मेट्रो कलेजमा नगरबासीलाई ५० प्रतिशत छुट

फिचर मुख्य खबर समाज

तुलसीपुर, १६ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्ष्टिच्युट सुरु भएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तीन वर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले बताए ।
‘कार्यक्रम सञ्चालनको सबै प्रक्रिया पूरा भएको छ, अब हामीले भर्ना कार्यक्रमलाई अगाडि बढाउन थालेका छौँ’ प्रमुख गौतमले भने । उनले अन्य प्राविधिक शिक्षालयभन्दा सहुलियत दरमा विद्यार्थीलाई गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको पनि बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले यो वर्ष ४० जना विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको छ ।
कलेजले असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाएको पनि प्रमुख गौतमले बताए । यसैबीच कलेज सञ्चालनको तयारीका लागि सञ्चालक समिति अध्यक्ष एवं तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसेर भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकले गरेको निर्णय अनुसार कलेजमा अध्ययन गर्ने नगरबासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिइनेछ । यसैगरी बैठकले पशुपति मावि हरिपौरीका विद्यार्थी, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र सहिद परिवार, द्वन्द्वपीडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिने निर्णय गरेको छ ।
कलेज सञ्चालनका लागि वडा नम्वर १२ को हरिपौरीमा सम्पूर्ण भौतिक संरचना निर्माण भइसकेको छ । पहिलो चरणमा विभिन्न कलेजबाट प्रवेश परीक्षा पास गरेका विद्यार्थीहरुलाई भर्ना गरिने र दोस्रो चरणमा पुनः प्रवेश परीक्षा लिइने पनि कलेजले जानकारी दिएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, कलेज सञ्चालक समिति सदस्य भिष्म केसी, भागवत पौडेल, रुद्र डाँगी, सूर्यबहादुर डाँगी, शम्भु रेग्मी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *