिन्न सक्नुपर्दछ’ ताकी यस्ता खेलाडीले नेपालको शिर सधै उच्च राख्न सहयोग गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *