मानसिक रोगीका लागि उपचार तथा आवास सञ्चालन हुने

फिचर मुख्य खबर समाज

घोराही, २६ असार । घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा निर्माणाधिन अवस्थामा रहेको मानसिक सन्तुलन गुमाएकाहरुको आश्रय, उपचार र परामर्श केन्द्र आगामी भदौदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ ।
हेल्थ फाउण्डेशन, घोराही उपमहानगरपालिका, वडा कार्यालयसहित विभिन्न व्यक्ति एवं संस्थाहरुको सहयोगबाट निर्माणाधिन भवनको काम अन्तिम चरणमा पुगेको र भदौदेखि सञ्चालनमा ल्याउने तयारी भएको प्रेरणाका लागि अभियान नेपाल दाङले जनाएको छ ।
प्रेरणाका लागि अभियान नेपाल दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा बिहीबार घोराही भएको जनप्रतिनिधिहरुका लागि मानसिक स्वास्थ्य प्रवद्र्धन विषयका छलफलमा अभियानका सचिव गुणाकर भुसालले मानसिक सन्तुलन गुमाएर सडकमा आएका व्यक्तिहरुको जिम्मा लिन लागेको जानकारी दिए ।
मानसिक सन्तुलन गुमाएर सडकमा आएर बेसहारा बनेका व्यक्तिहरुको केन्द्रमा राखेर उपचार, परामर्श, संरक्षण गर्ने योजना रहेको र यस बिषय सबैको साझा बन्न आवश्यक रहेको उल्लेख गरे ।
करिब १ करोडका लागतमा भवन तयारी हुन लागेको र २० देखि २५ जनासम्म मानसिक सन्तुलन गुमाएकाको उपचार गर्ने योजना रहेको बताए ।
घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले मानसिक सन्तुलन गुमाएकाहरुको व्यवस्थापनमा सरकारी र गैरसरकारी निकायको समन्वयले प्रभावकारी सुधार ल्याउन सकिने बताइन् ।
मानसिक तनाब व्यवस्थापन, उपचार, शारीरिक अभ्यास, मानसिक आरामलाई विषेश ध्यान दिनु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरिन् ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहाल, उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, डा. प्रभात रिजाल, हेल्थ फाउण्डेशनका सुपरभाईजर गिरीराज पौडेल लगायतले तनाब व्यवस्थापन, चिन्ता नगर्ने र जीवनलाई सरल ढंगले बुझ्ने नै मानसिक स्वास्थ्यको मुख्य उपचार भएको बताए ।
त्यसैगरी हेल्थ फाउण्डेशनका मानेविमर्शकर्ता भूमिका घर्तीमगरले मानसिक समस्या जटिल बन्दै गएको भन्दै जीवनलाई सहज ढंगले जीउन सक्नुपर्ने बताए । तनाब व्यवस्थापनसँगै हरेक कुरालाई सहज ढंगले लिनु नै मानसिक स्वस्थ्य रहने उपाय भएको उल्लेख गरे ।
साविक सौडियार र लक्ष्मीपुरमा मनोविमर्शको कार्यक्रममार्फत विभिन्न समूहमा आवद्ध भएका व्यक्तिहरु र विद्यार्थीहरुमा मानसिक स्वास्थ्यका विषयमा अभिमुखीकरण कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका ठाकुर खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *