मानवीय भावना र संस्कृतिको पर्व तीज

विचार

नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) आउन एकसाता मात्रै बाँकी हुँदा बजारमा चहलपहल बढिरहेको छ । ग्रामीणस्तरमा पनि तीजको रौनकताले छोइसकेको छ । संस्कृति र परम्परा राष्ट्रका सम्पत्ति हुन् ।
हरितालिका तीज पर्वलाई पनि निकै महत्वका साथ लिने गरिन्छ । अविवाहित हिन्दू नारीहरुले सुयोग्य पति पाउँ भनि र विवाहित नारीले श्रीमानको आयु लामो होस् भनेर तीज पर्वमा ब्रत बस्ने चलन छ । तीजको अघिल्लो दिन दर खाने परम्परा छ भने तीजको दिनमा नाचगान गरेर धुमधामका साथ तीज पर्व मनाउने गरिन्छ ।
तर पछिल्लो समय तीज पर्व पनि अलि भड्किलो बन्दै गएको हो की ? भन्ने विभिन्न क्रियाकलापले देखाउने गरेको छ । एक महिना अघिबाट दर खाने, विभिन्न किसिमका गहना प्रदर्शन गर्ने, ठूला–ठूला आवाजमा गीत बजाएर नाच्ने आदि गतिविधिहरु तीज पर्वमा पछिल्लो समय देखिन थालेपछि यो पर्वको महत्व घटेर जाने हो की ? भन्ने चिन्तन गर्न थालिएको छ ।
पर्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै गर्दा पुराना कला, संस्कृति लोप भएर जाने हो भन्ने कुरा चिन्तन, मननको विषय बनेको छ । त्यतिमात्र नभई पछिल्लो समय तीजका गीतमा समावेश गरिने शब्दले पनि समाजलाई नकारात्मक दिशातर्फ लैजाने हो की भनेर चिन्ता व्यक्त गर्न थालिएको छ ।
रितिरिवाज र परम्परा देखावटी शैलीमा भन्दा पनि आफ्नो क्षमता अनुसार मनाउनुपर्छ । तर त्यसो हुन नसक्दा हाम्रा चाडपर्व विकृत बन्दै गएका छन् । तीजलाई कसरी हामीले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दैछौं त ? पर्वलाई तडकभडकभन्दा पनि संस्कारयुक्त कसरी बनाउने ? आदि विषयलाई आजको राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं । 


महिमा थापा
गृहणी

तीज आस्था विश्वास र प्रेमको पर्व हो । विवाहपश्चात् एक नारीको सम्पूर्ण आस्था विश्वास र प्रेम पतिमा केन्द्रित हुन जान्छ । पतिबाटै परिवारको सिर्जना हुने हुँदा तीजलाई पति प्रेम वा पारिवारिक प्रेम र स्नेह बढोत्तरी गर्ने पर्वको रूपमा परिभाषित गर्नु उपयुक्त हुन्छ ।
पत्नीले निष्ठा, प्रेम, आस्था र विश्वासको प्रतिक मानेर पूजित गर्दा निश्चय नै पतिको हृदयमा पनि सोही भाव जागृत हुन्छ र यसबाट पति–पत्नीबीच गाढा सम्बन्ध स्थापित हुन्छ । जहाँ पति–पत्नीमा गाढा प्रेममय सम्बन्ध हुन्छ त्यहाँ परिवार अवश्य खुसी हुन्छ ।
तीज एकातिर मानवीय भावनात्मक पक्षसँग सम्बन्धित छ भने अर्कोतिर यो धर्म र संस्कृतिसँग पनि जोडिएको छ । परिवारमा नारी नै संस्कृति र परम्परालाई धान्दै यसलाई सकारात्मक रूपमा पालना गर्ने र आफ्ना सन्ततीलाई पनि पालना गर्न लगाउने मुख्यकर्ता हो ।
परिवारमा चालचलन र परम्परागत कुराहरूलाई एक असल गृहिणीले नै व्यवस्थित र स्थापित गर्छिन् भने यही कुरा आफ्ना सन्तानहरुलाई पनि सिकाउँछिन् । यसले एकतातिर परम्परा र संस्कृतिको जगेर्ना गर्दछ भने अर्कातिर व्यवस्थित र अनुशासित परिवार कायम गर्न मद्दत गर्छ ।
धर्म वा ईश्वरमा विश्वास गर्ने मानिस कहिले पनि एक्लो हुँदैन । ईश्वरप्रतिको आस्थाले मानिसमा उच्च इच्छाशक्तिको प्रादुर्भाव हुन्छ, नैतिक बल र अदम्य साहस उत्पन्न गरिदिन्छ । फलतः मानिस कूकर्म गर्नबाट रोकिन्छ र पौरखी र कर्तब्य परायण हुन्छ ।
कर्मयोगीहरु सदैव सत्मार्गमा अघि बढ्छन् र आशावादी हुन्छन् । व्यक्ति व्यक्तिबाट समाज र समाजबाट देश बन्दछ । समाजका हरेक व्यक्ति सत्मार्गमा लागे पूरा देश नै व्यवस्थित अनुशासित र कर्तब्य परायण हुन्छ ।
मूलतः तीज आस्था प्रेम र सद्भावनाको पर्व भएता पनि बदलिदो परिवेशमा यसमा अनेकन् आडम्बरहरु भित्रिएका छन् जुन समाजको लागि अजीर्ण बनेर देखापर्दैछ ।
टाढाबाट माइत आएका चेलीहरु यात्राका कारणले गलित हुने र भोलिपल्ट निरहार ब्रत बस्ने हुँदा स्वास्थ्यको ख्याल गर्दै माइतीपक्षले अघिल्लो दिन दूधयुक्त पौष्टिक परिकार खुवाउने गरिन्छ र यसैलाई दर भनिन्छ ।
स्नेह र प्रेम दर्शाउँदै चेलीबेटीलाई दर खुवाउनु निश्चय नै राम्रो पक्ष हो तर गच्छे भुलेर आडम्बरी हुँदै महिना दिन अघिदेखि अनुत्पादक खर्च गर्नु र पुगिसरि आएको देखाउन विभिन्न भोजभतेर गर्नु निश्चय नै तीजमा भित्रिएको विकृत चलन हो ।
परिवारको व्ययभार बढाउने यस्ता कार्यतर्फ हरेक नारी सजग रहन आवश्यक छ । एक विवाहित नारीको लागि तीज मुख्यतः पतिप्रति आस्थाको पर्व हो ।
आस्था मनोभाव हो र यसलाई प्रमाणित गर्नको लागि आफ्नो शरीरको, रोगको र व्यक्तिगत स्वास्थ्य अवस्थाको ख्याल नगरी चलिआएको चलन भन्दै निराहार पानी पनि नपिएर पतिलाई देखाउनु आवश्यक छैन ।
पानी नपिउँदा शरीरमा पानीको मात्रा घट्छ, जलवियोजन भएर ब्रतालुको अवस्था गम्भीर हुनसक्छ । त्यस्तै शरीरलाई अत्यावश्यक खानेकुरा नखाँदा ग्यास्ट्रिक, सुगरका रोगीहरुको अवस्था गम्भीर हुनसक्छ ।
परिवर्तित समयमा अन्धविश्वासमा लागेर आफ्नो शरीरको ख्याल नगरी तीजमा पानी पनि नपिइकन ब्रत बस्नु कहाँसम्म अपरिहार्य हो, त्यो सबैले बुझ्नु जरुरी छ ।
धेरैजसो महिलाहरूले अचेल साँझपख पानी, फलफुल खाने गर्छन् यो सकारात्मक पक्ष हो । पतिले पनि पत्नीको मनोभाव बुझेर त्यसलाई कदर गर्दै पानी र फलफुल खान दिन्छन् ।
अहिलेको परिवेशमा लगभग सबै महिलाहरू कामकाजी भएकोले धर्म, रितिरिवाज, चलनलाई आँखा चिम्लेर चल्दै आएको परम्परा अनुसार मनाउन पर्छ भन्दै तीज मनाउँन जरुरी छैन ।
आस्था, प्रेम र विश्वासको प्रतीक तीजलाई आफू स्वस्थ्य भएर मनाऔँ, पतिसँग भावनात्मक सम्बन्धको बिस्तार गरौँ, आडम्बर र अन्धविश्वासमा लागेर आफूलाई नै अप्ठेरोमा पार्दै पति र परिवारलाई दुःख हुने परिस्थिति निम्त्याउने कार्य नगरौँ ।
हिजोआज धेरै बिकृतिहरु देखापरेको छ यस्ता विकृतिलाई बहिस्कार गर्दै आफ्नो चाडपर्वको जगेर्ना गर्नु हाम्रो दायित्व र कर्तव्य पनि हो । समस्त नेपाली नारीहरूमा तीजको मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *