मुद्दा बढ्दै, जनशक्ति अभाव

फिचर मुख्य खबर

उच्च अदालत तुलसीपुरः तुलसीपुर, १ साउन । उच्च अदालत तुलसीपुरमा वर्षेनी मुद्दाको संख्या बढ्दै गएको छ । अदालतले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न शीर्षकमा अदालतमा मुद्दाको संख्या बढ्दै गएको देखिएको छ । अदालतका रजिष्ट्रार रामप्रसाद भट्टराईका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा नयाँ ६ सय १७ मुद्दा दर्ता भएका थिए ।
त्यस्तै अदालतमा अघिल्लो आर्थिक वर्ष ०७४÷७५ मा ४ सय ९३ मुद्दा दर्ता भएका थिए । उच्च अदालत तुलसीपुरमा आर्थिक वर्ष ०७४÷७५ को तुलनामा २५ दशमलव २५ प्रतिशतले वृद्धि भएका हुन् ।
नागरिकमा न्यायीक निकायप्रतिको विश्वसनीयता बढ्दै गएको, नागरिकमा सचेतना बढ्दै र बढ्दो जनसंख्यामा बढ्दै गरेको अपराधका कारण अदालतमा वर्षेनी मुद्दा बढ्दै गएको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताए ।
‘अदालतमा मुद्दा बढ्दै जानुको सकारात्मक कारण नै अदालतले गर्ने न्याय सम्पादनमा नागरिकको विश्वसनीयता बढ्दै जानु हो’ उनले भने, अर्को कुरा नागरिकमा सचेतना पनि बढ्दै गएका कारण पनि अदालत विगतको वर्षको तुलनामा मुद्दाको संख्या बढ्दै गएको छ ।
‘अदालतमा मुद्दा बढ्दै गए पनि न्याय सम्पादनको काम पनि वर्षेनी बढ्दै गएको छ ।’ अदालतमा मेलमिलापमार्फत हुन सक्ने मुद्दाहरु मेलमिलापमै समाधान हुने पनि गरेका छन् । ‘अदालतमा आइसकेका मुद्दाहरु मेलमिलापमै समाधान हुने मुद्दा रहेछन् भने मेलमिलामै समाधान गर्ने प्रयास गछौँ’ उनले भने । उच्च अदालत तुलसीपुरमा मेलमिलापसम्बन्धी ११४ मुद्दामध्ये २९ वटा मुद्दा फछ्र्यौट गरेको सुवेदीले बताए ।
उच्च अदालत तुलसीपुरमा लक्ष्यभन्दा बढी मुद्दाहरु फछ्र्यौट हुने गरेका छन् । अदालतमा आर्थिक वर्ष ०७३÷७४ मा ९ सय २९ मुद्दा मध्ये ५ सय ५६ मुद्दा फछ्र्यौट भएका थिए भने २ सय ७३ वटा मुद्दा अर्को आर्थिक वर्षमा सरेका थिए ।
त्यस्तै आर्थिक वर्ष ०७४÷७५ मा ७ सय ६६ मुद्दामध्ये ६ सय २ मुद्दा फछ्र्यौट भएका थिए भने १ सय ८४ मुद्दा अर्को आर्थिक वर्षमा सरेका थिए । त्यस्तै आर्थिक वर्ष ०७५÷७६ मा ८ सय १ मुद्दामध्ये ६ सय ६ मुद्दा फछ्र्यौट भएको र १ सय ९५ मुद्दा चालु आर्थिक वर्षमा सरेका छन् ।
उच्च अदातलत तुलसीपुरले वितेको वर्षमा ५ सय ५३ मुद्दा फछ्र्यौट गर्ने मुद्दा दर्ता लक्ष्य रहेकोमा लक्ष्यभन्दा ५३ वटा बढी मुद्दा फछ्र्यौट भएको रजिष्ट्रार भट्टराईले बताए ।
प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा कार्यक्षेत्र रहेको उच्च अदालत तुलसीपुरले विपन्न÷निम्न आयस्तर रहेका नागरिकलाई पनि निःशुल्क सेवा दिने गरेको छ ।
अदालतले समुदायमा न्यायपालिकासम्बन्धी पनि जानकारी दिने गरी विभिन्न समयमा यस्ता कार्यसमेत गर्दै आएको छ भने अदालत प्रति सहज धारणा विकास गर्नका लागि थारु भाषामा पनि न्यायकासम्बन्धी कुराहरु जानकारी गराउन लागेको न्यायधीश सुवेदीले बताए ।
यसैबीच उच्च अदालत तुलसीपुरले यस वर्षदेखि वाणिज्य इजलास गर्ने भएको छ । तुलसीपुरमा वाणिज्य इजलास नहुँदा वाणिज्य सम्बन्धी मुद्दाका लागि नेपालगंज तथा अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको मुख्य न्यायधीश सुवेदीले जानकारी दिए ।
जनशक्ति नहुँदा समस्या
उच्च अदालत तुलसीपुरमा आवश्यक जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ । अदालतका मुख्य न्यायधीश सुवेदीका अनुसार अदालतमा ६ जना न्यायधीशको दरबन्दी भएपनि अहिले ४ जना न्यायधीशमात्रै हुँदा कार्य सम्पादनमा कठिनाई रहेको बताए ।
‘अदालतमा न्यायधीशको दरबन्दी कम हुँदा पनि लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेका छौँ, तर फैसला लेखनमा समस्या हुने गरेको छ’ मुख्य न्यायधीश सुवेदीले भने ‘हामीले गुणात्मकरुपमा काम गरेका छौँ तर दक्ष कर्मचारीको अभावमा केही समस्या रहिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *