मावि तुलसीपुरमा अक्षयकोष

मुख्य खबर समाज

तुलसीपुर, २३ असार । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा घनगंगा–उमेश स्मृति पुरस्कार स्थापना गरिएको छ । उक्त विद्यालयका संस्थापक सदस्य, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ रजौराका नारायणप्रसाद रजौरेले १ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
छात्रछात्रालाई प्रोत्साहित गर्ने उद्देश्यले मावि सेन्टरमा कक्षा ११ मा सर्वोत्कृष्ट अंक प्राप्त गरी प्रथम हुने एकजना विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।
अक्षयकोष स्थापनाका लागि दाता रजौरे र विद्यालयका प्रधानाध्यापक भागवत पौडेलबीच सोमबार सम्झौता भएको छ । विद्यालयको नामको बैंक खातामा एक लाख रुपैयाँ दाता रजौरेले जम्मा गरेको विद्यालयका शिक्षक डिल्लीराज रेग्मीले जानकारी दिए । बैंकमा जम्मा गरिएको रकमको ब्याजले प्रत्येक बर्ष सर्वोत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत गरिने छ ।

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

यसैबीच तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा रहेको प्रावि श्रीगैँका विद्यार्थीलाई पन्ध्र हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य कमला जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका सदस्य दिपक कुमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी र नियमित विद्यालयमा आउने विद्यार्थीलाई पुरस्कार वितरण तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालय प्रथम हुने रञ्जीता शर्मा, द्वितीय हुने रेशम खड्का र तृतीय हुने मनकुुमारी खड्का र विद्यालयमा २ सय २ दिन हाजिरी हुने नन्दलाल खड्कालाई पुरस्कार वितरणका साथै शैक्षिक सामाग्री वितरण गरिएको हो ।
विद्यालयमा राप्ती साना मालबहाक यातायात व्यवसायी समितिका अध्यक्ष भुवन भुसालले स्थापना गरेको जोखलाल–पार्वता भुसाल अक्षयकोष र गुमानसिंह केसीले स्थापना गरेको खिर्मता केसी अक्षयकोषबाट विद्यार्थीलाई पुरस्कार वितरण तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा अक्षयकोष दाता भुवन भुसालले विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई आगामी दिनमा सहयोग निरन्तरता रहने बताए ।
कार्यक्रममा राप्ती यातायात सेवा प्रालिका महासचिव वंशीकुमार शर्मा, विद्यालयका प्रधानाध्यापक फर्सराम खनाल लगायतले पुरस्कार तथा शैक्षिक सामाग्री वितरणले विद्यार्थीलाई हौसला मिल्ने बताए । कार्यक्रमको सहजीकरण शिक्षक तुलसीप्रसाद भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *