- Advertisement -spot_img
Friday, April 16, 2021
Homeविचारमुक्तिनाथ धाम दर्शन

मुक्तिनाथ धाम दर्शन

- Advertisement -spot_img

नवराज रजौरे

विश्वकै सुन्दर र शान्त मुलुक हाम्रो नेपालका धार्मिक तीर्थस्थल र धामहरुमध्ये पवित्रतम मानिएको मुक्तिानथ धाम धौलागिरी अञ्चलको अति विकट जिल्ला मुस्ताङमा अवस्थित छ ।
दाङको तुलसीपुरदेखि मुक्तिनाथसम्मको दूरी लगभग ५०० किलोमीटर रहेको छ । मुक्तिनाथ धामको दर्शन गर्ने प्रवल इच्छा ५÷६ वर्ष अघिदेखि रहेको थियो, तर विभिन्न परिस्थितिले जान सकिएन । यसपटक भने साइत जुर्न सकेको अनुभव गरियो यो पनि खुशीको समय सम्झेको छु ।
यही मिति २०७६ साल बैशाख २५ गते हाम्रो भ्रमण शुरु हुन्छ । भ्रमणाको सहयात्रीहरु तुलसीपुरबाट नवराज रजौरे, लीलादेवी रजौरे, तिलक न्यौपाने र उषा न्यौपाने रहेका छन् भने पोखराबाट खगेन्द्रराज रजौरे, प्रीति रजौरे,
निश्चल न्यौपाने र प्रियम्सा रजौरे रहेका छन् । यसैगरी स्कारपियो गाडीका चालक कमल वली र सहयोगी दोर्ण केसी पनि हाम्रो साथमा रहेका थिए । गाडीको चाँजोपाँजो मिलाई दिने हाम्रो आफन्त नारायणपुर निवासी अनन्त रजौरे (शिवु)लाई पनि म धन्यवाद दिन चाहन्छु ।
किनभने उनले हामीलाई राम्रो बलियो गाडि र गाडी चालक (आफै मालिक) इमान्दार तथा असल मासिनको प्रबन्ध मिलाइ दिएका थिए । धाम दर्शनका लागि जाने सबैजना मेरा आफन्त थिए । मेरी श्रीमती, ज्वाइँ, छोरी, छोरा, बुहारी, नाति र नातिनी रहेका थिए ।
बैशाख २५ गते बिहान ७ः४५ बजे तुलसीपुर–६ रजौराबाट हामी दुईजना बुढाबुढी मुक्तिनाथ धामका लागि भ्रमम शुरु ग¥यौं । तुलसीपुर–५ बाट ज्वाइँ र छोरीको पनि साथ रह्यो । नारायणपुरको खैराबाट दोर्ण के.सीको उपस्थिति रह्यो ।
बिहान सबेरै भोजनको व्यवस्था मिलाई सकेको हुनाले हाम्रो यात्रामा शितल र सुमधुर बन्दै गयो । दिउँसो १ बजे बुटवल पुगेर गाडी उत्तरतिर लाग्यो । सिद्धबाबाको मन्दिरदेखि अगाडि सडक जीर्ण भएकोले मर्मत गर्ने सन्दर्भमा सडक धुलाम्मे देखिन्थ्यो ।
पाल्पाको केराबारी पुग्दा र मिठा केरी खाँदा सबैको मन रमायो । हामी अघि बढ्दैछौं । पाल्पाको सत्यवती ताल नजिक पुग्दा केही दmुख लाग्यो किनभने ऐतिहासिक र प्राकृतिक सुन्दरता बोकेको त्यो ताललाई पर्यटकीय स्थल बनाउन र सजाउन त्यस क्षेत्रका बासिन्दा र स्थानीय सरकारले चासो नदिएको झै लाग्यो । मर्मत र निर्माण खोजेजस्तो लाग्यो सत्यवती तालले । पाल्पाको आर्यभञ्ज्याङ हुँदै स्याङ्जा जिल्ला प्रवेश ग¥यौं ।
स्याङ्जा जिल्लाका डाँडाकाँडाहरु, रुखवृक्षको हरियाली, मकै, धानबाली, खोलानालाहरुको रसिलो र मनमोहक वातावरणले यात्रुहरुलाई आकर्षित ग¥यो ।
स्याङ्जाको वालिङ बजार, पुतली बजार र गल्याङ बजारका राता भवन र सुन्दर बस्तीहरुले गर्दा स्याङ्जा प्रकृतिकै बरदान हो जस्तो लाग्यो । गल्याङको जोमसोम होटल थकाली खानामा भोज ग¥यौँ ।
मिठा र सस्तो होटलको प्रशंसा गर्नैपर्छ । स्याङ्जामा पक्की सडक भएपनि ज्यादै घुम्तीहरु भएको हुनाले रिङ्गाटा लाग्ने र उल्टी हुने सम्भावना देखियो । अरु सबै राम्रो पाइयो ।
राति ८ बजेतिर पोखराको लेक साइट होटल बोमामा विश्राम । खाना आफ्नै थियो । २६ गते काठमाडौँबाट रात्रिबसद्वारा छोरा बुहारी, नाति, नातिनीहरु खगेन्द्र, प्रीति, निश्चल, प्रियन्सा ६ बजे बिहानी उही होटलमा आइपुगे ।
सबैको खाना बन्यो । ९ः३० बजे हाम्रो यात्रा पुन जारी रह्यो । पोखराबाट उत्तर लाग्दै पुनः पश्चिम हुँदै हेम्जा बजारलाई छुदै लुङ्ले डाँडातिर उकालो लाग्यौँ । शितल वातावरणमा रमाउँदै अघि बढ्यौँ ।
केही घण्टा पछि पर्वत जिल्लामा प्रवेश ग¥यौं । पर्वत जिल्लामा डाँडाहरु रुख वृक्षले भरिएका, सडकहरु राम्रा भएकाले यात्रा राम्रै बन्यो । त्यसपछि दुर्गम जिल्ला म्याग्दीमा प्रवेश ग¥यौँ । म्याग्दीमा गलेश्वर शिवालय मन्दिरको स्थापना भएको ।
भगवान महादेवले आफ्नी प्रिय पत्नी सतिदेवी (दक्षपुत्री) को मृत् शरीर बोकेर विह्वल भएर नेपाल–भारतका विभिन्न स्थलहरुमा घुम्ने क्रममा त्यस स्थानमा पुग्दा गला पतन भएर गलेश्वर नाम रहेको धर्मगन्थ्रमा उल्लेख छ ।
त्यस पवित्र मन्दिरमा गलेश्वरको सम्झना र प्रार्थना गर्दै अघि बढ्यौँ । म्याग्दी जिल्लामा डाँडाहरु आधा माथिल्लो भागहरु वनस्पतिविहीन रहेको र तल्लो भागमा हरियाली वनजंगल देख्न सकिन्थ्यो । बाटामा म्याग्दी जिल्लाको बेनी बजार, लेते, तातोपानी, घाँसाजस्ता उल्लेखनीय स्थलहरुमा चिया नास्ता गर्दै हामी अघि बढ्यौँ ।
म्याग्दी पछि हिमाल पारीको विकट जिल्ला मुस्ताङ प्रवेश ग¥यौँ । २६ गते राति जोमसोम सदरमुकाम पुग्यौँ । त्यहारुको एक होटलमा बासगासको व्यवस्था मिलाइयो । २७ गते बिहान सबेरै उठी नित्यकर्म र स्नानपछि गाडीद्वारा कालीगण्डकीको पूर्व किनार हुँदै उत्तरतर्फ लाग्यौँ ।
८ः३० बजे कागवेनी पुगेर कृष्णा काली गण्डकी नदीमा स्नानादि कर्म गरी एकजना पण्डितको समीममा जौको पिण्ड दिई सम्पूर्ण पितृहरुको श्राद्ध गर्दै तर्पण गरियो ।
बिहान ९ बजे कागवेनीको कार्य सम्पन्न गर्दै ९ः३० बजे मुक्तिनाथको दर्शनार्थ पूर्वतिर यात्रा प्रारम्भ भयो । कागवेनीदेखि मुक्तिनाथसम्मको मित्रराष्ट्र चीनको सहयोगद्वारा पक्की सडक निर्माण भइसकेको रहेछ । अत्यन्त खुशी लाग्यो ।
यात्रा सहज बन्न सक्यो । ८ जना सहयात्रीहरुमा मुक्तिनाथ पुग्नै लाग्दा र केही उकालो चढ्दा लेक लागेर एकजना सदस्य आधा बाटोमै बिरामी भइन् । उपचारपछि मुक्तिनाथ पु¥याइयो । ११ बजे उपचारपछि मुक्तिनाथ पु¥याइयो ।
११ बजे पवित्र मन्दिर परिसरमा प्रवेश ग¥यौँ । सर्वप्रथम १०८ धारामा र धर्मकुण्ड पापकुण्डमा स्नान ग¥यौँ । मन्दिरमा भगवानको पूजा आराधना गरी यज्ञकुण्डमा चरुद्वारा हवन,
धुप दीप प्रज्वलन, भगवान विष्णु, शिवजीलाई पहेंलो वस्त्र, देवीहरुलाई रातो वस्त्र र भेटी चढाइयो । मुक्तिनाथको दर्शनपछि सबैलाई पूर्ण आत्मसन्तुष्टि प्राप्त भएको अनुभूति गरियो ।
मुक्तिनाथबाट फर्कने क्रममा २ बजे रानीपौवा धर्मशालामा प्रसाद ग्रहण र बेलुका जोमसोमस्थित गणेश मन्दिर धर्मशालामा विश्राम र प्रसाद ग्रहण । २८ गते म्याग्दी जिल्लाको तातोपानीमा स्नान गरी बेनी बजारमा भोजन ग¥यौँ ।
म्याग्दी र बाग्लुङ जिल्ला जोड्ने पुल पार गरी बेलुका ६ः३० बजे पोखरा पुग्यौँ । निश्चल रात्रीबसद्वारा काठमाडौँ, भोलिपल्ट खगेन्द्र, प्रीतिर प्रियम्सा दिवा सेवा बसद्वारा काठमाडौँ प्रस्थान । बाँकी सदस्यहरु बिहान विन्दवासीको दर्शनपश्चात् दाङतिर प्रस्थान ।

मुस्ताङ जिल्लाका केही भौगोलिक अवस्थाहरु यसरी बनेका छन्ः–

१. कृष्णाकाली गण्डकी नदी दुई नदीहरुको सङ्गमको रुप हो । कागवेनीमा उत्तरतिर दामोदर कुण्डबाट कालीगण्डकी र पूर्वतिरबाट कृष्णा गण्डकी नदी आएर मिल्दछन र कृष्णाकाली गण्डकी नाम रहेको छ ।
२. कृष्णाकाली गण्डकी नदीबाट मुस्ताङ जिल्लाको धेरै समथर उब्जाउ फाँट बगरमा परिणत भएको देखियो र म्याग्दी जिल्लादेखि नदी साँघुरो बन्दै बगेको छ ।
३. उक्त नदी नारायणी नपुग्दासम्म सबै ठाउँमा पानी कालो र लेदोजस्तो देखिन्छ ।
४. मुस्ताङका डाँडाकाँडाहरु अग्ला होचा र जो भएपनि नाङ्गा र वृक्षरहित छन् । जोमसोम नजिकै भने होचा डाँडाहरुमा पर्वतारोहण अभ्यासका लागि प्रयोग भइरहेका छन् ।
५. यहाँ वन्यजन्तुहरु नदेखिने र लेकहरुमा भेडा, च्याङ्ग्राहरु चरिरहेका देखिन्थे । चौरी गाईहरु देखिएनन् । साधारण गाईहरु होचा र कतै–कतै देखिन्थे ।
६. पक्की सडक मुक्तिनाथ नजिकै पुगेको हुनाले प्रायजसो पर्यटकहरु गाडीबाट आवतजावत गर्दथे । घोडाहरुको सवारी न्यून भएको देखियो ।
७. मुस्ताङबासीहरुको मुख्य व्यवसाय होटल र लज सञ्चालन रहेछ ।
८. पर्याप्त मात्रामा हवाईजहाज र हेलिकोप्टरहरु चलेको देखियो ।
९. धौलागिरी, अन्नपूर्ण र माछापुच्छ«े हिमालहरु भन्दा पनि अझ उत्तरमा मुस्ताङ जिल्ला पुगेको हुनाले यसलाई हिमालपारीको जिल्ला भनिदो रहेछ ।
१०. मुक्तिनाथ मन्दिर क्षेत्रको अवस्थितिले गर्दा मुस्ताङ जिल्लाको भविष्य उज्वल रहेको देखिन्छ ।
म्याग्दी जिल्लाको बेनी बजारबाट उत्तरका केही स्थलहरुको दूरी निम्नानुसार रहेको जानकारीको लागि यहाँ टिपोट गरिएको छ ।
१. गलेश्वर शिवालय ३ किलोमीटर
२. तातोपानी २३ किलोमीटर
३. रुप्से वाटरफाल विश्वकै लामो ३१ किलोमीटर
४. घाँसा ३७ किलोमीटर
५. लेते ४४ किलोमीटर
६. टुकुचे ५९ किलोमीटर
७. मार्फा ६७ किलोमीटर
८. जोमसोम ७३ किलोमीटर
९. एक्लीभाटी ८१ किलोमीटर
१०. झारकोट ९२ किलोमीटर
११. मुक्तिनाथ मन्दिर ९६ किलोमीटर

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here