- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारमाघे संक्रान्ति पर्व

माघे संक्रान्ति पर्व

- Advertisement -spot_img

नेपालीहरुको धर्म संस्कृति प्रकृतिसँग जोडिएको छ । नेपालीहरुले मान्ने चाडपर्वहरु पनि प्रकृतिसँग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ १२५ जातिहरु रहेका छन् । परम्परागत रुपमा मनाइने चाडपर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको सबै जातीहरुमा आ–आफ्नो विशेषता जोडिएको छ । मुलुकभरका विभिन्न नगर, सहर र गाउँहरुमा प्रचलित चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरुको लेखाजोखा गर्न अति नै कठिन छ । प्रत्येक जिल्लाको नगर तथा गाउँहरुमा बर्ष दिनभरि नै कतै न कतै कुनै न कुनै चाडपर्व, जात्रा मेला भइरहेका हुन्छन् । हाम्रो चाडपर्वको बारेमा अध्ययन गर्ने हो भने, काठमाडौँ उपत्यकामा गठाःमुगः अर्थात् घण्टाकर्ण चतुर्दशीदेखि चाडपर्व सुरु हुने गर्दछ । तर हामीहरुले मान्दै आएको चाडपर्व उपत्यका बाहिर असार १५ मा दही चिउरा खाने पर्वबाट सुरु भएको हुन्छ । असार १५ अर्थात् दही चिउरा खाने पर्वको पन्ध्र दिनमा साउने सङ्क्रान्ति आइपुग्छ । साउने सङ्क्रान्ति कुनै विशिष्ट धार्मिक आयाम नभए पनि अधिकांश नेपालीहरुले मीठो मसिनो खाएर लुतो फाल्ने साँस्कृतिक पर्व मानिन्छ । त्यसपछि साउनको १५ लाई खीर खाने दिनका रुपमा लिने गरिन्छ । प्रायः साउनमा पर्दछ गठाःमुगः र नागपञ्चमी । शिव भक्तहरुका निम्ति साउन महिनाको सोमबारहरु पर्वकै रुपमा पूजाआजा गर्ने गरिन्छ ।
भदौमा पर्दछ थारु जातिहरुले मनाउने गुरिया पर्व, तागाधारीहरुको रक्षाबन्धन, नेवार जातिहरुको गाईजात्रा, कृष्ण जन्माष्टमी, गौरापर्व, बाबुको मुख हेर्ने कुशे औँसी र तीज । तीजभन्दा पनि हिजोआज दर खाने दिनको महत्व र आकार बढेको छ । तीजको भोलिपल्ट पर्ने गणेश चौंथीलाई बदमासी गर्ने पर्वका रुपमा मनाउने कुप्रथाको रुपमा लिने गरिएको छ । यो पर्व आजभोलि हराउँदै पनि गएको पाइन्छ । काठमाडाँैको इन्द्रजात्रा र चेपाङ समुदायले मनाउने छोनाम सकिदा नसकिदै सोह्रश्राद्ध सुरु हुन्छ । त्यसको अन्त्यसँगै हिन्दूहरुको मुख्य पर्व दशैँ सुरु हुन्छ । अनि दशैँ नसकिदै सबैलाई तिहारको पर्वले सुरुवात गराउँछ । तिहारसँगै नेपाल सम्वत फेरिन्छ । नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रुपमा मनाइन्छ । अनि छठ आउँछ । मिथिलाञ्चलको चाडका रुपमा चिनिएको छठ हिजोआज पश्चिम तराई र पहाडतिर पनि मनाइन थालेको छ । यो बाहेक शेर्पा, गुरुङ र तामाङ जातिहरुले मनाउने ल्होसार पर्व, थारु जातिहरुले मनाउने माघी पर्वको पनि उतिकै महत्व छ ।
हाम्रो चाडपर्वहरु संस्कृतिकै अभिन्न अंग मानिन्छ । मान्दै आएका जतिचाड पर्वहरु छन, समाजले तिनको संरक्षण र सम्वद्र्धन गर्दै आएका छन् । त्यसैले ती चाडपर्व अनन्त कालसम्म पनि जीवन्त भै रहेको हुन्छ । हाम्रा धार्मिक, सामाजिक र साँस्कृतिक चाडपर्वहरु पुख्र्यौली प्रसाद हुन भन्दा पनि हुन्छ । हामीले मान्दै आएका अधिकांश चाडपर्व र जात्रा अथवा मेलाहरु देवीदेवता र पवित्रताको भावनासँग जोडिएका छन् । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने हामीहरुको प्रमुख चाड हो । माघे संक्रान्तिलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ बर्षको रुपमा मान्ने गर्दछन् । दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर जिल्लामा माघीको विशेष रौनक हुन्छ । माघे सक्रान्ति सबै जातिले मान्ने संस्कृति हो । तर पनि पश्चिम नेपालका थारु समुदायहरुले माघी पर्वलाई ठूलो महत्वका साथ मनाउने गर्दछन् । यो पर्व थारु जातिहरुको मुख्य पर्व पनि हो । थारु जातिहरुले यो पर्व अर्थात् माघी पर्व नयाँ बर्षको रुपमा पनि लिने गर्दछन् । त्यसैले पनि यो पर्व उनीहरुले उत्साहका साथ मनाउँछन् । यो माघी पर्वमा आफ्नो गाउँमा महतो, गुरुवा, पुजारी, धामी, झाक्री, चौकीदार, कमैया, जस्ता घरमा काम गर्ने कामदार आपसी सहमतिबाट एक बर्षको लागी चयन गरिन्छ । यस प्रथालाई माघी देवानी भन्ने गरिन्छ । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघी पर्वमा यी जिल्लाहरुमा अझ विशेष महत्वका साथ मनाउने परम्परा छ ।
माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । यो पर्व माघी पर्वका रुपमा बडो उत्साहका साथ मनाइन्छ । यतिबेला सखियै हो, माघीक पिली गुरी जाँड… भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धुमरु भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि थारु जातिहरुमा लोकप्रिय छ । थारु जाति माघे संक्रान्तिको दिन बिहान घरपरिवारका सबैजना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई माघ लहानु भन्ने गरिन्छ । थारु समुदायमा माघीको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिसहरु एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर आगो तापेर रमाइलो गर्दछन् । राति आगो ताप्ने, भालेबासेसँगै नदी या खोलामा नुहाउने समेत गर्ने चलन रहेको छ । नुहाएर आफूभन्दा ठूलालाई ढोग गरी नजिकै रहेको मन्दिर या तुलसामा जल (पानी) चढाउने समेत प्रचलन रहेको छ । माघको अघिल्लो दिन बिहानै गाउँघरका किसानहरु जम्मा भई बंगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलनसमेत रहेको छ । माघीकै अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच तथा साँस्कृतिक कार्यक्रमको समेत गाउँ–गाउँमा गरिन्छ । आजभोलि माघी उत्सवको रुपमा विभिन्न कार्यक्रमहरु पनि देखाउने गरिन्छ । यो बाहेक माघीकै अवसरमा घर–घरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन रहेको छ । तीन दिनसम्म धुमधामका साथ मनाइने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने चलन पनि रहेको छ । थारु समुदायले माघीकै अवसरमा बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्छन् । यसरी बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँस्तरमै बनाईने चलन छ । खानपिनपछि सहमति अनुसार गाउँका बड्घरको घरमा वा घर–घरमा जम्मा भएर गफको तालमा धमार गीत गाउँदै रातभरी जाग्राम बस्ने चलन रहेको छ ।

वर्ष दिनमा आउने यो चाडको मौका पारेर वर्ष दिनको दुःख कष्टलाई भुलेर राम्रो लगाउने मीठो खाने प्रचलन नराम्रो भने होइन । राम्रो लाउने, मीठो खाने प्रचलनका नाममा हुने खानेले तडकभडक देखाएर यो चाडलाई खर्च गर्ने चाडको रुपमा मनाउने गरेको पनि पाइन्छ । यस्तो तडकभडकले हुने खानेलाई त खासै समस्या नपर्ला तर सानोतिनो आयश्रोत भएकालाई भने त्यसले धेरै नै अप्ठयारोमा पारिदिन्छ । चाडपर्व मनाउदा यसतर्फ पनि सोच्नु पर्दछ ।

माघीको दिन बिहानै स्नान भइसकेपछि घरमा राखिएको अन्न भण्डार छोएर आफूभन्दा ठूलाको आशीर्वाद लिने र सानालाई दिने गरिन्छ । यसदिन गाउँघरका सबै आफन्तबीच भेटघाट हुने गर्दछ । थारुहरु यो दिनलाई मित्रता र मिलनको दिन मान्छन् । आपसी वैमनष्यता बिर्सेर यो दिनसँगै रमाइलो गर्ने चलन छ । माघीका दिन अन्न भण्डार छुने र त्यसलाई आफ्नो विवाहित छोरीचेलीका स्वामित्व हुने गरेर छुट्टयाइ सकेपछि तरुल, फलफूल, ढिक्री, माछामासु खाने चलन छ । यसैदिन थारुहरुको नयाँ बर्ष सुरु हुन्छ । माघीको तेस्रो दिन खिच्रहुवा हो । यसदिन पनि पशुबध निषेध गरिएको हुन्छ । खिच्रहुवाका दिन थारुहरुले शुद्ध खानाको रुपमा खिचडी भात खाने र आफन्त र छिमेकीहरुलाई बाँड्ने चलन छ । यसदिन माघमा पाहुना बस्न आएका आफन्त तथा उनका सन्तानहरुलाई मेला भर्न लगिने चलन पनि छ ।
खिच्रहुवापछि गाउँका मूली भएर काम गर्दै आएका बडघर (भलमन्सा), अघरिया (भलमन्साको सहायक) चौकिदार र चिरक्या (हुलाकी), गँड्धुरिया (घरमूली), भर्रा र केसौका (मुख्य गुरुवा र सहायक गुरुवा) सबैको समीक्षा हुने गर्दछ । उनीहरुको कामको समीक्षा गर्दै राम्रो गरेको भए पुनः जिम्मेवारी दिने हैन भने नयाँ चयन गर्ने चलन छ । यसैदिन घर घरपरिवारमा पनि अघिल्लो बर्षभरी गरेको कामको समीक्षा र आउने बर्षको लागि सरसल्लाह हुने गर्दछ । यो दिन घरमूली राख्ने वा अर्कालाई छान्ने निर्णय हुन्छ । वर्षभरीको हरहिसाब पनि परिवारमा हुन्छ जसलाई खोजनीबोजनी (सोधीखोजी र सार्वजनिक सुनुवाई) भन्ने गरिन्छ । माघीको चौथो दिन मकर सक्रान्तिको बेला छोएर राखेको चामल अन्य सामान आफ्नो विवाहित छोरीचेलीलाई उपहार दिने गरिन्छ जसलाई अग्रासन भन्ने चलन छ । यहि दिनदेखि माघीको विधिवत रुपमा अन्त्य भइ भोज विवाहका कार्यक्रम सुरु हुने गर्दछ । घरपरिवारमा आपसी कलह वा झगडा भएको भए आपसी सहमति अनुसार अंशबण्डा गर्ने काम पनि सुरु हुन्छ । पहिले–पहिले मालिकका घरमा मजदुरको रुपमा बसेका कमैयाँ कम्लहरीहरु माघीमा मालिकको घरबाट काम नगर्ने गरी बिदा लिने गर्थे भने कतिपय मानिस कमैया, कम्लहरी बस्न जान्थे । केही बर्षका लागि बधुवा मजदुर भएर काम गरेका कमैया, कमलरीहरु माघीमात्रै छुट्कारा पाउने चलनले यसलाई स्वतन्त्रताको पर्वको रुपमा समेत लिने गरेका छन् । अहिले कमैया, कम्लहरी राख्ने कार्यलाई सरकारले नै निषेध गरेको छ । तर माघी पर्वको धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व भने झनै बढेको छ ।
माघे सक्रान्ति मगर जातिहरुले पनि विशेषरुपले मान्ने गरिन्छ । विशेषगरी यो पर्व मगर जातिहरुमा चेलीवेटीहरुको पर्व मानिन्छ । मगर जातिहरुले माघे सक्रान्तिमा आफ्नो संस्कृति अनुसार मिश्रा निस्रो, मस्यान्दा खेल्ने, झोम्पलेनी लगाउने, श्याम्भो गाउने, तारो हान्ने, पितृलाई सम्झिने अर्थात् पुज्ने गरिन्छ । मगर जातिहरुबीच माघे सक्रान्तिलाई मुख्य पर्वको रुपमा मनाउने चलन छ्र । माघे सक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रुपमा मनाउने गरेको पाइन्छ । बालकहरु धनु काँड खेल्दै माघे सक्रान्तिको रौनक सुरु गर्दछन् । वन तरुल बिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता रहेको छ । नेपालमा बसोबास गर्ने मगर जातिहरु प्रकृतिप्रेमी हुन । उनीहरुको धर्म, संस्कृति सबै प्रकृतिसँग जोडिएको हुन्छ । नेपालमा मगरहरु अठार मगरात र बाह्र मगरात गरी दुई क्षेत्रमा बसोबास गर्दछन् । बाह्र मगरातअन्तर्गतका पाल्पा, तनहुँ तथा स्याङ्जा जिल्लामा बसोबास छ, भने अठार मगर रोल्पा, रुकुम जिल्लामा बसोबास गर्दछन् । तर भूगोलको हिसाबले जहाँ बसोबास भएपनि माघे सक्रान्ति पर्व सबैले ठूलो पर्वको रुपमा मान्ने गर्दछन् । माघे सक्रान्ति पर्व थारु र मगर जातिको मात्र होइन सबै जातजातिहरुले आफ्नो संस्कृति र परम्परा अनुसार मान्ने गर्दछन् । तर चाडपर्व र संस्कृतिको धनी मुलुक, जहाँ रोजगारीको अवसर छैन । हाम्रा चाडपर्वले धेरथोर सबैलाई खर्च गराउँछ । रोजगारीको लागि विदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ । जब चाडपर्व आउछ तब बजारमा कृत्रिम मूल्य वृद्धि सुरु हुन्छ । खाद्यान्न, लत्ता कपडाजस्ता चाडपर्वमा बढी खपत हुने वस्तुको मूल्य छोइ नसक्ने भएको छ । मनोमानी ढंगले बजार मूल्य बढ्दा, बजारमा अराजकता र अनुशासनहीनता बढ्दै जाँदा पनि सरकार र स्थानीय प्रशासन मूकदर्शक भएर बसिरहेको छ । सरकार मातहतमा विभिन्न अनुगमन र नियमनकारी निकाय प्रभावी बनेका छैनन् । बेलाबखत बजार अनुगमन गरेको प्रचारबाजी गर्छन् तर जतिबेला बजारको गम्भीरतापूर्वक र नियमित अनुगमन गर्नुपर्ने हुन्छ त्यसबेला मौन बसेका देखिन्छन् । यसले गर्दा चाडपर्वमा सर्वसाधारण मानिसहरु मूल्यको मारमा पर्दछन् । चाडपर्वका धार्मिक र सामाजिक महत्व छुट्टै छ । माघे सक्रान्तिलाई नै महत्व मानेर कतिपयले यो चाडको सन्दर्भ पारेर नयाँ लुगा, गहना तथा घरायसी सामान जोड्ने प्रचलन पनि हाम्रो समाजमा छ । वर्ष दिनमा आउने यो चाडको मौका पारेर वर्ष दिनको दुःख कष्टलाई भुलेर राम्रो लगाउने मीठो खाने प्रचलन नराम्रो भने होइन । राम्रो लाउने, मीठो खाने प्रचलनका नाममा हुने खानेले तडकभडक देखाएर यो चाडलाई खर्च गर्ने चाडको रुपमा मनाउने गरेको पनि पाइन्छ । यस्तो तडकभडकले हुने खानेलाई त खासै समस्या नपर्ला तर सानोतिनो आयश्रोत भएकालाई भने त्यसले धेरै नै अप्ठयारोमा पारिदिन्छ । चाडपर्व मनाउदा यसतर्फ पनि सोच्नु पर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here