‘मूल्य नबढे खोर खाली’

फिचर मुख्य खबर समाज

तुलसीपुर, १२ असोज । दाङका ब्रोइलरपालक किसानले उत्पादित कुखुराको मूल्य नबढे खोर रित्तो पार्ने चेतावनी दिएका छन् । लामो समयदेखि दाना तथा चल्लाको मूल्य बढेपनि उत्पादित कुुखुराको मूल्य नबढेको भन्दै ब्रोइलरपालक किसानहरुले मूल्य बढाउन माग गर्दै आएका पनि छन् ।
किसानहरुले तयारी कुखुराको मूल्य तत्काल समायोजन नभए चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने उनीहरुको भनाइ छ । सप्लायर्सले दाना तथा कुखुराको मूल्य बढाएको तर तयारी कुखुराको मूल्य नबढाएकाले किसान मारमा परेको किसानहरुको गुनासो छ । तयारी कुखुराको मूल्य बढाउन दबाबस्वरुप शनिबार तुलसीपुरमा भेलासमेत गरेका छन् ।
मूल्य बढाउन दबाबस्वरुप तुलसीपुरमा ¥याली तथा विरोधसभा गरेको ब्रोइलरपालक किसान संगठन किसान सरोकार मञ्च दाङका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
‘दानाको र चल्लाको मूल्य बढेको लामो समय भयो तर तयारी कुखुराको मूल्य दिनप्रतिदिन घट्दै जाँदा किसानहरु आन्दोलित हुनुपरेको छ’ उनले भने ‘अब हामी लगत्तै स्थानीय सरकार र सप्लायर्सहरुबीच छलफल गरी मूल्य बढाउन आग्रह गर्छौँ, मागको सुनुवाई नभए कात्तिकको दोस्रो सातादेखि चल्ला खरिद बन्द गर्छौँ उत्पन्न हुने परिस्थितिको हामी जिम्मेवार छैनौँ ।’
उत्पादित तयारी कुखुराको मूल्य नबढे पुस १ गतेदेखि तयारी कुखुरा नै पूर्णरुपमा रोक लगाउने मञ्चका सचिव दानबहादुर बस्नेतले बताए । ‘अहिलेको खोर काँटा मूल्य १९० मा झरेको छ,
यो मूल्य पाँच वर्षअघि हामीले पाएका थियौँ’ उनले भने ‘जतिबेला दानाको मूल्य प्रतिबोरा २२ सय थियो, अहिले ३५ सय पुग्दा पनि सोहि मूल्यमा तयारी बेच्न हामी किसान बाध्य छौँ, कतिन्जेल हामीले नोक्सान सहिरहने ? बाध्य भएर हामी खोर नै खाली गर्ने निष्कर्षमा पुगेका छौँ ।’
अर्का ब्रोइलरपालक किसान शेरबहादुर वलीले विभिन्न बहानामा उत्पादनमा तयारी कुखुराको मूल्य घट्दा व्यवसाय नै धरापमा परेको बताए । ‘खै सरकार किसानका कुरा सुनेको ? किसान जहिले पनि मारमा परेका छन्, उनले भने ‘मूल्य समायोजनमा स्थानीय सरकारको ध्यान तत्काल जावस् ।’
उत्पादिक कुखुराको मूल्य बढाउन तुलसीपुरमा शनिबार भेला भएका ब्रोइलरपालक किसानले ‘किसानको हकहित सुनिश्चित गर’ ‘तयारी कुखुराको मूल्य उचित दे’ ‘बिचौलिया होसियार’ लगायतका प्ले कार्ड बोकेर ब्रोइलरपालक किसानले तुलसीपुर बजारको परिक्रममा गरेका छन् । तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट शुरु भएको ¥यालीले बजार परिक्रममा गरी सभामा परिणत भएको थियो ।
मञ्चका अध्यक्ष न्यौपानेको अध्यक्षता एवं सल्लाकार गेमलाल न्यौपानेको प्रमुख आतिथ्यतामा बृहत भेला भएको हो । कार्यक्रममा सहभागी किसानले तयारी कुुखुराको मूल्य नबढाए खोर खाली गर्नेसमेत चेतावनी दिएका हुन् ।
कार्यक्रममा मञ्चका कोषाध्यक्ष कुमार भण्डारी, घोराही उपसमिति अध्यक्ष प्रकाश नेपाली, खेम आरसी, हेमन्त पाण्डे, शेरबहादुर वलीलगायतले मूल्य बढाउन दबाबका लागि सबै किसान एकजुट हुनुको विकल्प नभएको बताए । मञ्चका सचिव दानबहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरोज खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *